बागलुङ, ३ भदौ– कोरोना भाइरसको संक्रमणकले बन्द भएको बिद्यालय र बालबालिकाको भबिष्यप्रति सबै सचेत हुने बेला आएको सरोकारवालाले बताएका छन् ।
बागलुङ नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको भर्चुअल बैठकमा सरोकारवालाले बैकल्पिक शिक्षाका लागि सुझाव पनि दिएका थिए । कार्यक्रममा नगरप्रमुख जनकराज पौडेलले तत्काल बिद्यालय खुलाउन नसकिने भएकोले टोल शिक्षा, अनलाइन कक्षा र अभिभावकको सहयोगमा गृहकार्य दिएर पढाउने व्यवस्थापन गर्न सुझाव दिए । उनले ग्रामीण क्षेत्रका बिद्यालय जस्तो बजारका बिद्यालयमा पढाइ संचालन गर्न संभव नभएको बताए ।
शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले टोलशिक्षाको अभियान सफल भएकोले नगरक्षेत्रमा पनि थोरै बिद्यार्थी राखेर पढाउने तथा बजारमा अनलाईनको पहुँच पुग्ने भएकोले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे । उनले तल्लो कक्षाका लागि भने शिक्षकहरु टोलमा पुगेर पढ्ने वातावरण बनाउन सुझाव दिए ।
शिक्षा शाखाका गौरव रानाले संचालन गरेको बैठकमा शिक्षक संघ संगठनका प्रमुखहरु, विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु समेत सहभागि थिए । नगरपालिका भित्रकै भएपनि कतिपय बिद्यालयले टोलमा पुगेर बिद्यार्थीको गृहकार्य परीक्षण गर्ने र पढाइका तौरतरिका बारे जानकारी दिने काम भैरहेको छ । पछिल्लो समय कोरोना समुदायमा पुगेको अनुमान भएकोले केही समय सबै प्रकारका पढाई स्थगित गरेर सहज वातावरण भएपछि मात्र थाल्न पनि पौडेलले सुझाव दिएका थिए ।
नगर शिक्षा शाखाले पहिलो पटक थालेको यो बैठकले वास्तविक अबस्था बुझ्न सहज भएको सिगाना माबिका प्रअ गोपालकुमार शर्माले बताए । बजार क्षेत्रको समस्यालाई फरक ढंगले सम्बोधन गर्ने र ग्रामीण क्षेत्रको फरक व्यस्थापन गर्नुपर्ने उनको सुझाव थियो । शिक्षा मन्त्रालयको औपचारिक पत्र वा निर्देशन अघि बिद्यालय खोलेर नियमित पढाइ भने गर्न नसकिने निष्कर्ष सहित बैठक सम्पन्न भएको रानाले जानकारी दिए ।




