शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वाब दिन नमानेको परिवारमै कोरोना संक्रमण

स्वाब दिन नमानेको परिवारमै कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०७७, बुधबार

बागलुङ, ३ भदौ– दुई साताअघि धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण रहेको पुष्टि भयो । उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेका व्यक्तिहरुमा सम्भावित संक्रमणको खोजी हुन थाल्यो । स्वास्थ्यकर्मीबाट सुरु भएको कोरोना संक्रमणको खोजी एकै परिवारका ६ जना सदस्यसम्ममा फैलिएको पुष्टि भएको छ ।
स्वास्थ्यकर्मीको आवतजावत हुने स्थान तथा सम्पर्कमा रहेका व्यक्तिहरुको जाँच गर्ने क्रममा साउनको अन्तिम साता बागलुङ नगरपालिका वडा नं. ३ मा पोल्ट्री फार्म सञ्चालन गर्ने एक महिलामा कोरोना रहेको पुष्टि भयो । उनी धौलागिरी अस्पतालले गरेको कन्ट्रयाक ट्रेसिङमा परेकी थिईन् । उनीभन्दा पहिला बागलुङ बजारमै व्यवसाय गरेर बस्ने एक महिलामा संक्रमण देखिएपछि उनीभन्दा केही पर पुगेर ट्रेसिङ भएको थियो ।
संक्रमण पुष्टि भएकी महिलाको घरमा ट्रेसिङका लागि पुगेको स्वास्थ्यकर्मीको टोलीलाई परिवारले स्वाब दिन मानेन् । बागलुङ नगरपालिकाको आग्रहमा प्रहरीले परिवारको स्वाब संकलन गर्न दबाव दियो । भदौ एक गते प्रहरीको सहायतामा जर्बजस्ती स्वाब संकलन भएका परिवारमै कोरोना रहेको पुष्टि बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा रहेको प्रयोगशालाले गरेको छ ।
बुधबार एकै परिवारका ६ जनासहित बागलुङमा ८ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये १६, २१ र ३५ वर्षिय महिला हुने भने ८, १३, २०, २२ र ३४ वर्षिय पुरुष हुन् । वडिगाड गाउँपालिकाका १ जना र जैमिनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोही परिवारकी एक महिलामा संक्रमण देखिएपछि उनीहरु कन्ट्रयाक ट्रेसिङ गर्दा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिए ।
बागलुङमा एकै परिवारमा यतिधेरै संक्रमित देखापरेको यो पहिलो घटना हो । वडिगाडमा संक्रमण पुष्टि भएका एक जनासमेत क्वारेन्टाईन बाहिरै रहेका नागरिक हुन् । ‘अब हामीबाट होईन समुदायबाट हामीमा कोरोना आएको रहेछ की भन्ने लाग्न थाल्यो’ धौलागिरी अस्पतालको आईसोलेसनमा रहेका एक स्वास्थ्यकर्मीले भने ‘हाम्रो सम्पर्कभन्दा बाहिर यति छिटो फैलिनु बाहिरबाट हामीमा आउनु हो ।’ सामान्य सजगता अपनाउन नसकेका कारण संक्रमणको त्रास बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->