बागलुङ, ४ भदौ– कोरोना भाइरसको संक्रमण दर बढेको र समुदायमा जोखिम भएपछि मंगलबार रातीदेखि लगाइएको निशेधाज्ञाले सदरमुकाम शान्त बनेको छ । तर निशेधाज्ञाकै मर्मअनुसार पालना नभएको गुनासो पनि बढेको छ ।
सदरमुकाम बागलुङ बजारको समुदायमै केही संक्रमित देखिएको र सम्पर्कमा आएकाहरु धेरै भएको पत्ता लागेपछि प्रशासनले निशेधाज्ञा लगाएको हो । निशेधाज्ञाका कारण बुधबार दिनभर सदरमुकामको व्यवसाय ठप्प भयो । बजार बन्द भएपनि सडकमा हिँड्ने र ट्याक्सी चालकले निशेधाज्ञा उल्लंघन गरेका थिए ।
‘घरभित्रै बसेर सघाउनु पर्ने हो, तर मानिस अझै लखरलखर हिँड्न छाडेका छैनन्’ उद्योग वाणिज्य संघका सदस्य गणेश लम्सालले भने, ‘व्यवसायीले पनि आब्हान गरेर बजार बन्द गर्न लगाएको हो ।’ व्यवसायीले तरकारी तथा खाद्यान्न किन्ने समय बाहेकको समय सटर बन्द गरेपनि सडकमा डुल्ने क्रम नरोकिएको टिप्पणी गरे ।
लकडाउन लगाएर पनि प्रहरी तथा सुरक्षाकर्मी सडकमा परिचालन नभएको टिप्पणी पनि भएको छ । संघको आब्हानपछि बागलुङ नगरपालिकाको विपत् व्यवस्थापन समितिको बैठक बसेर निशेधाज्ञा लगाउन प्रशासनमा आग्रह गरेको थियो । मंगलबारै जिल्ला कमाण्ड पोष्टको बैठकले पनि निशेधाज्ञा लगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि मंगलवार बेलुकीदेखि प्रशासनले निशेधाज्ञा घोषणा गरेको थियो । तर सडकमा हिँड्नेले पनि निशेधाज्ञा पालना नगरेको बागलुङ नगरपालिका वडा नं. २ का सदस्य अर्जुन घिमिरेले बताए ।
‘जनप्रतिनिधिको सिफारिसलाई बेबफुक बनाइएको छ’ घिमिरेले भने, ‘सडकमा ट्याक्सी चलाएर मानिस ओसार्दा पनि वास्ता भएन ।’ उनले प्रहरी परिचालन नभएकोले बजारमा दिनभर मानिस डुलिरहने गरेको टिप्पणी गरे ।
प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले लखर–लखर हिँड्न नदिन प्रहरी परिचालन भएको दाबी गरे । तर जथाभावी हिँड्नेलाई पक्राउ भने नगरिएको उनले बताए ।
समुदायमा कोरोना देखिएपछि यहा“को धौलागिरी अस्पतालको सेवा बन्द छ । संक्रमितले सरकारी कार्यालयका कर्मचारीलाई खाना खुवाएको खुलेपछि होटल सिल भएको छ । कर्मचारी क्वारेन्टाइनमा छन् ।
बडिगाड गाउ“पालिकाका वडाध्यक्ष संक्रमित भएपछि ५२ जना सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । जोखिम बढेपनि प्रशासनले भने कडाइ नगरेको गुनासो बढेको हो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सुरक्षाकर्मीको आ“खा छलेर हिँडेनेबाहेक कडाई भएको दाबी गरे । तीन दिनदेखि बडिगाड गाउँपालिका पनि सिल गरिएको छ ।





