सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राजमार्गको मापदण्डमा अलमल

राजमार्गको मापदण्डमा अलमल

दायाँबायाँ २५ मीटर छाड्ने नियम पनि कतै लागू भएको छैन ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७७, बिहिबार

बागलुङ, ४ भदौ– राजमार्गको मापदण्ड पालनामा सडक डिभिजन र आयोजना कार्यालयहरुनै अलमलमा छन् । जसले गर्दा राष्ट्रिय राजमार्ग पनि मापदण्ड अनुसारको निर्माण भएको छैन ।
मापदण्डले कम्तिमा २५ मीटर दायाँबायाँ छाड्नुपर्ने भनेपनि आयोजनाले निर्माणाधिन स्थानमै साँघुरो बनाएको हो । विशेषगरी पोखरा–बागलुङ खण्डको हेम्जाबाहेक सबै स्थानमा सडक बढीमा १० मीटर पनि छैन । दायाँबायाँ २५ मीटर छाड्ने नियम पनि कतै लागू भएको छैन ।
ठाउँ–ठाउँमा सडकमै जोडेर घर बनेका छन् । बागलुङ जिल्लाभित्र पनि झण्डै १ सय ४२ किमीखण्ड सडक लोकमार्गमा पर्छ । तर सडकको ट्रयाक रहेको अधिकांस स्थानमा पुराना बजार, थोरै जमिन र कतै भूगोलको कठिनाइ देखाएर सडक साँघुरै बनाइएको हो । चाहेर पनि धेरै समस्याले सडक फराकिलो बनाउन नसकेको लोकमार्ग आयोजनाका पोखरादेखि बागलुङखण्ड हेर्ने प्रमुख आशिष थामा मगरले बताए ।
थापाले तोकिएको समयमा काम गर्न नसक्दा राजमार्गको मापदण्ड मिचेर घर बन्ने क्रम सुरु भएको पनि बताए । तर पुरानो ट्रयाकमा काम गर्दा आयोजनाले साँघुरै सडक बनाएको छ । कास्कीको नयाँपुलदेखि कुश्माहुँदै बागलुङसम्म आइपुग्दा अधिकांस स्थानमा पुरानो नाली भत्काएर नयाँ बनाएको छ । केही भीरमा पहरा काट्ने काम मात्रै भएको छ । दुइतर्फी सवारी गुड्न नसकेको स्थानमा मात्रै पहरा फुटाइएको हो ।
कुश्मा–बागलुङ खण्डमा एक मीटर पनि सडक चौडा नभएको उपभोक्ता गुनासो गर्छन् । ‘काम त दुई वर्षदेखि भएको छ, तर पुरानो नाली भत्काएपछि त्यसैमा ढलान मात्रै भएको छ’ यातायात व्यवसायी दुर्गाबहादुर जिसीले भने, ‘सडक पनि खाल्डै–खाल्डा छन् ।’ २०५० सालमा निर्माण गरिएको सडकको कालोपत्रे जत्तिको बलियो अब बन्नै नसक्ने उनले बताए । कालोपत्रे भत्काएपछि अहिले नयाँ कालोपत्रेको काम भएको छैन । आयोजनाले लकडाउनको बाहना बनाउन पाएको छ ।
पोखरा–बागलुङ सडक निर्माण गर्दा दायाँबायाँ १५ मीटर दुरी छाड्नुपर्ने नियम थियो । बागलुङ नगरपालिकाले नगरभित्र पनि १५ मीटर कायम गरेको छ । तर नगरभित्रै लोकमार्गको मापदण्डबारे स्पष्ट नभएकोले निर्माणमा समस्या आएको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘नगरपालिकाले १५ मीटर कायम गरेको छ, सेट व्याक छाड्दा साँढे १६ मीटरसम्म हुन्छ’ पौडेलले भने, ‘लोकमार्गको मापदण्डबारे स्पष्ट पारिएको देखिएन ।’ जनप्रतिनिधि आउनुअघिनै लोकमार्गको ट्रयाक नगरभित्रै पारेपनि राजपत्र प्रकाशित गरेर २५ मीटर कायम नगरेसम्म निर्माण रोक्न नसकिने उनले बताए ।
निर्माणको क्रममा बागलुङ नगरकै वडा नं. ३ को मुलपानी र खहरेमा तथा उपल्लाचौर क्षेत्रका कतिपय घरले १५ मीटर नछाडी घर बनाएका छन् । कतिपयले नक्सापासबिनै बनाएको हुन सक्ने प्राविधिकहरुले बताए । ‘पास गरेर बनाउनेले १५ मीटर छाड्नै पर्छ’ इन्जिनियर गौरव शर्माले भने, ‘पास नगरेको, छाप्रो हालेको भए मापदण्डभन्दा कम होला ।’ मापदण्डविपरित बनेको भए भत्काउने बेलामा क्षतिपूर्ति नपाईने उनले बताए ।
भएका घर सार्नुपर्ने बेलामा नगरपालिकाले निर्माण रोक्न नसकेको टिप्पणी हुने गरेको छ । ‘स्पष्ट मापदण्ड बनाएर ठूलो सानो नभनी काम रोक्न सक्नुपर्छ’ स्थानीय पुनम शर्माले भने, ‘नगरपालिका न आयोजना दुवैको नीति फितलो जस्तो भएको छ ।’ आयोजनाले आफ्नो मापदण्डबारे सचेत बनाउनु पर्ने उनले बताए ।
पोखरा, बागलुङ, म्याग्दी हुँदै मुस्ताङ सडकमा सूचिकृत भएकोले नगरको अधिकांस खण्ड १५ मीटरकै मापदण्डमा छ । ‘पुरानै सडकलाई आयोजनाले जवरजस्ती आफ्नो भनेको हो, २५ मीटर भनेपनि लिखित छैन’ स्थानीय उपभोक्ता गोविन्द कंडेलले भने, ‘सर्वोच्च अदालतले अग्राधिकार आदेश दिएर जग्गा लिनुपरे उचित मुआब्जा दिएर मात्र लिन सक्ने भनेको छ ।’ त्यसैले राजमार्ग भएपनि १५ मीटरमा घर बनाउन नगरपालिकाले अनुमति दिएको उनको दाबी छ ।
‘राजमार्ग भएकोले ३१ मीटर सम्मको मापदण्ड लागू हुन्छ भन्ने थाहा छ, राजपत्रमा नआएकोले जवरजस्ती हटाउन सकिंदैन’ सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले भने, ‘लोकमार्ग आयोजनाले हेरिरहेकोले यहाँका जनतालाई सचेत बनाउने काम आयोजनाकै हो ।’
नगरपालिकाभित्रको खण्डमा नक्सापासलगायतका काममा स्थानीय सरकारबाटै चासो बढ्नुपर्ने उनले बताए । एक वर्षअघि सदरमुकाम क्षेत्रका १२ घर भत्काउन बागलुङ नगरपालिकाले सूचना प्रकाशित गरेको थियो । राजपत्रमा नदेखेपछि सूचना फिर्ता लिएको वडा २ का अध्यक्ष जीवन आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->