बागलुङ, ५ भदौ – बिहिबार तीजको दर खाने दिन । समय अनुकुल हुँदो हो त दरखाने दिनमा कयौं कार्यक्रम, भेला भएर दरखाने कार्यक्रम हुन्थे । दर खाने दिनमात्रै होईन् एक महिना पहिलेदेखि बागलुङका पार्टी प्यालेसहरु भरिभराउ हुन्थे । समुह, सहकारी, संस्था र संगठनका नाममा आयोजना हुने दरखाने कार्यक्रमले बजारका चोकहरु झिलीमिली देखिन्थे । तर यो वर्ष कोरोना भाईरस संक्रमणको त्रासका कारण त्यसो हुन पाएन् । दर खाने दिन बजारमा मात्रै होईन गाउँका कुना–कन्दरा पनि पोहोरको जस्तो तीजको रौनक छैन ।
‘टाढा टाढा रहेका चेलिवेटी गाउँ आएका छैनन्, यो तीज विगतको भन्दा निरसिलो छ’ जैमिनी नगरपालिका–९ की त्रिकला शर्माले भनिन् ‘न रमाईलो छ, धेरै भीड लाग्न पनि डरै छ ।’ तीजको सम्मुखमै बागलुङमा समुदायमा फैलिएको कोरोनाले अर्को असर ग¥यो । जिल्लाभर त्रास भए पनि बागलुङ नगर र वडिगाड गाउँपालिकामा निषेधाज्ञा नै जारी भएको छ । जसले तीजको समान्य रौनकसमेत खोसिएको छ । ‘बाँचे पर्व अर्को वर्ष मनाउँदा पनि हुन्छ, अहिले महामारी रोक्नु र त्यसका लागि सबै जिम्मेबार बन्नु दायित्व हो’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्छन्– ‘यसपटक पर्वको बहानामा हुने भीड र भेटघाट हामी सबैको लागि घातक छ ।’
तीजमा हुने सांस्कृतिक कार्यक्रम पनि यो वर्ष भएनन् । समय अनुकुलनै भएको भए सदरमुकाम बागलुङ बजार, गलकोटको नाच्नेडाँडा, बलेवाको नारायणस्थान, जैमिनीको कुश्मीशेरा, ढोरपाटनको बुर्तिबाङ बजारमा ठुलो मेला लागेको हुन्थ्यो । ‘कोरोनाको त्रास छ वर्षेनि हुने कार्यक्रमसमेत यो वर्ष गरिएन्’, नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले भनिन्, ‘दूरी कायम गरेर महिला, दिदीबहिनीहरु भेट हुने, सामान्य नाचगान गर्नेसम्म हुनसक्छ ।’
नाच्नेडाँडाले जस्तै हरेक वर्ष तीजको कार्यक्रम गर्दै आएका समुह र संगठनले यो वर्षका कार्यक्रम स्थगित गरेका छन् । विगतका वर्षजस्तो यो वर्षको तीजमा लत्ताकपडा र सुनको प्रयोगसमेत कम भएको छ । न त बजारमा सुन किन्नेहरु पुगेका छन् न कपडा ।
‘औषत तीजमा मुल्य बढ्दासमेत सुनको व्यापार हुन्थ्यो’ व्यवसायी गणेश सुनार भन्छन्– ‘यसपटक सुन खोज्न कोही आएनन् ।’ तीजलाई घरमै बसेर उपलव्धीमुलक बनाउन महिला अधिकारकर्मीको सुझाव छ । तीजकै कारण महामारीको शिकार बन्नुभन्दा घरमै बसेर क्षमता अनुसारको तीज मनाउनु पर्ने अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले बताईन् ।
‘संकटका बेला सबैले एक अर्कालाई सहयोग गर्नुपर्छ’ उनले भनिन्– ‘आफ्नो घरमा भएको पकाएर खाँदा मात्रै पनि तीज राम्ररी मान्न सकिन्छ ।’ यो वर्षको तीज मैदानमा भन्दा सामाजिक सञ्जालमा बढि छाएको छ । दर खाने दिन घरमै बनाएका खानाका परिकार सामाजिक सञ्जालमा एकअर्कालाई पठाएर पनि महिलाहरु तीज मनाउँदै छन् ।
‘नाच्न पनि बाहिर निस्किने अवस्था छैन्’ पोखरामा बस्ने रिता आचार्य भन्छिन्, ‘यो पाला कोठामा नाच्ने, भिडियो फेसबुक र टिकटकमा राख्दा भैहाल्छ नि ।’ शुभकामना आदानप्रदानमा नाममा हुने कार्यक्रमसमेत यो पालि सामाजिक सञ्जालकै भरमा चलेका छन् भने भर्चुअल भेटघाटले ठाउँ पाएको छ ।





