भौगोलिक विविधताले अत्यन्तै धनी रहेको देश नेपालमा कला, संस्कृति, पर्व र परम्पराहरुले झनै विविधता थपेका छन् । हिन्दु धर्मावलम्बीको बाहुल्यता रहेको नेपालमा विभिन्न जाति र समुदायहरुमा भिन्न–भिन्न प्रकारका चाडपर्वहरु लगातारजसो परिरहेका हुन्छन् । चाडपर्वहरु पारिवारिक वा सामाजिक मेलमिलाप, सद्भाव, सहकार्य एवम् सम्बन्धलाई मजबुत बनाउने उत्कृष्ट माध्यमहरु हुन् । चाडपर्वको अवसर पारेर घरका सदस्य वा आफन्तहरु एकै ठाउँमा भेला हुने, एकअर्काको दुःख–सुख साटासाट गर्ने, विभिन्न परिकारहरु तयार पार्नुका साथै नाचगान, मनोरञ्जन गर्दै आफन्तको सामिप्यतामा व्यक्तिगत पीर, व्यथा र समस्यालाई चटक्क बिर्सेर मनलाई हलुका बनाउने प्रचलन अत्यन्तै वैज्ञानिकसमेत देखिन्छ ।
‘कोही हातमुख जोर्ने त कोही सुखी जीवनयापन गर्ने बहानामा अपनाउनुपर्ने विभिन्न पेशा व्यवसायहरुमा एकोहोरिँदा एकोहोरिदै बिछिप्त बनेको मानवीय मनलाई शान्त पार्ने विशेष अवसरहरु हुन् चाडवार्ड ।’
चाडपर्वको सामाजिक महत्व भनेको ठाउँ विशेष र समुदाय विशेषको पहिचानसमेत झल्काइदिनु हो । एक ठाउँका चाडपर्वहरु अन्य ठाउँ र समुदायका मानिसहरुलाई रोचक लाग्दछन् । व्यवसायिक दृष्टिकोणले हेर्ने हो भने विविध किसिमका चाडवार्ड, नाच, जात्रा आदिले पर्यटन व्यवसायको प्रर्वद्वनमा समेत ठूलो योगदान पुर्याउन सक्दछन् । यिनै चाडवार्डको अवसर पारेर पर्व विशेषसँग सम्बन्धित देवी–देवताको पुजा आराधना गर्ने गरिन्छ, जतिबेला व्यक्तिगत एवं पारिवारिक सुख, शान्ति, विद्या, बुद्धि, सम्पत्तिलगायतका भौतिक तथा अभौतिक प्राप्तिको कामना गरिन्छ । यस्ता पुजाआजाको अवसरले मानिसको मस्तिष्कमा रहेका कतिपय नकारात्मक भावनाहरु हटाएर सत्मार्गमा लाग्नसमेत प्रेरणा प्रदान गर्ने गर्दछन् । यस्ता अवसरहरुले हाम्रो मनोवैज्ञानिक स्वास्थ मजबुत बनाइदिन्छन् । चाडपर्वपछि आफ्नो नियमित कर्ममा फर्कदा बेग्लै उर्जा प्राप्त गरेको अनुभुती प्रायः सबैलाई हुन्छ ।
एकले अर्काको चाडपर्वलाई अत्यन्तै श्रद्धा गरेर रमाउन खप्पिस नेपाली समुदायको एउटा विशेष चाड हो तीज । नेपाली हिन्दु नारीहरुको चाड भनेर चिनिने यस चाडको विशेष धार्मिक एवम् साँस्कृतिक महत्व रहेको छ । विवाहित महिलाले आफ्ना पतिको सु–स्वास्थ एवं दिर्घायुको लागि साथै अविवाहितहरुले सुयोग्य पति प्राप्तिको कामना गर्दै तीजको व्रत गर्ने चलन छ । द्वितीयाको दिन दर खाने, तीजको दिन व्रत बस्ने, चौथीको दिन स्नानपश्चात सात्विक भोजन गर्ने अनि ऋषिपञ्चमीको दिन ब्रतालु नारीहरुले दतिवनले दाँत माझ्ने, विधिपुर्वक स्नान गर्ने, सप्तऋषिको पुजा आराधना गरि कथा श्रवण गर्ने प्रचलन छ ।
यो पर्वमा गीत संगीतको विशेष महत्व रहन्छ । केही वर्ष पहिलेसम्म यस्ता गीतका विषयबस्तु भनेका छोराछोरी बीचको विभेद, विवाहपछि श्रीमानको घरमा महिलाले झेल्नुपरेका समस्या, सासुबुहारी बीचका कहानी, श्रीमानश्रीमती बीचको सम्बन्ध, परदेशिएका श्रीमानबिना एक्लै बस्नुपर्दाका ब्यथा, आर्थिक अभाव, देउरानी–जेठानी बीचको आर्थिक प्रतिस्पर्धा, गाउँघरका पिर ब्यथालगायत समसामयिक घटनाहरु हुन्थे ।
‘घरधन्दा, बालबच्चाको स्याहारसुसार, घाँसपात, चुलोचौको आदिको परिधिभित्र अल्झिएका नारीहरुले स्वतन्त्रतापुर्वक आफ्ना मनोभावनाहरु प्रकट गर्ने पवित्र अवसर मानिन्थ्यो तीज’ त्यसैले आजभन्दा करीब १२/१५ वर्षअघिसम्म हाम्रा आमा, हजुरामा अनि दिदीबहिनीहरुका यस्ता तीजगीत सुन्न सकिन्थ्यो ।
‘घुटुमा घुटु बाडुल्की लाग्यो बरिलै खरबारी मेलैमा,
सम्झेर मलाई रोइहोलिन् आमा बरिलै दरखानी बेलैमा ।’
तीजमा माईती जानबाट बन्चित चेलीको बेदना समेटेको यो मौलिक गीत पक्कै पनि वास्तविकता झल्काउने खालको छ ।
‘
‘खेत जति खोलालाई बारी जति पैरालाई,
के खुवाएर पालु मैले स्वामी लैरालाई ।’
यो गीतले कर्म र आम्दानी नगर्ने श्रीमान हुँदाको दुःख एवम् प्रकृतिले कृषकलाई बारम्बार सताउने वास्तविकता झल्काएको छ ।
‘कहाँमा जान्छौ रानीचरी बगाल,
बरिलै भगवानलाई भेटन,
भगवानलाई भेटन के पाहुर ल्यायौ,
बरिलै फुलपाती अक्षता ।’
धर्म अर्थात् भगवानप्रति विशेष आस्था बोकेको यो गीत विशेष गरेर ऋषिपञ्चमिको दिन सुन्न पाइन्थ्यो । यस्तो मीठो गीतलाई त झनै मौलिकता थपेर जगेर्ना गर्नुपर्ने हो । तर यो गीत आजकल धेरैलाई थाहा नहुन पनि सक्दछ ।
‘पराइको घर गई पीडिमा बस्नी हो,
कस्को मुख हेरेर भित्र पस्नी हो ?
सासुमुख हेरु भने खुन खाएका बाघझै,
स्वामीमुख हेरु भने पोल्नी आगोझै ।’
तीज गीतको बिचको यो टुक्काले पक्कै पनि सानै उमेरमा बिहे गरेर अपरिचित घरमा जानुपर्ने अनि उक्त घरका सदस्यहरु थोरै दाइजोको कारण बेहुलीसँग रिसाएर नवदुलहीलाई पर्ने अनेकन समस्या दर्साउँछ ।
‘सानो सानो सुन्तलाको बिरुवा,
रिमेझिमे पानीमा सारम बरिलै,
तिम्रो हाम्रो ठूलो पिरिम बस्यो,
ढिलो ढिलो माया मारम् बरिलै ।’
प्रेम सम्बन्धि यो मौलिक गीत पनि अत्यन्तै राम्रो छ । यी र यस्ता गीत सुन्दामा बिछट्टै आनन्द लाग्दथ्यो ।
बिडम्बना, आजकल भने महंगा गहना, कपडा प्रदर्शन गर्ने, छोटा–छोटा लुगा लगाएर अंग प्रदर्शन गर्ने, साउन्ड सिस्टमबाट चर्को स्वरमा उत्ताउला गीत बजाएर उफ्रने चाडमा परिणत भइरहेछ पबित्र तीज । बिलासितातर्फ उन्मुख नेपाली समाजले तीजको नाममा थुप्रै विकृती भित्राइरहेको सहजै अनुमान गर्न सकिन्छ । शिक्षित नारीहरु होटलमा भेला भएर पार्टी आयोजना गर्ने, लट्ठिने गरि मदिरा पिएर कोलाहल मच्चाउने प्रचलन बढ्दो छ । महंगो गहना लगाएर तीज मनाउने प्रचलनले हाम्रो मौलिकतालाई ओझेलमा पार्नुका साथै अपराधीक गतिविधिहरुलाई समेत प्रशय दिइराखेको छ ।
आजकलका तीजगीतहरु दाजुभाई, दिदिबहिनी, बुवाआमा संगै बसेर टेलिभिजनमा हेर्न समेत नसकिने गरि उत्ताउला बन्दै गएका छन् । जतिधेरै छाडा गीतको भिडियो बनायो त्यति धेरै भ्युज हुने र मनग्य आम्दानी गर्न सकिने निकृस्ट मानसिकताबाट हाम्रा केही कलाकारहरु प्रेरित भइरहेको स्पष्ट प्राय ः छ । अहिलेका केही तीजगीतहरु निकै राम्रा पनि छन् तर उत्ताउला गीतले मिडिया ढपक्कै ढाकिदिएका छन् ।
विगतको तुलनामा नेपाली नारीहरुको शैक्षिक, सामाजिक एवम् आर्थिक स्तर मजबुत बन्दै छ । महिलाहरूले थुप्रै अवसरहरु पाएर निकै उत्कृष्ट भुमिका निर्वाह गरिरहेका छन् । यो अत्यन्तै खुशीको कुरा हो । तर नारी स्वतन्त्रताका नाममा यसपालिको तीजमा गिलास ठोक्काउनी र नो व्रत प्लिजलगायतका गीतहरूले प्रशय पाउने हो भने हाम्रा भाबी पिंढीहरुले राम्रो संस्कार सिक्ने छैनन् । त्यसैले हामीले राम्रोलाई प्रोत्साहित गरौ ! उत्ताउलोलाई निरुत्साहित गरौं ! तीजगीतलाई रत्यौलीमा परिणत हुन नदिन छाडा र दोहोरो अर्थ लाग्ने खालका गीत र भिडियोहरुलाई निरुत्साहित गर्न समग्र सचेत व्यक्तिहरुले आ–आफ्नो ठाँउबाट पहल गर्नुपर्ने आजको आवश्यकता हो ।
(सन्धिखर्क–७ अर्घाखाँचीका पौडेलले बागलुङको काठेखोलास्थित भीमसेन माविमा कार्यरत हुनुहुन्छ ।)





