
बागलुङ, ६ भदौ– तीन साताअघि धौलागिरी अस्पतालको सी ब्लब बनाउन आएका मजदुरलाई कोरोना संक्रमण भएको पुष्टी भयो । त्यसपछि उनीहरु अस्पतालकै आइसोलेसनमा बसे ।
बिहिबार बेलुकी उनीहरुमध्ये १३ जनाको नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले डिस्चार्ज गरायो । उनीहरु १८ जना महोत्तरीको औरही नगरपालिकाबाट आएका थिए । एकजना मजदुरको अझै पोजेटिभ रिपोर्ट आएकोले आइसोलेसनमै छन् । साथीभाई कुरेर बसेकाहरु अस्पतालको निर्माणाधिन सि ब्लकमा कार्पेट बिच्छ्याएर बसेका छन् । उनीहरुले काम पनि पाएनन्, बस्ने खाने ठाउँपनि पाएनन् ।
ठेकेदारको आग्रहमा काम गर्न उनीहरु बागलुङ आएका थिए । ठेकेदारको सम्पर्कमा रहेका पेटी ठेकेदार लालबाबु दास पनि संक्रमित भए । उनको पनि बिहिबार नेगेटिभ रिपोर्ट आएको छ । तर उनले बोलाएर आएका मजदुरको समस्याबारे वास्तै नगरेको पीडित देवप्रकाश दासले बताए । ‘संक्रमित भएकाहरु आइसोलेसनमा बसे, नभएकोले हामी खर्चबिहिन भएर दुइसातादेखि अलपत्र छौंं’ उनले भने, ‘न त ठेकेदारले काम दिन्छ, न खान पाइएको छ ।’ उनले ठेकेदारको मानिसले खानेबस्ते व्यवस्थापन गरिदिनुपर्ने बताए ।
उनीहरुसँग घर जाने खर्च पनि छैन । महोत्तरी जानुपर्ने भएकोले तत्काल सवारी पाउने अबस्था पनि छैन । खानेबस्ने बेवास्ता भएकोले बिहिबार डिस्चार्ज भएका सबै मजदुर र पहिलेदेखिनै बसेकासमेत १६ जनाले घर जाने इच्छा देखाएका छन् । बागलुङमा निशेधाज्ञा लगाइएकोले तत्काल बजार खुल्ने र काम पाउने अवस्था नभएकोले घर जान भनेको दासले बताए । काम नपाएकोले मजदुरलाई दिने केही नभएको उनी समेत बताउँछन् । ‘म पनि मागेर खाने अवस्थामा पुगेको छ्ु, के दिने ?’ उनले भने, ‘बरु काम मिलाईदिए कमाएर घरखर्च चलाउन सकिन्थ्यो ।’ अस्पताल व्यवस्थापन समितिले काम गर्ने वातावरण दिनुपर्ने उनले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले उनीहरुको भरणपोषण ठेकेदारले गर्नुपर्ने अडानमा छन् । ‘ठेकेदारले बोलाएर आएका हुन्, खानेबस्ने व्यवस्था र काम नपाएको दिनको क्षतिपूर्ति दिनुपर्छ’ रानाले भने, ‘आफ्नो खुसीले नभई ल्याइएकोले उनीहरुको माग सम्बोधन हुनैपर्छ ।’ २६ दिनदेखि उनीहरु बेरोजगार छन् । मुख्य ठेकेदारले स्थानीय भूपाल कार्कीसँग सम्झौता गराएको भेटेको रानाले बताए ।
‘मैले भूपाललाई पनि बोलाएर सोधेको छु, उनले खानेबस्ने व्यवस्थापन गराउने भनेका छन्’ उनले भने, ‘मजदुरलाई पनि काम सकेर मात्र जान सुझाव दिएँ ।’ तत्काल देशभर लकडाउन भएकोले घर पुगेपनि फेरी अर्को क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि नजान सुझाव दिएको बताए ।
पीडितहरु भने घरबाट पटक–पटक फोन आएकोले फर्कने मनस्थितिमा छन् । देवप्रकाशले बाबुआमाले दिनदिनै रोएर फोन गर्दा घरै जान मन लागेको बताए । ‘घरको आर्थिक अवस्थाको कारण जान खोजेकालाई केही पारिश्रमिक दिएर सम्बोधन गर्न सकियो भने ती मजदुरबाट अस्पतालको काम पनि सम्पन्न हुन्छ’ रानाले भने, ‘काम गरेर खानेलाई कहिले यता, कहिले उता लगेर अलपत्र पार्न मिल्दैन ।’ ६ वर्षदेखि अस्पतालको सी ब्लक अलपत्र छ । भवन निर्माण सम्पन्न भएमा अस्पतालका सेवा संचालनमा सहज हुनेछ ।





