सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

महामारीले लुट्यो मौकाको व्यापार

महामारीले लुट्यो मौकाको व्यापार

सुनशान छन् राजमार्ग छेउका होटल र रेष्टुँरा


  • ढोरपाटन संबाददाता
  • भाद्र ६ २०७७, शनिबार

बागलुङ, ६ भदौ– चीनमा कोरोनाको महामारी फैलिने बेलासम्म पनि गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेपाल भ्रमण वर्षको निम्तो बाँड्दै थिए । आन्तरिक पर्यटकलाई बोलाउन उनी प्रदेश दुईमा पुगे र अन्य प्रदेशमा निम्ता बोकेर जाने कार्यक्रम थियो ।
छिमेकी प्रदेशमा निम्तो बोकेर पुगेका मन्त्री लम्सालले आफ्नो प्रदेशमा भने बाहिरबाट आउने पर्यटकका लागि तयार रहन पर्यटन व्यवसायसँग जोडिएका सबैखाले व्यवसायीलाई आग्रह गरिरहेका थिए । प्रदेश सरकारले सरोकारवालासँग बसेर बैठक, सेमिनार, गोष्ठीहरु गरिरहेको थियो ।
सरकारको तयारी र पर्यटन वर्षको माहौलले व्यापारी व्यवसायीलाई पनि उत्साहित बनाएको थियो । उत्साहित हुनेमै पर्छन् राजमार्ग छेउका होटल व्यवसायी पनि । लामो दुरी पार गरेर आउने पर्यटकहरुले चियामात्रै खान खोजे पनि बस्ने ठाउँ व्यवस्थित चाहिन्छ । खान दिने भाँडा, होटल तथा रेष्टुराँ रहेको क्षेत्र सफा, सुन्दर र हराभरा चाहिन्छ भन्ने बुझेका व्यवसायीले सोही अनुसारको तयारी गरे ।
अहिले व्यवसायीले पर्यटक लोभाउनकै लागि गरेको त्यहीँ तयारीमा भएको खर्च गलाको पासो बनेको छ । पुसमा घोषणा भएको भ्रमण वर्षलाई त्यति बेला धक्का पुग्ने संकेत भेटियो जब माघ महिनामा चीनबाटै आएका एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि समेत नरोकिएको भ्रमणवर्षको तयारी चैतमा चौपट भयो ।
नेपालमा कोरोना भित्रिएपछि चौतर्फी परेको प्रभावजस्तै राजमार्ग छेउका होटल तथा रेष्टुराँ व्यवसायीलाई पनि प्रभावित बनाएको छ । यस्तै चौपट हुनेमा पर्छन् कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेका मनोज गुरुङ गुरुङ । उनले ९ लाख रुपैयाँ लगानी गरी पोखरा बागलुङ राजमार्गमा गत वैशाखदेखि होटेल व्यवसाय सुरु गरे । पर्यटन वर्ष र आन्तरिक पर्यटक उनको व्यवसायका मुख्य स्रोत थिए । पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्ने सवारीमा यात्रा गर्ने पर्यटकको लागि खाना–खाजा खुवाउनको लागि खुलेको उनको रेष्टुराँले खुलेकै दिनबाट सवाग्राही देख्न पाएन ।
‘के–के न होला भनेर ठुलो लगानी गरेँ कोरोनाले डुबायो’ उनले भने, ‘७ लाख रुपैयाँ लगानी भएको छ, व्याज मात्रै तिर्ने व्यापारसमेत हुँदैन् ।’ उनीजस्तै होटल तथा रेष्टुराँमा लगानी गरेर गुजाराको आश गरेका धेरै व्यवसायी बागलुङ–पोखरा सडकखण्ड छेउछाउमा छन् ।
यसै पनि राजमार्ग छेउका रेष्टुराँ व्यवस्थित नभए सेवाग्राहीको आँखा पर्दैन् । घुम्न आएका पर्यटकको आँखा पर्नेगरी गरिएको साजसज्जा र खानपानको तयारीमा भएको लगानीले व्यवसायीलाई उकुसमुकुस बनाएको छ ।
‘कच्ची सडक भएपनि निकै गाडी गुड्थे, खाजा खुवाउन भ्याईनभ्ष्याई हुने’ कालीगण्डकी करिडोरको बागलुङ पालुंखोला खण्डअन्र्तगत सरंगेमा रेष्टुराँ गर्ने बिजय केसी भन्छन्– ‘साँघुरो होला भनेर फराकिलो ठाउँमा लगानी गरियो, व्यापार चौपट होला के थाहा ।’ मासिक खर्च कटाएर एक लाख आम्दानी गर्ने उनले अहिले मुस्किलले हजारमा गन्न मिल्ने व्यापार गर्छन् ।
विजयको रेष्टुराँमा काम गर्ने मात्रै पाँच जना थिए । लकडाउनपछि व्यापार चलेन र अहिले उनीहरु बेतलवी बसेका छन् । उनको जस्तै राजमार्ग छेउछाउका होटल तथा रेष्टुँरामा काम गर्ने कयौं कामदारको रोजगारी गुमेको छ, जसको तथ्यांक कसैसँग छैन् । घोषणा भएको भ्रमणवर्षबाट आशा राखेका व्यवसायीले चाडपर्वको समय पनि खेर जानेमा चिन्ता व्यक्त गर्न थालेका छन् । ‘चाडवार्डमा आवतजावत धेरै हुँदा स्वभाविक व्यापार बढि हुन्थ्यो’ कास्कीको लुम्लेमा व्यवसाय गर्ने होम गुरुङ भन्छन्– ‘यो वर्ष त शुन्यनै भएर जाने भो ।’ लगानी गरेका व्यवसायीले घरभाडा र किस्ताको समस्या धेरै रहेको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->