बागलुङ, ७ भदौ– विद्यालयको प्रधानाध्यापक भएपछि विद्यालयको कोठामा पुगेर पढाउने हो । विद्यालय प्रशासन चलाउने हो ।
कोरोना कहरका कारण विद्यालय बन्द भएपछि अधिकांस शिक्षक अहिले घरमै बसेका छन् । बालबालिकाको भविष्यप्रति चासो पनि नदिएको आरोप लागेको छ । तर गलकोट नगरपालिका वडा नं. ८ कांडेबासस्थित शिव माविका प्रअ हरि चालिसेले भने कोरोना कहरको बेला टोल–टोलमा कक्षा संचालन गरेर बालबालिकाको भविष्य सुन्दर बनाउन लागि परेका छन् ।
उनले विद्यालयको क्षेत्रभित्र ११ वटा टोल बनाएर शिक्षा दिइरहेका छन् । यो प्रक्रियाले उनको प्रशंसा भएको छ । त्यति मात्र नभएर शनिवार वा बिदाको दिनको समुदपयोग गरेर उनले सडक सफाइको काम पनि गरेका छन् । वडा नं. ७ मल्मको गल्याङदेखि वडा नं. ३ को हटियासम्मको ५ किमी सडक उनले सफाई गरेका छन् ।
सडक छेउमा उम्रेका झार सफाई, नाली थुनिएर सडकमै पानी बग्दा लेउ लागेर चिप्लो भएकोले सफाई गरेका हुन् । ‘मोटरसाइकल र अन्य सावरी साधन लिएर हिड्दा दुर्घटना पर्न सक्ने भएकोले सफाइ गरेको हुँ’ चालिसेले भने, ‘केही स्थानमा बाटो अत्यत्नै जीर्ण भएको थियो ।’ मध्यपहाडी लोकमार्गको खण्ड भएकोले उनले सफाई गर्दा सवारी साधनका चालक र स्थानीय बासिन्दाहरु दंग परेर हेरेका थिए । कतिपयले कुनै संस्था वा योजना परेकोले उनले सडक मर्मत गरेको भन्दै सोधेका थिए । ‘मैले मेरो मनको योजना बनाएर सफाइ गरेको थिएँ, धेरैले परियोजना परेर सफाई गरेको पनि भने’ उनले भने, ‘जीर्ण र चिप्लो सडकमा दुर्घटना हुँदा मानवीय क्षति पुग्ने भएकोले सेवा गर्नुपरेको हो ।’
लोकमार्ग आयोजना, नगरपालिका वा अन्य संस्थाले सडक सफाइ नगरेको उनले टिप्पणी गरे । वर्षात्ले सडकको दायाँबायाँ अत्याधिक झाडीसमेत बढेकोले दुर्घटनाको खतरा बनेको थियो । विद्यालयको मात्र नभई उनले समाज सुधारका लागि पनि काम गरेको बताए । घर वडा नं. ८ मा भएपनि वडा नं. ७ र ३ को सडक उनले सफाइ गरेका हुन् ।





