
बागलुङ, ७ भदौ– निर्घात कुटिएर बेहोस भएका एक पीडितको परिवारले दिएको उजुरीमा प्रहरीले पीडितलाई थप पिडा दिएको छ ।
एक ट्याक्सी ड्राइभरबाट निर्घात कुटिएका युवकलाई उपचार खर्च भराउनु पर्नेमा उल्टै गालीगलौज गरेर अममानित गर्ने र भराएको रकम पनि नदिएको पिडितले गुनासो गरको छन् । उनीहरुले न्यायको लागि अधिकारकर्मी र कानून व्यवसायी गुहारेका छन् ।
बागलुङ नगरपालिका–१२ अमलाचौरका टिका बहादुर भेटवाललाई गत शुक्रबार कुटपिट गरी एक ट्याक्सी चालकले बेहोस बनाएका थिए । ट्याकसी चालक पृथ्वी गन्धर्वको कुटाइबाट १८ वर्षिय युवा टिका बहादुर भेटवाल बेहोस भएका थिए । उनको टाउको र कन्चटमा घाउसमेत लागेको छ ।
कुट्ने चालकलाई छुटाएर उपचार खर्चसमेत नदिई प्रहरीबाटै अपमानित भएको पीडित पक्षले गुनासो गरे । शुक्रबार भएको घटनामा चालक प्रकृति गन्धर्वले भेटवालालाई निर्घात कुटेका थिए । कुटिएर बेहोस भएका युवालाई आमा रुपाले उपचारका लागि पोखरा लगेकी थिइन् । बागलुङस्थित निलगिरी अस्पतालले रिफर गरेपछि पोखरा लैंजाँदा उनीहरुको ३० हजार उपचारमा खर्च भएको थियो ।
ती युवकको परिवारले दिएको जाहेरीपछि पक्राउ परेका गन्धर्वबाट भराउने रकमसमेत प्रहरीले नदिई परिवारका सदस्यलाई अममानित र गालीगलौज गरेको हो । प्रहरी निरिक्षक हेमबहादुर केसीले छलफलका लागि गएकी पीडितकी दिदी सदिक्षाको मोबाइल खोसेर तीन घण्टासम्म प्रहरी कार्यालयबाट निस्कन नदिएको आरोपसमेत लागेको छ । प्रहरी निरिक्षक केसीले भने कार्यकक्षमा भिडियो खिचेकोले नखिच्नभन्दा भनाभन भएको बताए ।
पीडित परिवारले उपचार खर्च नपाएको गुनासो गरेका छन् । एकल महिला रुपाले मजदुरी गरेर जीवन चलाएकी छिन् । उनका दुई छोरी र एक छोरा छन् । ‘कुटपिट गर्नेसँगै मिलेर प्रहरीले उपचार खर्च पनि दिएनन्’ रुपाले भनिन्, ‘सुरक्षा पाउँला भनेको उनीहरुबाटै असुरक्षित बन्नुपर्ने भयो ।’
कुटिएका युवा दिर्घरोगीसमेत छन् । उनीहरु न्यायका लागि जाँदा प्रहरीमै थुनिनु परेको, गालीगलौज सहनु परेको र रकमसमेत प्रहरीले खाइदिएको भन्दै अर्को मुद्दाको तयारीमा जुटेका छन् । पीडितको पक्षमा बोल्दा प्रहरीले आँफूलाई पनि जथाभावी बोलेर थर्काएको पीडितकै गाउँका एक युवाले पनि गुनासो गरेका छन् ।





