भनिन्छ, चुनौतीसँगै अवसरका ढोकाहरु पनि खुल्छन् । त्यसका लागि सही समय चिनेर सही कदमहरु चाल्न जरुरत हुन्छ । जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि हुन्छ र आवश्यकता नै आविष्कारको जननी हो । विश्व इतिहासको विगतलाई फर्केर हेर्दा विभिन्न कालखण्डमा ठूल्ठूला चुनौतीहरु पार गर्दै विश्व अघि बढेको हो । कोरोना महामारी अहिलेको समयको एक ठूलो चुनौतीका रुपमा खडा भएको छ । कति देशहरु समस्याको भूमरीमा फसे त कति यसलाई अवसरमा बदलेर परिवर्तनका आशाहरु ल्याएका छन् ।
सम्भवतः एक्काइसौं शताब्दीकै एक ठूलो चुनौतीका रुपमा कोरोना महामारीलाई लिन सकिन्छ । सन् २०१९ को अन्त्यतिर चीनको उवान प्रान्तबाट फैलिएको यस भाइरसले सारा विश्वलाई घुँडा टेकाउन बाध्य बनायो । ‘मै हुँ’ भन्ने शक्तिशाली राष्ट्रहरुले समेत यसलाई काबुमा ल्याउन सकेको छैनन् । झन् अरु देशहरुको त कुरै छाडौं । यसले देशको आर्थिक, सामाजिक, शैक्षिकलगायत चौतर्फी क्षेत्रमा पु¥याएको असरको त कुनै लेखाजोखा नै छैन । विश्व अर्थतन्त्रमा करिब ३.० प्रतिशतले गिरावाट आएको विश्व मुद्राकोषको प्रक्षेपणको तथ्यांकले देखाउँछ, जुन अंक अझै उकालो चढ्ने सम्भावना देखिन्छ । यता नेपालको अवस्था अझ नाजुक बन्नेमा कुनै दुई मत छैन । कोरोनाको ठोस खोप वा औषधी नबनेसम्म यसलाई निर्मुल पार्न नसकिने अध्ययनले देखाउँछ । डब्लु.एच.ओ.ले त कोरोना भाइरस कहिल्यै पनि हराएर नजानेसमेत बताएको थियो । त्यसैले अहिले आएर ‘लिभिङ टुगेदर बिथ कोरोना’ अर्थात् कोरोनासँगै बाँच्न सिक्नु पर्ने जानकारहरु बताउँछन् ।
कोरोना भाइरसकै कारणले नेपालमा पहिलो चरणको करिब चार महिना लकडाउन लागू भयो । अहिले आएर संक्रमितको संख्या ह्वातै बढेसँगै फेरि हरेक जिल्लाहरुमा आफैंले निषेधाज्ञा पनि लागू गरिसकेका छन् । कोरोना तेस्रो चरण अर्थात् समुदायबाट समुदायमा संक्रमण फैलिसकेको हुन सक्ने देखिन्छ । यदि त्यसो हो भने कोरोना नियन्त्रण बाहिर जान पनि सक्छ । सर्वसाधारणहरु अतिआवश्यक कामकाजबाहेक अन्य प्रयोजनका लागि बाहिर हिड्डुल गर्न दिइएको छैन । हरेकको दैनिकीमा यु–टर्न आएको छ । रहरले भन्दा पनि बाध्यताले सानो परिधिभित्र रहन बाध्य बनाएको छ मानवलाई । यस महामारीले सबैमा अकल्पनीय पीडा, तनाव र दुःख एकातिर निम्त्याएको छ भने त्यहीँ शोक र दुःखलाई शक्तिमा बदलेर परिवर्तनका आशाहरु उजागरण गर्न जरुरत रहन्छ । चुनौतीसँगै धेरै क्षेत्रमा महामारीले अवसरका ढोकाहरु पनि खोलिदिएका छन् ।
शिक्षा क्षेत्र
करिब पाँच महिनादेखि नेपालमा नियमित पठनपाठन सुचारु हुन सकेको छैन । विद्यालयस्तरको एस.ई.ई.देखि उच्च शिक्षाका परीक्षाहरु सबै रोकिए । वैकल्पिक उपायहरुको पनि लागू गरियो । अनि सुरु भयो अनलाइन कक्षा र परीक्षा । विकसित देशहरुमा यो नौलो नभएपनि नेपालको लागि भने नौलो अभ्यास थियो । कतिले यसको विरोध पनि गरे । हरेक कुनाकन्दरामा इन्टरनेटको पहुँच नपुगेको हाम्रोजस्तो देशमा यो व्यर्थ प्रयास माने तर आफैंमा यो नराम्रो सुरुवात भने हैन । विश्वस्तरीय कोर्षहरु अनलाइनबाटै पढेर विद्यावारिधि भएकाहरु पनि छन् । घरबाटै पनि पठनपाठनलाई नियमित गराउन सकिन्छ भन्ने एउटा उदाहरण हो यो । यसका लागि सर्वसुलभ इन्टरनेट, कम्प्युटर वा मोवाइल फोनको व्यवस्था र उस्तै प्रविधिको विकास हुन जरुरत छ । समयसँगै यसमा जोड दिइनुपर्छ । प्रविधिको विकाससँगै केही दशकमै अनलाइन कक्षा र परीक्षा सबै क्षेत्रमा लागू नहोला भन्न सकिदैँन । यता विद्यालयस्तरीय १२ कक्षाको परीक्षालाई मान्यता दिईरहँदा एस.ई.ई. परीक्षाको खारेजीको आवाज पनि यहीँ समयमा उठेको थियो । एस.ई.ई. सधैंका लागि हटाउन एउटा सुनौलो अवसर थियो तर यसप्रति कुनै ठोस कदमहरु भने चाल्न सकेन् ।
कृषिमा आशा
कोरोना रोकथामका लागि लामो समय देशमा लकडाउन लागू भयो । कलकारखाना र उद्योगद्यन्दाहरु धेरै समयका लागि बन्द रह्यो । भारतबाट सहज रुपमा वस्तुहरु आयात हुन सकेनन् । अनि यसले निम्त्यायो देशमा मूल्यवृद्धि अनि खाद्य संकट । शहर पसेकाहरु डेरामा ताला लगाएर गाउँ फर्के । बाँजो खेतबारीमा बाउँसो चलाए । पसिना बगाए अनि उमारें केही न केही । वि.सं. २०६८ को जनगणना अनुसार ६४.०१ प्रतिशत नेपालीहरुले खेती नै मुख्य पेशाका रुपमा अँगालेका भएपनि नेपालमा वर्षेनी अर्बौको खाद्यन्न आयात हुन्छ । भारतसँगको नाकाबन्दीमा भोगेका खाद्य संकट र महंगी केही हदसम्म यस बेला दोहोरियो । यो हामी सबैका लागि एउटा राम्रो पाठ बन्यो । देश आफैंमा कृषिमा आत्मनिर्भरता हुन जरुरत छ । यहीँ बेला सलह किराको आतंकले समस्या झन् विकराल बन्ने हो कि भन्ने चिन्ता पनि थपिएको थियो । त्यसैले अब कृषिमा लगानी वृद्धि, किसानलाई सुलभ ऋृण र अनुदानको व्यवस्था, बजार व्यवस्थापनमा सहजीकरणका साथै कृषिमा नयाँ अध्ययन र अनुसन्धान जरुरत देखिन्छ । यति सम्भव भए अब भविष्यमा आउन सक्ने कुनै संकट वा माहामारीसँग सजिलै नेपाल जुध्न सक्छ ।
स्वास्थ्य क्षेत्र
स्वास्थ्य क्षेत्रमा विश्वकै अग्रपंक्तिमा रहेका देशहरु पनि कोरोनासामु निरीह बन्यो । यस महामारीले नेपालको स्वास्थ्य क्षेत्र कतिसम्म कमजोर छ, भन्ने प्रष्ट पारिदियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको तथ्यांक अनुसार नेपालमा कोरोना रोकथामका लागि तयार पारिएको विशेष प्राविधिकको संख्या हालसम्म केबल ४७ रहेको छ । जुन ज्यादै कम हो । नेपालमा रहेका सबै अस्पतालको आइ.सि.यु बेडको संख्या १ हजारको हाराहारीमा मात्र रहेको छ । पछिल्लो समयमा संक्रमितको संख्या ह्वातै बढेसँगै अस्पतालमा आइसोलेसन वार्डको अभाव देखियो । कति संक्रमितलाई त घरमै बस्न भनियो । नेपालको स्वास्थ्य क्षेत्र कमजोर छ नै तर महामारीकै समयमा स्वास्थ्य सामग्री आयातमा अबौं रुपैयाँ भ्रष्टाचार भएको तितो यर्थाथ पनि रह्यो । प्राइभेट अस्पतालमा सामान्य ज्वरो आएका बिरामीलाई समेत भर्ना नलिएका घटनाहरु बाहिरिएका थिए । सबै नीजि अस्पतालहरुलाई सरकारीकरण गरिनुपर्छ भन्ने पुरानै आवाजहरु फेरि दोहोरियो । कोरोना महामारीजस्तो अरु महामारी भविष्यमा फेरि नआउँलान् भन्न सकिँदैन । स्वास्थ्य क्षेत्र चुस्तदुरुस्त रहनुपर्छ भन्ने पाठ कोरोनाले सिकायो । त्यसैले स्वास्थ्य क्षेत्रमा रहेका बेथितीहरुलाई हटाएर आमुल परिवर्तन गर्ने यो सुनौलो अवसर रहन सक्छ ।
अबको भविष्य, अनलाइन व्यापार
सबै व्यापार व्यवसाय कोरोना कहरमा चौपट बनिरहँदा अनलाइन व्यापारले पनि राम्रो फाइदा कमाउन सफल बन्यो । विश्वकै नामी अनलाइन व्यापार कम्पनी अलिबाबाले यस लकडाउनको समयमा खबौं डलरको आम्दानी गर्यो । बजारसम्म गएर किनमेल गर्न सम्भव नभएको बेलामा अनलाइन कम्पनीले हामीले अर्डर दिएकै सामान छिनभरमै घरसम्म ल्याइदिन्छन् । कतिले त फ्रि होम डेलिभरीको सर्भिस पनि दिएको छ । यसो गर्दा समय, पैसा अनि इन्धनको मात्र बचत भएन, यस्तो महामारीको समयमा संक्रमण फैलिने हो कि भन्ने डर पनि अलि कम भयो । अत्यावाश्यक खाद्यान्न सामग्रीदेखि हरेक वस्तुको अनलाइन व्यापार केही हदसम्म यस समयमा फस्टायो । यसले आम मानिसमा पुरानो परिपाटीको व्यापार व्यवसायभन्दा केही फरक स्वाद भने चखायो ।
यता पैसाबाट पनि कोरोना भाइरस सर्ने अध्ययनले देखायो । पैसाको कारोबारभन्दा पनि हरेक खर्चको भुक्तानी अनलाइनमार्फत गर्ने ट्रेन्ड बढ्यो । सामान्य पसल वा मलमा सामान खरिद गर्दा होस वा अन्य जस्तै अनलाइन रिचार्ज, अनलाइन टिकट बुकिङलगायत सम्भव भएका हरेक क्षेत्रमा अनलाइन कारोबार ह्वात्तै बढ्यो ।
होटल र रेष्टुुराहरु बन्दा रहँदा अनलाइनबाट चाहेका खानेकुराहरु बुक गरेर घरसम्मै डेलिबरी बन्ने व्यवस्था राम्रैसँग चल्यो । लाखौं लगानीमा रेष्टुरा र होटलहरु खोल्नुको सट्टा थोरै लगानीमा अनलाइनमार्फत अर्डर लिने र होम डेलिबरी गर्दा धेरै फाइदा र सहज पनि हुन सक्छ । यो आफैंमा एक सकारात्मक परिवर्तन हो ।
आन्तरिक रोजगार उकास्ने अवसर
कोरोना विश्वभर फैलिएसँगै रोजगारको शिलशिलामा विभिन्न देशहरु पुगेका नेपालीहरु स्वदेश फर्किने क्रम अझै रोकिएको छैन । लाखौं नेपालीहरु विदेशमा विचल्लीमा परेका छन् । आफ्नै देश फर्कन अझै सरकारसँग हारगुहार गरिरहेका छन् । नेपालको अर्थतन्त्रको सबैभन्दा धेरै हिस्सा रेमिट्यान्सले ओगटेको सबैले थाहा नै छ । नेपालीहरु आफ्नो देश फर्किएसँगै देशकै अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । देशलाई ठूलो चुनौती थपिएको छ । यता देशमा बेरोजगारीको संख्या दोब्बर हुने अध्ययनले देखाएको छ । कोराना रोकथाममै आफ्नो भएभरको बलबुतो लगाइरहेको सरकारले ती नेपालीहरुका लागि पनि केही रोजगारको व्यवस्थाबारे सोच्नु पर्ने बेला आएको छ ।
सरकारको लागि यो अवसर पनि हो । देश फर्किएका नेपालीहरुको पहिचान, वर्गिकरण र उचित व्यवस्थाबारे सरकारले तुरुन्तै सोच्न आवश्यक देखिन्छ । देशमै आन्तरिक रोजगारको सृजना गरेर देशको अर्थतन्त्र उकास्नका लागि सरकारसँग ठूलो अवसर आएको छ । समयमै देशको स्रोतसाधनको भरपुर उपयोग गरी रोजगारका नीति नियमहरु तर्जुमा गर्नु नितान्त जरुरत देखिन्छ । कलकारखाना र उद्योगको वृद्धि होस् वा विकासका ठूला परियोजनाहरुको रुपरेखा तयार पारेर ती बेरोजगार नेपालीहरुलाई रोजगार सृजना गर्न सरकार सक्षम हुनुपर्छ । यो अवसर गुमाए सँगै सरकारले कोरोना महामारीभन्दा अर्को ठूलो चुनौती खेप्नु पर्नेछ, त्यो हो भोकमरी र वेरोजगारी ।
अन्त्यमा महामारीले निम्त्याएको समस्याहरुलाई चुनौतीका रुपमा मात्र नलिईकन यसलाई अवसरका रुपमा बदल्ने राम्रो अवसर साबित बन्न सक्छ । यसका लागि सरकार साथसाथै सरोकारवालाहरुले सही समयमा सही कदमहरु चाल्न सक्नुपर्छ । अनि मात्र सम्भव हुन सक्छ, माहामारी माझमा परिवर्तन । अझ भनौं सिंगो देशको विकास ।





