पोखरा, ८ भदौ – गण्डकी सरकारले प्रदेशको बेरुजु फछ्र्योटको लागि पहल थालेको छ । गण्डकी मन्त्रिपरिषद्को १३ औं बैठकले प्रदेशको बेरुजु पछ्र्योट तथा मूल्याङ्कनको लागि समिति गठन गर्दै सो पहलको थालनी गरेको हो ।
सोमबार गण्डकी मन्त्रिपरिषदको भदौ ३ गते बसेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रमुख सचिवको संयोजकत्वमा ४ सदस्यीय प्रदेशस्तरीय बेरुजु फछ्र्योट अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको जानकारी दिएका हुन् । समितिमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्रीको प्रशासन हेर्ने सचिव र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमु्ख सदस्य रहेका छन् । यद्यपि, यो समितिले अनुगमन र मूल्याङ्कन मात्रै गर्ने हो कि बेरुजु फछ्र्योटबारे सुझाव पनि दिने हो भन्ने प्रष्ट छैन ।
महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश मातहतका कार्यालयहरुमा १ अर्ब ६४ करोड ४७ लाख ४५ हजार रुपैयाँ बेरुजु औंल्याएको थियो । सो आर्थिक वर्षको २३ अर्ब ८९ करोड २७ लाखको लेखा परीक्षण गर्दा कुल रकमको ६.८८ प्रतिशत बेरुजु देखिएपछि महालेखाले सरकारलाई ऐन नियमको परिपालना, आन्तरिक नियन्त्रण ब्यवस्था, सम्पतिको संरक्षण, श्रोत, साधनको प्राप्ति र उपयोग, बजेट ब्यवस्थापन, श्रोत सुनिश्चिततालगायतका कमजोरी रहेको औंल्याएको थियो ।
यसैगरि मन्त्रिपरिषदको सोही बैठकले सरुवा रोग अस्पताल निर्माण, संचालन एवं सुदृढीकरणको लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थाको लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले अहिले लेखनाथमा रहेको लेखनाथ सामुदायिक अस्पताललाई सरुवा तथा संक्रामक रोग विशेष अस्पतालको रुपमा विकास गर्ने घोषणा गरिसकेको छ । समुदायले चलाएको सो अस्पताल यतिबेला प्रदेश सरकारले आफ्नो स्वामित्वमा लिइसकेको छ । अस्पतालमा अहिले कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिले सो अस्पतालमा ६० बेड रहेका छन् । प्रदेश सरकारले अस्पतालाई १ सय बेडको बनाउने घोषणा गरेको छ ।
‘हरेक प्रदेशमा संक्रामक रोग अस्पताल बनाउने संघीय सरकारकै योजना छ, त्यहाँ ( लेखनाथको अस्पतालमा ) १ सय बेड बनाउन लागेका छौं’, सरकारका प्रवक्ता बस्नेतले भने,‘ त्यहाँ चाहिने साधनस्रोत संघीय सरकारसँग माग्ने निर्णय गरेका हौं ।’ संघीय सरकारले यसअघि हरेक प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल बनाउने घोषणा गरेको थियो । अस्पताल हस्तान्तरण कार्यक्रममा गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले लेखनाथमा बन्ने सो अस्पतालको लागि २ अर्ब ३४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको सुनाएका थिए ।
यसैगरि प्रदेश सरकारले यहाँको भौतिक पूर्वाधार तथा योजना मन्त्रालयअन्तर्गत संचालन हुने परियोजनाका लागि प्राविधिक जनशक्ति कमी भएको भन्दै १३० जना ओभरसियर र सबओभरसियरको दरबन्दी स्वीकृत गरेको छ । यसअघि करारमा रहेका ८८ जनालाई निरन्तरता दिँदै बाँकी ५२ जना थपिने निर्णय भएको प्रवक्ता बस्नेतले जनाए । यता, गण्डकी प्राविधिक प्रतिष्ठान तथा व्यवसायिक तालीम केन्द्रको लागि कर्मचारी स्वीकृत गरिएको पनि उनले जानकारी दिए । गण्डकी सरकारले क्षेत्रीय हुलाक निर्देशनालयको स्वामित्वमा पोखराको पार्दीमा रहेको १५३२ वर्गमिटर क्षेत्रफलको जग्गा र त्यहाँको भवन उपयोगको लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।





