सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

वृद्धावस्था र सम्पत्ति

वृद्धावस्था र सम्पत्ति


  • कृषिता अधिकारी (निशा)
  • भाद्र ११ २०७७, बिहिबार

मानव जाति एक त्यस्तो जाति हो जहाँ सम्पूर्ण जीवन बिलाशिताले भरिएको हुन्छ किनकी मानिसको जन्म प्रक्रियाबाट उसको जीवन शुरु हुन्छ । बालक, जवानहुँदै वृद्धावस्थामा परिणत हुन्छ र अन्त्यमा माटोमै मिल्छ । साँच्चै नै मानिसले सम्पूर्ण जिवनकालमा दुःख गर्छ, छोरा–नातीको निम्ति भएभरको सम्पत्ति जोड्छ । सन्तानले डाँडाकाँडा ढाँक्छ भनेर धेरै सन्तान पनि जन्माउने गर्थे तर तिनै बाआमा वृद्ध अवस्थामा पुग्छन्, तिनीलाई हेर्ने कठिन हुन्छ । एक किसिमले बुढाबुढी छोराछोरीको लागि बोझ हुन्छन् ।
त्यो अवस्था जुन ६०÷६५ काटिसकेका बाआमा जहाँ सम्पूर्ण जीवन छोरीछोरीको निम्ति व्यतित गरेर श्रीसम्पत्ति जोडी दिएर आफुलाई हेर्लान्, पाल्लान, साहरा बन्लान भनेर दुःख गरेर पार लगाएको अवस्था, जसमा माया ममता हेरचाह गर्नुपर्ने अवस्था हो । त्यहिँ अवस्था हाम्रो समाजमा देख्दै र भोग्दै आएका छौं । जब वृद्ध अवस्थामा पुग्छन् तब हामीलाई घृणा लाग्छ, हरो लाग्छ । साँच्चै हामी मानव कति स्वार्थी छौ है ! तिनै बाआमाले दुःखकष्ट गरेर आफु आधा पेट खाएर पनि छोराछोरीको पेट भर्ने बाआमा हाम्रो लागि बोझ बनिदिन्छन् अनि तिनैले जोडेको सम्पत्ति प्यारो लाग्छ, हक लाग्छ तर बाआमाप्रतिको दायित्व पूरा गर्न भने सक्दैनौं हामी । बाआमा भनेका जिउँदा देवता हुन्, संसारमा जन्मदिने बाआमा न साटेरै पाइन्छ न किनेरै पाइन्छ ।
हामीले सोच्छौ कि बाआमालाई पालेका छौं, हेरेका छौं तर यहाँ अधिकांश छोराछोरीले वचन लाएर भएपनि उनीहरुको मन दुखाइरहेका हुन्छौं । मैले पैसा, रासन–पानी दिए, त्यहाँभन्दा के दिने, हेरेकै छु भन्ने अभिव्यक्ति दिने गर्छन् तर पैसा र रासन–पानी दिएर बाआमाले संसार देखाएको गुन तिर्न सकिदैन । कतै लड्छ कि कतै केही हुन्छ कि भनी हजारौं सपनाले हुर्काउछन् छोराछोरी । म मरेर गए के गरेर खाला, कसरी बाँच्ला भनी खाई–नखाई पालनपोषण अनि सम्पत्ति जोडीदिन्छन् । तर यो कस्तो मायाममताले पाल्छन हाम्रा आमाबाबा जहाँ आफुले जोडेको सम्पत्तिको अधिकार पनि नहुने, दुखकष्टले जोडेको सम्पत्तिबाट अल्गिएर छुट्टै कुनामा बस्नुपर्ने छोराछोरीको वचन सहेर पिडैपिडामा छट्पटिएर मर्छन । अनि हामी छोराछोरी बाँचुन्जेल बाआमालाई मरे हुन्थ्यो, तिमले गर्दा यस्तो भयो, उस्तो भयो, मेरा छोराछोरी बिग्रे भन्छौ । कुनैदिन त्यहीँ आमाबाबा मरिसकेपछि डाँको छोडेर रुन्छौ, क्रियाक्रममा लाग्छौं, पृत्रृ तार्न पुजापाठ, सप्ताह लाउने गर्छाैं ।
आफ्ना आमाबाबा आफुलाई संसार देखाई आज डाक्टर, पाइलट बनाएर आधि बाटोमा भेटिएकाको मायामोहप्रति तल्लिन हुन्छौ कि आफु छोरा भएर निभाउनु पर्ने कर्तव्य, दायित्व के हो आफैले बिर्सन्छौ । जीवनभरि पालन पोषणमा तल्लिन भएका आमाबाबालाई अलग्गाएर छुट्टिएर बस्छौं, अंश खोज्छौ तर आमाबाबा पाल्ने कुरा आउँछ अनि भन्छौ मैले मात्र किन पाल्ने अरु छोरा छन् ! साँच्चै एउटा उखान त हामीले सुनेका छौं नि ‘एउटा बाबाले आठ सन्तान पाल्न सक्छौ तर त्यहिँ आठ सन्तानले पाल्न सक्दैनौं तर तिनै बाबाले जोडेको सम्पत्ति खान सक्छौ ।

आजकलका आधुनिक बुहारीलाई रोगी सासूससुरादेखि घिन लाग्छ, कचकच गर्छन, उनीहरुको लुगा धुनु पर्याे, स्याहार गर्नुपर्याे । त्यसैले पनि विवाह भएको १ महिनामै छुट्टिनु पर्ने हाम्रो संस्कार आज कहाँबाट कहाँ पुग्यो ।

सुखदुखमासाथ दिने जीवनसंगीको माया पनि चाहिन्छ तर यो होइन की आफुलाई संसार देखाउने जन्मदाताप्रतिको माया ममता नै बिर्सिएर आफ्नो कर्तव्यबाट टाढा भागौं तर आजकल त आमाबालाई वृद्ध आश्रममा लैजाने फेसन नै बन्दै गएको छ । छोरा कहाँ छ– अमेरिका, छोरी कहाँ छ– अष्ट्रेलिया तर बुढेसकाल लागेका आमाबालाई तातोपानी खान दिने कोही छैन । सबथोक छ तर वृद्ध आमाबाको लागि त्यहिँ घरमा ठाउँ छैन, हिजो त्यहिँ आमाबा झुत्रेझात्रे भएर एकसरो लुगामा सन्तान हर्काउँदा घिन लागेन, त्यहिँ थाङनामा हुर्काउँदा ती आमाबालाई घिन लागेन तर आज समय र परिस्थिति बद्लियो । अब छोराछोरी लेखपढ गरे, गाडी कार चढ्ने भए, तिनै सन्तानलाई आमाबाबा घिन लाग्छ, आज ठूलो ठूलो पोष्टमा गए, जागिरे भए, सुटबुट पहिरिने भए । साँच्चै नै ती झुत्रेझात्रे हाम्रा आमाबाबाका छोराछोरी हुँ भन्न लाज लाग्छ घरमा कोही पाहुना आए के भन्लान भनेर लुकाउने प्रवृत्ति पनि प्रशस्तै छ ।
त्यसैगरी थुप्रै आश्रमहरु नेपालमा खुलेका छन् । हामीले प्रशस्तै उदाहरणीय विषय पनि देखेका छौ र डोको नामक कथा पनि सुनेका छौं । जहाँ घरबाट निकालेर वृद्ध आश्रममा लैजान्छौ किनकी आजकलका आधुनिक बुहारीलाई रोगी सासूससुरादेखि घिन लाग्छ, कचकच गर्छन, उनीहरुको लुगा धुनु पर्याे, स्याहार गर्नुपर्याे । त्यसैले पनि विवाह भएको १ महिनामै छुट्टिनु पर्ने हाम्रो संस्कार आज कहाँबाट कहाँ पुग्यो ।
हुनतः वृद्ध अवस्थामा पुगिसकेपछि माया ममताको आश गर्छन्– छोराछोरीले यस्तो गरे हुन्थ्यो, तिर्थ व्रत गराउन लगे हुन्थ्योजस्ता यावत कुराहरू त्यो उमेरमा आउने गर्छ । कतिपय अवस्थामा मन सानो हुने गर्छ, छोराबुहारी नातीनातिनाको वचनले बिझाउँछ, कतिपय अवस्थामा जिद्दी हुन्छन् तर त्यसको मतलब आमाबाबालाई घर निकाला वा भनौ वृद्ध आश्रम नै पठाउनुपर्छ भन्ने त छैनन् नि । भोलि हामी पनि त्यो अवस्थामा पुग्छौं । आज हामीले जस्तो व्यवहार गर्याे भोलि हाम्रा छोरानातीले हामीलाई त्यहिं गर्छन् किनकी संस्कार भन्ने कुरा आमाबाबाट सिक्ने कुरा हो । त्यसैगरी बुहारीले पनि सासुससुराको निस्वार्थ सेवा गर्नुपर्छ किनकी हामीलाई सम्पत्तिले जन्माएको होइन आमाबाले दुखकष्ट गरेर जन्माएको हो, एकपटक गहिरिएर सोचौ त ? नौं महिना आफ्नो कोखमा राखी प्रश्रव पीडा सहेर हामीलाई संसारमा ल्याउने हाम्री आमा कति महान् छिन् । दश धारा दुध चुसाएर हुर्काएकी आमाको के छोराबुहारीप्रती अधिकार छैन ? दुःख गरेर जोडेको सम्पत्तिप्रति अधिकार छैन ? हामी कस्ता सन्तान तिनै आमाबाले बनाएको घरमा बस्छौं, तिनैले जोडेको सम्पत्ति प्रयोग गर्छाैं तर तिनैलाई एउटा कुनामा फाल्छौ । हाम्रो सामाजिक सोच कति अचम्मको हगि !
आज सरकारले वृद्ध भत्ताको व्यवस्था ल्याएको छ, त्यो सराहनीय छ । किनकी अब हाम्रा वृद्ध आमाबाबा छोराको आश गर्नुपर्दैन, अब आफै खर्च गर्न सक्छन तर जुन माया–ममता छोराबुहारीबाट चाहन्छन त्यो वृद्ध भत्ताले सन्तुष्ट हुन सक्दैनन् । तसर्थ जिउँदो छँदा माया–ममता दिएर पालौं, हरेक आमाबाबाले छोराछोरीलाई भेदभाव नगरौं र बुहारी पनि छोरी हुन् उनीहरुलाई छोरी सरह व्यवहार गरौं । बुहारीले पनि घर भाँड्ने काम गर्नुहुँदैन किनकी आज आफु बुहारी हुँदा सासुससुरालाई दोष लगाउने जब त्यहिं व्यवहार हाम्रा भाउजू–बुहारीले आमाबाबालाई गर्दा हामीलाई दुःख लाग्छ त्यसरी नै सासुससुरालाई नरुवाउँ, आफ्नो घर स्वर्ग र नर्क बनाउने आफ्नै हातमा हुन्छ । त्यसैले जेष्ठ नागरिकको सम्मान र माया गर्ने सिकौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->