सांकेतिक तस्विर
बागलुङ, ११ भदौ– जंगली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं। ५ बिहुँमा एकै परिवारका चार जना गम्भिर बिरामी परेका छन् । स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चुडामणी कँडेलको परिवार गम्भिर बिरामी परेका हुन् । उनीहरु अर्धचेत अवस्थामा रहेको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।
बुधबार साँझ गाउँकै एक जना वृद्धले दिएको साग खाएका उनीहरु रातीदेखिनै बिरामी परेपछि बिहिबार धौलागिरी अस्पताल बागलुङमा ल्याईएको थियो । चारै जना अर्धचेत अवस्थामा रहेकाले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए ।
बिरामी पर्नेमा कँडेलकी ७२ वर्षकी आमा, ३८ वर्षकी श्रीमती र १९ वर्षका छोरा हुन् । ‘बिरामी भएर स्वास्थ्यचौकी पुगेको भन्ने जानकारी मात्रै मैले पाएँ, सबै परिवारको नाम भन्न सकिएन’ वडा अध्यक्ष शिव प्रसाद कँडेलले भने ‘चुडामणी जिको परिवारले छिमेकीले दिएको जंगली साग खाएको भन्ने मात्रै सुने ।’
कँडेल परिवारलाई जंगली साग दिएका स्थानीय भारतीय पूर्व सैनिक वृद्धसमेत अर्धचेत अवस्थामै रहेको उनले बताए । प्रहरीलाई जानकारी गराएर उनको उपचार र घटनाको विषयमा जानकारी लिन लगाईएको कँडेलले बताए ।





