शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा देखिए समुदाय संक्रमणका ‘चार चेन’

बागलुङमा देखिए समुदाय संक्रमणका ‘चार चेन’

कुनै चेन टुंगोमा पुग्यो, कुनै सम्रालिँदै


  • तारानाथ आचार्य
  • भाद्र १२ २०७७, शुक्रबार

बागलुङ, १२ भदौ– धौलागिरी अस्पतालले पहिलो संक्रमितको उपचार थालेको २०७६ चैत १५ गते रातको झण्डै १२ बजेबाट हो । त्यसयता सुरुभएको हो बागलुङमा कोरोनाको जोखिम । जुन जोखिम अहिले समुदाय स्तरमा फैलिएको छ । चैतदेखि साउनको १६ सम्म बागलुङमा देखिएका अधिकांश संक्रमित क्वारेनटाइनमा रहेका हुन् ।
क्वारेन्टाइनमै रहेकाहरुको सम्पर्कमा आएका काठेखोला गाउँपालिका, ढोरपाटन नगरपालिकाका एकाद बाहेक समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिने गरी बागलुङमा संक्रमण थिएन् । साउन १६ गते जिल्लाको जैमिनी नगरपालिकाका एक उच्च पदस्थ स्वास्थ्यकर्मिमा कोरोना देखियो । उनी तीन दिनमै निको भए । ट्राभल हिस्ट्री रहेकाले उनलाई चितवनबाट कोरोना आएको भनेर उम्कियो । त्यसको थप स्रोत खोजी भएन् ।
उनको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएपछि खोजीको पाटो यसै बन्द भयो । साउन २० गते सामान्य लक्षण देखिएकी धौलागिरी अस्पतालकी एक नर्समा कोरोना रहेको पुष्टि भयो । उनको सम्पर्क ब्यक्ति खोज्दा केही दिनमा थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना रहेको प्रयोगशालाले पुष्टि ग¥यो ।
जिल्लामा पहिलो र दोस्रो संक्रमित भएका स्वास्थ्यकर्मी निको भएर घर फर्किएका छन्भने अरु दुईजना उपचारकै क्रममा छन् । स्वास्थ्यकर्मीहरुमा संक्रण देखिएपछि आसपासमा उनीहरु पुगेको ठाउँसमेतको खोजी हुँदा बागलुङ नगरपालिका–२ मा व्यवसाय गर्ने अर्र्की एक महिलामा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखामा तथ्यांक छ । चिया, खाजा र खानाको व्यवसाय गर्ने महिलाको सम्पर्कमा रहेकाहरुको खोजपर्तालले कोरोनाको चेन त्यहिँ टुटायो जवकी उनी बाहेक सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ आयो ।
तर धौलागिरी अस्पतालबाट अर्को चेन सुरु भएको भने त्यसको केही दिनमानै पत्ता लाग्यो । बागलुङ नगरपालिका–३ मा व्यवसाय गर्ने महिलामा कोरोना संक्रमण पुष्टि भयो । सामान्य लक्षण देखिएर अस्पताल पुगेकी उनको जाँच गर्दा संक्रमण पुष्टि भएपछि समुदायमा फैलिएको चेनले भने अझै टुप्पो भेटाएको छैन् ।
‘उहाँमा सामान्य लक्षण देखिएपछि खोजी भएको हो’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ भन्छन् ‘औषधी लिन र चेकजाँचका लागि उहाँ धेरै अस्पताल आउजाउ गर्नेमध्येमा पर्नुहुन्छ, अस्पतालनै हुनसक्छ उहाँमा कोरोना संक्रमणको स्रोत ।’ ती महिलाको सम्पर्क खोजी हुँदा परिवार र नजिकका ६ जनामा संक्रमण देखियो । त्यसयता उनको सम्पर्कमा आएकी अर्की एक महिलामा देखापरेको संक्रमण बिहिबारसम्म आईपुग्दा ति महिलाकी १ बर्षिया छोरीमा समेत देखा परेको छ । स्वास्थ्यकर्मीबाट सुरुभएको समुदाय संक्रमणको सञ्जाल खोजी जारी छ ।
‘धेरै ट्रेसिङमानै देखिएको हुनुहुन्छ’ गुरौ भन्छन् ‘खोजीकार्य जारी छ ।’ समुदायमा कोरोना फैलिएको बागलुङमा थप तीनवटा सञ्जाल बनेका छन् । चीतवन काठमाण्डौ लगायतका ठाउँमा पुगेर फर्केका जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना संक्रमित भए । उनको सम्पर्कमा रहेका कसैको पनि रिपोर्ट पोजेटिभ नरहेकाले त्यो सञ्जाल त्यहिँ टुट्यो । क्वारेन्टाईनको व्यवस्थापनमा खटेको भन्दै जिल्लाको बडिगाड गाउँपालिका–६ का अध्यक्ष मौसमकाजी क्षेत्रीको जाँच गर्दा संक्रमण पुष्टि भयो । उनीसँग सम्पर्कमा रहेका वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङमा संक्रमण सरेको भेटियो । बाँकि सम्पर्कको खोजी हुँदैछ ।
‘अरु स्रोतहरु भेटिए तर बडिगाडको स्रोत भेटिएको छैन’ गुरौ भन्छन् ‘यो खोजीकै बिषय हो ।’ अर्को सञ्जाल लमजुङबाट बिदामा आएका एक नेपाली सेनाका जवान बने । बिदामा आएका ती जवान बिरामी भएपछि कोरोनाको जाँच भयो । संक्रमण पुष्टि भएपछि आमाको स्वाव लिईयो । आमामा समेत संक्रमण सरेको पाईयो ।
बिहिबारसम्म आउँदा भैरहेको खोजीमा उनका साथी, दिदी, बहिनीमा समेत संक्रमण पुष्टि भएको छ । थप सम्पर्क खोजी भैरहेकाले यो चेनको बिन्दु समेत समुदायको कुन ठाउँमा पुगेर रोकिने हो पत्तो छैन् । ‘समुदायमा संक्रमण फैलिँदो छ, यसको स्रोत खोज्न त बिज्ञनै आउनु पर्छ’ बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले भने ‘कहाँबाट कहाँ पुग्यो भनेर अहिलेनै भन्न सकिने अवस्था छैन् ।’ असावधानी र बिना कामको आउजाउका कारण बागलुङमा समुदायमा संक्रमण पुगेको टिप्पणी हुन थालेको छ । बिहिबारसम्म बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको छ । तीमध्ये २ सय ६० जना निको भएर घर फर्किएका छन्भने एक जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २६ जना समुदायमा खोजपर्तालका क्रममा देखिएका संक्रमित हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->