आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

रूपा गौतम हत्याकाण्डका ६ बर्ष

रूपा गौतम हत्याकाण्डका ६ बर्ष

रूपा गौतमको हत्यारा पत्ता लगाउन हामीले सक्ने सहयोग र भूमिका स्पष्ट रूपमा गर्न सक्यौं भने पनि सहज हुने देखिन्छ ।


  • राजेशचन्द्र राजभण्डारी
  • भाद्र १२ २०७७, शुक्रबार

‘समाज बलेको आगो ताप्ने र जसको शक्ति उसको भक्ति’नै हो भन्ने कुरा अहिले भनिरहन आवश्यक छैन । हिजो निर्मला पन्तको हत्याकाण्डबारे देशभर आगो बल्यो, त्यो आगोको राप बागलुङसम्म राम्रैसंग देखियो । तर, हाम्रै चेली रूपा गौतमको हत्याबारे कसैले पनि खासै चासो लिएको देखिएन । समाज कति स्वार्थी र निर्दयी छ भन्ने एउटा ज्वलन्त उदाहरण हो । बागलुङमा नेपाली महिला दिदीबहिनीले तीजको रमझम यसबर्ष कोरोना भाइरसको कारणले मनाउन पाएनन् । तीजको पर्व आफैंमा रमाइलो पर्व हो । पाँच वर्षअघि तीजकै दिन माइतबाट घरतर्फ फर्कदै गर्दा बागलुङ नगरपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्गकै बिच सडकमा रूपा गौतमको खुकुरी प्रहारबाट हत्या भएको थियोे ।
अहिले धेरैले यो घटना भुल्दै जान थालेको भान हुन्छ । एकजना महिला जो तीजको दर खाएर घर फर्केको बेला बिच सडकमै मुला काटेझै काटिन्छ, तर दुखको कुरा प्रहरीले अहिलेसम्म हत्याको कुनै सुराक पाउन सकेको छैन । यो कस्तो बिडम्वना । जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी प्रमुखले पत्रकार सम्मेलन गरी तीजको कोसेली रूपाको हत्यारा सार्वजनिक गर्ने दाबी गर्नुभएको थियो, त्यो दाबी गरेको पनि दुई वर्ष बितिसक्यो । अहिलेसम्म हत्याको आरोपी पक्राउ पर्न सकेको छैन ।
अहिले दिनहुँजसो बालिका बलात्कार, हत्या गर्ने घटनाले तिब्रता पाएको देखिन्छ । बलात्कारपछि हत्या गरेर छोडेको घटना एउटा पक्ष हो तर रूपा गौतमको सवालमा भने सडकमा हिँडिरहेको समयमा बिनाकारण हतियार प्रयोग गरेर हत्या गरिएको छ । प्रहरी प्रशासनले हत्याकाण्डलाई राम्रोसँग नहेरीदिँदा हत्यारा पत्ता नलागेको हो भनेर बागलुङका जनताको गुनासो छ । हुनत ः रूपा हत्याकाण्डपछि प्रहरीको सक्रियता निकै थियो । अहिले जसरी कञ्चनपुरमा १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरि उखु बारीमा फालियो, त्यसमा संलग्नको सुईकोसम्म प्रहरीले पाउन सकेको छैन । सरकारले छानबिन समिति गठन गरेपनि अहिलेसम्म प्रहरी हत्यारा नजिक पुग्न सकेको छैन ।
यो प्रसंग उठाउनुको कारण प्रहरीको अनुसन्धान रूपा हत्याकाण्डमा पनि कहिँकतै चुकेको त छैन ? किन अहिलेसम्म एकजना सामान्य महिला जो स्वतन्त्र व्यापार व्यवसाय गरेर बागलुङको काँठेखोला गाउँपालिकामा बस्दै आएकी थिइन् । जसलाई हत्या गर्नुपर्ने कुनै कारण देखिदैन, यस्तो घटनाको दोषीलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन । हुनत ः सबै काम कुरा भीड र आन्दोलनले छिनोफानो गर्न सक्दैन । कतिपय अवस्थामा भीड प्रतिपादक पनि हुन सक्ला, कतिपय भीड अनियन्त्रित हुन्छ, यसले झन् गलत दिशातर्फ लैजान्छ भन्ने कुरालाई पनि मनन् गर्न जरुरी छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा रूपा हत्याकाण्डपछि ९ जना प्रहरी प्रमुख फेरिसकेका छन् । जिल्लामा नयाँ प्रहरी प्रमुख आएपछि पत्रकार भेटघाट हुने गर्छ, तब पत्रकारको प्रश्न हुन्छ– रूपा हत्याकाण्ड कहिले पत्ता लाग्छ ? अनि प्रहरी प्रमुखको जवाफ पनि लगभग एउटै हुन्छ– हामी अहिले पनि अनुसन्धानको अवस्थामा छौं, चाँडै पत्ता लाग्छ । हुनत ः प्रहरीले यो घटनालाई गम्भीरतापूर्वक नलिएको हैन तर पनि किन अहिलेसम्म पत्ता लागेन भन्ने बागलुङे जनताको प्रश्न हो ।
रूपा हत्याकाण्ड बागलुङ प्रहरीले पत्ता लगाउन नसकेपछि केन्द्रीय अनुसन्धान ब्युरो सिविआईलाई जिम्मेवारी दिएको कुरा बाहिर आएको पनि ४ वर्ष बित्न लागिसक्यो । तर अहिलेसम्म घटना २० बाट १९ भएको छैन । के कारणले रोकिएको छ, अनुसन्धान किन अहिलेसम्म हत्यारा पत्ता पुग्न सकेको छैन । जतिसुकै दवाब दिएपनि प्रहरीबाट केही काम भएको देखिदैन । अहिले रूपा हत्याकाण्ड पनि मात्रै तीज पर्व नजिक आएपछि स्मरण हुने ‘एकादेशको कथा’जस्तो बन्न पुगेको छ । रूपा गौतमको हत्यापछि बागलुङमा थुप्रै आपराधिक घटना घटे, त्यसलाई भने प्रहरीले अनुसन्धान गरेर पत्ता लगाई हत्यारालाई कानुन अनुसार सजाय दिलाउन पनि सफल भएको छ ।
अहिले महिला दिदीबहिनीलाई भ्याइनभ्याई छैन, तीजको दर खाने कार्यक्रम पनि भएन । सबै यतिबेला कोरोनाको कारणले लकडाउनमा बस्न बाध्य छन् तर अहिले कसैको पनि एजेन्डा छैन रूपा हत्याकाण्डबारे छलफल गर्ने । साँच्चै एकजना महिला अनाहकमा मृत्युको मुखमा पुगिन तर दिनदहाडै हत्या हुँदासमेत हामी अहिलेसम्म चुपचाप छौ । दोषीलाई चाँडै खोज, हत्याकाण्डको छानबिन गर, हत्यारा जो–कोही भएपनि सार्वजनिक गर र कानुनी कार्वाही गर भनेर अझै दबाव दिन नपुगेको हो कि । अहिले सरकारले नयाँ मुलुकी ऐन ल्याएको छ । अपराध गर्नेलाई कार्वाही गर्न अहिले यसै कानुनबारे बहस चलिरहेको छ । जसले हिंसा गर्छ त्यसलाई फाँसी दिनुपर्ने माग उठिरहेको छ । अपहरण, बलात्कार र हत्याका घटना कम हैन झन् बढिरहेका छन् । यसलाई नियन्त्रण गर्ने दायित्व सबैको हो । हामीले पनि प्रहरी प्रशासनलाई सक्ने सहयोग गरेर समाजमा हुने अपराध नियन्त्रण गर्ने भुमिका खेल्न सक्छौ ।
रूपा गौतमको हत्यारा पत्ता लगाउन हामीले सक्ने सहयोग र भूमिका स्पष्ट रूपमा गर्न सक्यौं भने पनि सहज हुने देखिन्छ । बागलुङमा न्यायको लागि काम गर्छु भन्ने धेरै संघसंस्था छन्, महिला अधिकारवादी छन्, सबैले आ–आफ्नो तर्फबाट भुमिका खेल्न सक्यौं भने राम्रो थियोे । यतिबेला विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै क्षेत्र प्रभावित बन्न पुगेको छ, रूपा हत्याकाण्डको अनुसन्धानमा पनि त्यसको प्रभाव नपर्ने कुरै भएन । जे–जस्तो भएपनि यो हत्याकाण्डलाई छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउन सरोकारवाला निकायले भुमिका खेल्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->