बागलुङ, १३ भदौ– कोरोना महामारीबाट बच्नका लागि मास्कको प्रयोग गर्न टोलबासीलाई अनुरोध गर्दै यहाँको एक टोल विकास संस्थाले मास्क तथा साबुन वितरण गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. २ मा रहेको रुद्रेपिपल टोल विकास संस्थाले शनिबार टोलबासीलाई मास्क र साबुन वितरण गरेको हो । टोलमा स्थायी घर भएका र भाडामा बस्दै आएका २ सय ४० परिवारलाई मास्क र साबुन वितरण गरिएको संस्थाका सह–सचिव कमल बोहराले बताए ।
संस्थाका अध्यक्ष सोम बहादुर बस्याल, कोषाध्यक्ष अस्मिता खत्री र सचिव राजन थापासहितको टोलीले घर–घरमै पुगेर मास्क तथा साबुन वितरण गरेको बोहराले बताए ।
सामाजिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र टोलमा ठुलो भीड नगर्न आग्रह गर्दै उनीहरु घर–घरमा पुगेका थिए । बागलुङ बजारमा कोरोनाको जोखिम बढेको भन्दै संस्थाले टोल छिमेकमा सबैले सजगता अपनाउनु पर्ने भन्दै मास्क र साबुन बाँडेको जनाएको छ ।





