केही दिनअघि एकाबिहानै एकजना आमा हतार–हतारमा देखिइन् । सानो पोको बोकेर हतारमा हिँडीरहेकी आमासंगै मैले पनि पाइला मिलाउँदै गफिन थाले । आमाले सुनाइन्– ‘धान गोडेको हप्ता दश दिन पुग्न लाइसको, चिनी मल हाल्नुपर्ने बल्लतल्ल दश केजी पाएँ । त्यहीं पनि किलाको साठी रुपैयाँको दरमा, आज जसरी पनि खेताँ पुगेर नहाली भा’छैन’ । यती बेला यिनै आमाजस्तै हजारौं आमाहरु यसरीनै हतारमा होलिन्, धानबालीमा चिनी मल अर्थात् युरिया मल हाल्नको लागि । नेपालको मुख्य अन्नबालीको रुपमा धानलाई लिइन्छ । धानलगायत अन्नबालीको उत्पादन वृद्धी गर्न भन्दै यहीं आर्थिक वर्षमा खर्च गर्नेगरी सरकारले रासायनिक मल खरिद तथा अनुदानको लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । तर बजारमा रासायनिक मलको हाहाकारले किसानलाई पिडा र आक्रोश पैदा गरेको छ । कोरोनाको कारण बोलपत्र आव्हानमा भएको ढिलाई, झन्झटिलो खरिद ऐन, ठेकेदारीको ढिलासुस्ती, तेस्रो देशबाट निर्यात गर्नुपर्ने प्रक्रिया, सुख्खा बन्दरगाह, छिमेकी देशमा भएको लकडाउनजस्ता विविध कारणले मल खरिदमा ढिला भएको होला ।
कृषि क्षेत्रमा गुणात्मक उत्पादन गर्नको लागि किसानलाई सहज होस् भनेर सरकारले अर्बौ अनुदान र कृषि सामग्रीहरुमा छुट गरेता पनि परनिर्भरता भने अझै हट्न सकेको छैन । चालु आवको पहिलो महिनामा मात्रै भारतबाट ३ अर्ब ५६ करोडको धान आयात गरेको छ । वातावरण र सामाजिक परिवेशको परिवर्तनका कारण नेपालको कृषि उत्पादन रासायनिक मल र विषादीमा निर्भर हुनुपरेको छ । पहिलेजस्तो कम्पोष्ट मल उपलब्ध हुन कठिन छ, यदी भइहाले पनि रासायनीक मलको जस्तो प्रभाव हँुदैन । हाम्रो उर्वर र अर्गानिक माटोमा रासायनिक मलको तीव्र प्रयोगले अम्लीयपना बढ्दै गएको छ । तरपनि नेपाली किसानसंग कुनै विकल्प छैन । त्यसैले किसानहरु युरिया मल अर्थात् चिनी मलको प्रतिक्षामा रहेका छन् । नेपाली किसानको मानसिकता र माटो रसायनमैत्री भइसकेको छ । आवरणमा अर्गानिक खेतीको विज्ञापन देखाएर रसायन मिश्रीत खेती गर्नुबाहेक अहिलेको विकल्प छैन । यो समय धान खेतीको लागि मल हाल्ने सिजन हो । तर यहीं बेला बजारमा मलको चरम अभाव भएको छ । संकटको अवसर छोपेर सरकारी अनुदानमा प्रतिकेजी २४ रुपैयाँमा पाउनुपर्ने युरिया मललाई दलाल नियन्त्रित बजारका कारण प्रतिकेजी ६० रुपैयाँमा बजारमा बिक्री भइरहेको छ । यस्तो अवस्थामा पनि स्थानीयदेखी केन्द्रसम्मको सरकार मुकदर्शक भएर बस्नुपर्ने विडम्बना रहेको छ । अन्नबाली होस् वा तरकारी खेती जहाँसुकै रासायनिक मल र विषादीको चरम प्रयोग भएको पाइन्छ । जसबाट तत्काललाई उत्पादनमा वृद्धि भए पनि मानव स्वास्थ्य, पर्यावरण र हाम्रो उर्वर माटोको उत्पादनमा ह्रास ल्याएको छ ।
रासायनिक मलको खोज तथा अनुसन्धानको इतिहास हेर्ने हो भने दुई सय वर्ष पहिले नै भएको पाइन्छ । जर्मन रसायनशास्त्री फेड्रेरिच ओरलले सन १८१८ मा मानिस र अन्य जिवमा पाइने युरिया प्रयोगशालामार्फत कृत्रिम तरिकाले बनाउने विधिको विकास गरे । पुँजिवादी देशहरुले विस्तारै ठुला उद्योगहरु स्थपना गरि रासायनिक मलको उत्पादन र बजारीकरणको लागि विश्व बजारमा व्यापारकै रुपमा अघि बढाएको पाइन्छ । सोही क्रममा नेपालको कृषिलाई आधुनिक बनाउने भन्दै सन् १९८० देखी रासायनिक मल भित्रिएको र व्यापक प्रयोग भएको देखिन्छ । रासायनिक मल भित्रिएसंगै धेरै किसान माटोमा आवश्यक नाइट्रोजन तत्वको व्यवस्था गर्न परम्परागत तरिकालाई चटक्कै छाडेर यहीं मलमा भरपर्दै आएका छन् । बिरुवाको खाना बनाउन नभई नहुने मुख्य तत्व हो नाइट्रोजन । बिरुवाले नाइट्रोजनको सहायताले सौर्यउर्जा उपयोग गरी पानी र कार्बन्डाइअक्साइडबाट ग्लुकोज अर्थात् चिनी बनाउँछ । बिरुवाको जिवनचक्रमा यो नभई नहुने प्रोटिन तत्व हो । जलवायु मौसमको परिवर्तनका कारण माटोमा नाइट्रोजन तत्वको अभाव भएको र त्यसको परिपुर्ती गर्न कृतिम नाइट्रोजनको रुपमा युरिया मलमा निर्भर हुनुपरेको हो । रासायनकि मल र विषादीको प्रयोगले तत्काल उत्पादकत्व वृद्धि भएता पनि दिर्घकालीन रुपमा यसले हाम्रो मानव स्वास्थ्य र पर्यावरणमा नराम्रो असर पारिरहेको छ । अध्ययन अनुसार रासायनिक मलको प्रयोग गरेबापत पर्यावरण र मानव स्वाथ्यमा हुने असर निम्न प्रकार रहेको छ ।
– युरियामा हुने हाइड्रोजनले माटोमा अम्लीयता बढाउने ।
– रासायनिक मलको प्रयोगले माटोमा नाइट्रोजनको मात्रा निरन्तर घटाउने ।
– यसको निरन्तर प्रयोगले नाइट्राइटजस्ता विषाक्त यौगीक माटोमा फैलिने ।
– नाइट्रोजनको प्रभावले माटो, प्रकृती र पर्यावरणमा समेत विषाक्त बन्दै विविधतामा व्यापक ह्रास आउने ।
– युरिया हालेको माटोमा उत्पादन भएको खाद्यन्नमा विषाक्त नाइट्राइटको मात्रा बढी भई आइरन, जिंक, क्यारोटिन, भिटामिन सि, कपर र प्रोटिनमा समेत कमी हुने, जसबाट साना रक्तनली र फोक्सोमा समस्या हुने ।
– रासायनिक मल र विषादीको प्रयोगले माटोमा भएको उपयोगी सुक्ष्म जिवको नास गराउने । जसबाट समस्त पर्यावरण र जलवायुनै परिवर्तन भई हामीले उपभोग गर्ने खाद्यन्न विषको रुपमा उत्पादन हुने ।
त्यसैले नेपाली कृषि उत्पादनको लागि रासायनिक मल र विषादीको विकल्प नखोज्ने हो भने भावी पुस्ताको लागि विकाराल अवस्था आउने छ । यही अवस्था रहीँरहने हो भने उत्पादन बढाउन रासायनीक मलसंग निर्भर भएजस्तै स्वास फेर्नको लागि पनि कृतिम अक्सिजनको निर्भर हुनुपर्ने दिन नआउला भन्न सकिन्न । नेपाली मौलिक उत्पादन प्रणालीलाई निर्वाहमुखीको आरोप लगाएर खेतीपातीलाई उन्नत बनाउने भन्दै कृत्रिम रसायनको प्रयोग बढाउनु मानव स्वास्थ्य र पर्यावरणको लागि घातक छ । त्यसैले हाम्रो खाद्यन्नमा रसायन मिश्रित उत्पादन विधिको विकल्प खोजी गर्नु जरुरी देखिन्छ । यसको परिणाम केही दशक नबित्दै मानव जीवन र प्रकृतीको स्वास्थ्यमा देखिएको विकराल समस्या नै यसको संकेत हो । मुख्यत ः जलवायु परिवर्तनका असर तथा प्रभावहरु खेतीपातीमा क्रमश ः देखीन थालेको छ । त्यसैले अबको हाम्रो उत्पादन प्रणाली र विधि नै परिवर्तन गर्न आवश्यक छ ।
परम्परागत खेती प्रणालीमा एकीकृत र मिश्रित खेती प्रणाली अपनाउने प्रचलन थियो । हाम्रो पुर्खाहरुको खेतीबाली पुर्ण पशुपालनमा आधारित भएकाले पर्याप्त कम्पोष्ट मल उपलब्ध हुने थियो । हिँउदको समयमा खेत तथा बारीमा अस्थायी रुपमा गोठहरु सार्ने चलन हुन्थ्यो । वस्तुभाउको गोबर तथा मलमुत्रका कारण माटोमा नाइट्रोजन उत्पादन भई उर्वराशक्तिको वृद्धि हुन्थ्यो । नाइट्रोजनको अर्को स्रोत भनेको कोषेबाली हो । धान रोपेपछि खेतको आलीमा भटमास लगाउने, मकैसंगै मकै बोडी, कोदौसंगै कोदो बोडी, खाली कान्लाहरुमा लहरे बालीहरु लगाउने प्रचलन थियो, जसले माटोमा नाइट्रोजनको मात्रा पर्याप्त आपुर्ती गथ्र्यो । तर अहिले आएर हाम्रा किसानहरु गोठे मलभन्दा रासायनिक मलको प्रयोगले उत्पादन वृद्धि हुने विश्वास गर्छन् । त्यस्तो वातावरण सृजना गर्नुमा कृतिम मलबाट आउने कमिसनमा ¥याल चुहाउने दलाल र प्रलोभनमा पर्ने राज्य संयन्त्रको कारण हो । किसानलाई उत्पादकत्व वृद्धि र छोटो समयमा छिटो प्रतिफल पाउने प्रलोभन देखाई रासायनिक मल र विषादीमा निर्भर बनाउने राज्य संयन्त्रका हिमायती भनौदाहरु हुन् । यसको मुख्य कारण नै दलाल पुँजीवाद हो । पँुजीवादको ध्येय नै कमजोर राज्यमा आफ्नो उत्पादनको बर्चश्व जमाउनु हो । जसबाट हाम्रो उत्पादन प्रणाली, माटोको उर्वराशक्ति र पर्यावरण नै ध्वस्त हँुदै गएको छ । त्यसैले मानव स्वास्थ्य, पर्यावरण र माटोको उर्वराशक्तिलाई कायम राख्न वैकल्पिक विधि अपनाउन आवश्यक छ । हाम्रो परम्परागत उत्पादन प्रणालीलाई आधार बनाएर पर्यावरण मैत्री हुनेगरी नयाँ उत्पादन प्रणालीको अवलम्वन गर्नु अपरिहार्य छ । पर्यावरणमैत्री अभ्यासले मात्रै हाम्रो माटो, पर्यावरण र मानव स्वास्थ्य बचाउन सकिन्छ । त्यसैले पर्यावरण, मानव स्वास्थ्य र उत्पादनको गुणात्मक वृद्धिको लागि निम्न विधि अपनाउन सक्छौ ।
– भुउपयोग नीति अनुरुप जमिनको वैज्ञानिक वर्गिकरण गरी कृषि क्षेत्रको पहिचान गर्ने । खण्डीकृत जमिनको बृहत चक्लाबन्दी गरि भुगोल र वातावरण अनुसार पशुपालन तथा खेतीबालीको लागि पहिचान गर्ने ।
– जैविक मल र विषादी निर्माणको लागि बृहत पशुपालन तथा जडीबुटी खेतीको परियोजना सञ्चालन गर्न नीतिगत तथा लगानीमैत्री वातावरणको व्यवस्था गर्ने ।
– आधुनिक प्रविधीको उपयोग गरि बृहत रुपमा साइलेज तथा हे उत्पादन गर्न घाँस खेती गर्ने र प्रशोधनको लागि उद्योगहरु स्थापना गर्ने ।
– बृहत पशुपालन (गाई तथा भैसी) फार्महरुको विकास गरी कम्पोष्ट मलको गुणात्मक उत्पादन गर्ने ।
– गाई तथा भैँसीको मलमुत्रमार्फत जैविक मल तथा विषादी उत्पादनका लागी उद्योगहरुको स्थापना गर्ने । रासायनिक मल र विषादीको विकल्पमा नेपालकै प्रविधीमा पर्यावरणमैत्री र माटो सुहाउँदो जैविक मल र जैविक विषादी उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउने ।
– बहुआयामिक कृषिको अनुसान्धान, शिक्षा र प्रसारलाई प्रभावकारी बनाएर किसानलाई नयाँ सिप र प्रविधीमा रोग किरा नियन्त्रण र बाली तथा वस्तुभाउको गुणस्तर वृद्धिमा सघाउने ।
– एकीकृत र मिश्रित खेती प्रणालीमा जोड दिने ।





