शिखर चुम्ने सपना हरेकमा हुन्छ । हुनतः सबैको जीवनमा चढ्नु पर्ने आफ्नै शिखरका लाम कैयौं रहन्छन् नै । अन्नपूर्ण शिखरमा पहिलोपल्ट पाइला टेकेर मौरिस हर्जोक र उनको टोलीले किर्तीमानी राखे । शिखरसम्म पुग्न नसकेपनि बेस क्याम्पसम्म पुग्दा सबैले छुट्टै गर्व महसुस गर्छन् । आँखै अगाडि अजंगको हिमाल देख्दा कसको मन लोभिदैँन र ? फूलैफूलको सुन्दर उद्यानजस्तै लाग्ने आधार शिविरमा हराउन कसलाई मन नहुँदो हो । दुई चार सेल्फी अनि टिकटक भिडियोहरु सामाजिक सञ्जालमा पोस्टाएपछि यात्राको सार्थकता देख्छन् आजकल । हुनतः समयको माग न हो । कोरोना कहर नहुँदो हो त, अहिले पनि आधार शिविरतिर रुमलिँदै हुन्थे होला म । पोहोर साल ठ्याक्कै यही समयतिर अन्नपूर्ण आधार शिविरसम्मको यादगार यात्रा फेरि सम्झन पुगें ।
मनसुन याम । रकस्याकमा रेनकोट अनि वाटर प्रुफ ज्याकेट बिर्सिने कुरै भएन । हुनतः पानीमा रुझ्नुको मज्जा नि बेग्लै रहन्छ । केही थान न्याना लुगा, क्यामेरा, नेपालका चराहरु नामक पुस्तक, पानीको थरमस आदिले लगभग झोलाको तौल बाह्र किलो हाराहारी पुग्यो । अबको करिब आठ दिन खच्चरको दुःख केही हदसम्म आफैंले महसुस गर्ने अवसर मिल्नेवाला थियो ।
पोल्यान्डबाट यसै यात्राका लागि आएका थिए साथीहरु, क्यारोल र मार्ता । अबको आठ दिन दुवैलाई अन्नपूर्ण सेरोफेरो घुमाउने जिम्मा मेरो । केही वर्ष पहिला जतिको रौनक भने छैन आजकल यस पदयात्रामा । नयाँपुलबाट केही मिनेटमा बिरेठाँटी पुगिन्छ । मोदी खोला तरेपछि तिखेढुंगासम्मको पैदलमार्ग माँसेर मोटरबाटो बनाएँ । यो सँगै माँसियो बिच बाटोमा पर्ने स्थानीयहरुको पर्यटन व्यवसाय गर्ने सपना । खोलाको किनारै किनार चिसो बताससँग भलाकुसारी अनि साउती गर्दै अघि बढ्न अब कहाँ पाइन्छ र ? अत्यासलाग्दो गाडीको कालो धुँवा र अनुहारै सेताम्य बनाउने मोटरबाटोको धुँलोले स्वागत गर्न चछाडमछाड गरेको भान हुन्छ ।
नेपालीका लागि विकास भनेकै मोटरबाटो । भविष्यमा कुनै दिन सरर बिहान कारमा पोखराबाट अन्नपूर्ण आधार शिविर घुमेर साँझ पोखरा फर्किने दिन पनि नआउलान् भन्न सकिँदैन । म विकास विरोधी पक्कै हैन, तर पदमार्ग माँसेर मोटरबाटो बनाउनु उचित कदापी हैन । कि पदमार्गलाई असर नपुग्ने गरी मोटरबाटो बनाउनु पर्छ कि त वैकल्पिक पदमार्गको खाका तयार पश्चात मात्र मोटरबाटो बनाउनु पर्छ । केही माना मोटरको कालो धुँवा र धँुलो चाखेपश्चात तिखेढुंगा पुग्यौं ।
झोलुंगे पुल अनि लोभलाग्दो झरना । यस सुन्दर दृश्यले भने मनमा केही राहत दिलायो । त्यसपछिको करिब एक घण्टाको नाकै ठोकिने उकालो । मनसुन याममा देखिने भिन्न–भिन्न चराहरु क्यामेरामा कैद गर्दै र पारि देखिने सुन्दर गाउँ नियाल्दै उल्लेरी पुगेको पत्तै भएन । त्यस दिनको बास प्रताप होटलमा । अफ सिजन भएरै होला, होटलमा पाहुना हामी मात्रै थियौं । एक मन त लाग्यो, यो हाम्रै होटल पो हो कि ?
बिहानै आँखै अगाडि अन्नपूर्ण साउथ र हिमचुलीमा घामको पहिलो किरणले स्पर्श गरेसँगै हामी ब्युझियौं । बिहानको नास्ता खाएर उकालो उक्लियौं । कहिले जंगलै–जंगलको बाटो त कहिले स–साना झरना अनि खोल्सा । नाङ्गेठाँटी चाँहि लन्च पोइन्ट । त्यहाँबाट कस्सिएर हिँडे एक घण्टाको बाटो हो घोरेपानी । जिल्ला भने म्याग्दी । पुनै पुनको बस्ती हो यस ठाउँ । अग्ला–अग्ला ठडिएका पिल्लरका पक्की घरहरु देख्दा पोखराको लेखसाइडको छनक दिन्छ । दोस्रो रात सबै यहीं बिताउँछन् । कोही साँझ उकालो लागेर पुनहिल सुर्यास्तका लागि समेत पुग्छन् । हामी भने बिहानै सुर्योदय नियाल्ने हेतुले राती छिट्टै सिरकभित्र गुटमुटियौं ।
लुङतुङ डाँडा (३२१० मि.) अर्थात् पुनहिल । बिहान ५ः५८ बजे थियो सुर्योदयको समय । सुर्योदयको निर्धारित समय अगावै साढे पाँच बजे पुनहिल पुगेका थियौं हामी । छ्याङ्ङ खुलेको आकाश अनि हिमाल । उस्तै खुलेको थियो उमंगले घुम्न आउनेहरुको मन पनि । गाढा सुन्तला रंगले पूर्वी क्षितिज ढाकिन थाल्यो । सुर्योदय हुने लक्षण थियो त्यो । अनि तानियो सबैको ध्यान पूर्वैतिर । कोही मोबाइलमा त कोही क्यामेरामा सुर्योदय कैद गर्न आतुर देखिन्थे । केही छिनमै प्रतिक्षाको घडी समाप्त भयो । घामको पहिलो किरणले अन्नपूर्ण साउथलाई चुम्बन गरेसगैँ सबैमा उमंग छायो । एकैछिनमा धौलागिरी अनि माछापुच्छे« पनि मुस्कुराउन थाले । अनि संगै मुस्कुराए पर्यटकहरु । शरीरमा छुट्टैै उर्जा बढेको भान भयो । पदयात्राको तेस्रो दिन बिहान पुनहिलको माहोल थियो योे ।
धेरै समय चाहँेर पनि एकै ठाउँमा बिताउन पाइदैन किनकी पुग्नु पर्ने गन्तव्य टाढा छ । घोरेपानी ओर्लेर बे्रक फास्ट खायौं । अनि सुरु भयो त्यस दिनको यात्रा । यात्रामा नयाँ साथी पनि थपियो । एउटा कुकुरले हाम्रो बाटो पछ्याउँदै हामीसँगै अघि बढ्यो । आधा घण्टामा पुगिने देउराली भ्यु पोइन्टबाट देखिने प्यानरोमिक भ्यु शब्दमा वर्णन गर्न सकिने खालको थिएन । कहिले लालीगुँरासको जंगलै–जंगल त कहिले डाँडैडाँडा निरन्तर लम्किरह्यौं हामी । देउरालीदेखि बनठाँटीसम्म ओरालै बाटो । पाहुनाको पखाईमा रहेका होटल अनि लजहरु । प्रायको लन्च पोइन्ट यहीं ठाउँ । हामी पनि लन्चसहितको केहीबेर आराम ग¥यौं । घोरेपानीदेखि पछ्याउँदै आएको कुकुर यहीँबाट हाम्रो साथ छोड्यो । हामी भने ओरालो अनि उकालो बाटोहुँदै टाडापानी पुग्यौं । घडीले केबल २ बजाएको थियो । अझै केही समय हिड्ने योजना बन्यो । चुइले पुग्दानपुग्दै मेघगर्जनसहितको पानी प¥यो । त्यसैले हाम्रा पैतालाहरुले विश्राम पाए । अनि रात त्यहीं एउटा होटलमा बित्यो ।
हरेक दिन फरक परिवेश अनि फरक गन्तव्य । अनि फरक सुन्दरतामा रुमलिन पाउँदाको फरक अनुभूति । यात्राको मज्जा नै यहीं न हो । जति पटक यहाँ आउँदा नि फरकपनको आभाष मिल्छ मनमा । मनसुन याम । प्रायः हरेक दिन पानी वर्षिनु नौलो थिएन । त्यसैले हरेक दिन नरुझेको दिन नहुँदो हो । पानी वर्षेसँगै खोलाको बेग बढ्थ्यो यता हाम्रो गति भने सुस्ताउँथ्यो । दिउँसो करिब एक दुई बजे पानी परेसँगै ओत लाग्न नजिकको होटल पुग्नु पर्ने बाध्यता । त्यसैले योजना बन्यो, बिहानै झिस्मिसेमै यात्रा सुरु गर्ने र बरु दिउँसै बास बस्ने ।
यही अनुरुप चौथो दिन बिहानै जुत्ता कस्यौं, रक स्याक भि¥यौं । धेरैपल्ट हिँडिसकेको बाटो, त्यसैले होला पैतालाले आफैं दो¥याउँदो हो बाटो । पैताला मालिक अनि हामी नोकर जस्तै । लुखुरलुखुर हामी अघि बढ्यौं । छोम्रोङमा दिउँसो लन्च लिएर लोवर सिनुवा पुग्दा नपुग्दै पानीले हामीलाई भेटिहाल्यो । सिँढीको बाटो बनाउँदै गरेका पाँच छ जना स्थानीयहरु थिए । सानो त्रिपालको छाप्रो रहेछ, त्यही ओत लाग्यौं हामी पनि । उनीहरुसँग गफगाफ गर्दै एक घण्टा बितिसकेछ । पानी रोकिने कुनै संकेत नै थिएन । उनीहरु खाजा खान अलि परको होटल गए । हामी पनि करिब पाँच मिनेटको बाटो फर्केर होटलमा चियाको चुस्कीले ज्यान तातो बनायौं । धिमे–धिमे घडीको सुइँले दिन छिपिँदै गएको संकेत दिन्थ्यो । अझै केही समय यात्रालाई निरन्तरता दिने भयौं । पानी साम्य भएको मौका छोपेर माथिल्लो सिनुवा पुग्यौं । फेरि पानी वर्षन थालेपछि त्यही बस्नुबाहेक अरु उपाय थिएन । सुर्यास्तसँगै बादलभित्र लुकेको माछापुच्छ«ेको लोभलाग्दो दृश्य शब्दमा वर्णन गर्न सकिने खालको थिएन । बस्, धीतमरुन्जेल हेरिरहें ।
उचाइ बढेसँगै यात्रा अलि सकस भने बन्छ नै । तर उचाइँसँगै फरक भौगोलिक बनोटको सुन्दरता र त्यहाँ पाइने भिन्न वनस्पति, चराचुरुङ्गीहरुले मनमा केही राहत भने दिलाउँछ । हिमाल नजिकिँदै गएको भान हुन्छ । अनि सँगै नजिकिन्छन् फेदैमा पुग्ने अभिलाषा अनि रहरहरु । खुट्टाहरु हत्तारमा भएझैं छिटो छिटो पाइलाहरु अघि सार्छन् । अनि लाग्छौं हामी पनि ।
बिहान छ्याङ्ङ खुलेको मौसम कति बेला पानी पर्छ, अनुमान लगाउन सकिँदैन । पानी पर्छ, बस् यति अनुमान गर्न सकिन्छ । माथिल्लो सिनुवाबाट करिब साढे एक घण्टामा ब्याम्बो पुगिन्छ । जताततै नियालै नियालको घारी । त्यसैले यस ठाउँको नामै राखिदिए ब्याम्बो । ते¥पाई ते¥पाइ अनि उकालो बाटो छिचोल्दै ब्याम्बोबाट दुई घण्टामा देउराली अनि एक घण्टामा हिमालय पुग्यौं । त्यही लन्च तयार भो । छिटो अनि छरिटोको कम्बिनेशन । गार्लिक सुप अनि भुलुक्क उमालेको चाउचाउ । हिम पहिरोले बगाएको बाटो कतैकतै भने बहुतै अफ्ठ्यारो थियो । केही गरी खुट्टा चिप्लिए, तल बगेको अजङ्गको मोदी खोलामा पुिगने डर । विस्तारै एक अर्कालाई साथ दिँदै अनि होसियारी भएर पाइला सर्दै गयौं । देउराली पुग्दासम्म समय हामीसँग प्रशस्तै थियो । माछापुच्छे« बेस क्याम्प टार्गेट बनायौं । तर पानीले हामीलाई देउरालीमै बस्न बाध्य बनायो ।
साथी क्योरिल पोल्यान्डको एक नामी ट्राभलर । अझ भनौं घुमन्ते युट्युबर । फुल टाइम घुम्दै हिड्छन् वर्षभरि उनको दम्पनी । करिब ३० देश घुमिसकेका रहेछन् । नेपालमा काठमाडौं उपत्यका, पोखरा, ए.बि.सी. पदयात्रा र चितवन घुम्ने योजना अनुरुप उनीहरु नेपाल आएका रे । हरेक यात्रालाई भिडियोमार्फत पस्कने उनको विशिष्ट क्षमता र कौशलता । नयाँ विषयवस्तु भेटिने बित्तिकै उनमा कौतुहलता जाग्छ । म उनमा जागेका हरेक कौतुहलतालाई मेटाउन हर प्रयास गर्छु । उनी त्यही विषयलाई भिडियोमार्फत क्यामेरामा उर्ताछन् ।
घुम्नु मात्र महत्वपूर्ण कुरा ठान्दैनन् उनी । घुमेका ठाउँहरुलाई कलात्मक रुपमा भिडियोका रुपमा पस्केर संसारका मानिसहरुलाई घुम्न प्रेरित गर्छन् । नेपालको सन्दर्भमा अझै व्यवसायिक घुम्ने शैलीको पूर्ण रुपमा विकास हुन सकेको छैन । कालान्तरमा पक्कै यसले गति भने लिने नै छ ।
वर्षात्मा ओढ्ने सेखु देख्दा होस् वा भिरेको भाङ्ग्रा देख्दा, उनी प्रश्न तेर्साइहाल्छन् । सँगै क्यामेरा पनि । कहिले अगाडि देखिने हिमालका बारेमा सोध्छन् त कहिले तल बगिरहेको खोलाबारे । यात्रा अझ स्मरणीय अनि यादगार बन्दै थियो । पाचौं दिन बिहानै पाँच बजे एम.बि.सी. लाग्यौं । माछापुच्छ«ेको पछाडिबाट देखिने रुप सधैं देखिनेभन्दा भिन्न थियो । वरिपरिको आँखै हर्ने सुन्दर दृश्य नियाल्दै अन्नपूर्ण आधार शिविर पुगेको पत्तै भएन । लस्करै देखिने हिमश्रृंखला कति क्यामेरा त कति हृदयको अन्तरकुनामा कैद ग¥यौं ।
४३१० मि. उचाइमा अवस्थित छ आधार शिविर । ०७५ सालको अन्त्यतिर आएको हिमपहिरोले त्यहाँ रहेका सबै होटलहरु तहसनहन पारिदिएका रहेछन् । यस्तो ठूलो विपत् धेरैपछि आइपरेको ठान्छन् त्यहाँका होटल व्यवसायीहरु । जलवायु परिवर्तन एक कारक ठान्छन् मानिसहरु । पोखरा टु बेस क्याम हेली सर्भिसले नजिकको हिउँको थुप्रो खल्बलाएकाले हिमपहिरो गएको भन्ने जमात पनि ठूलै रहेछ । त्यसपछि यस सेवा भने अवरुद्व भएको थियो । एउटा होटलमा डाइनिङ रुम मात्र रहेछ बाँकी । त्यहीं नुडल सुपले आँत तातो बनायौं अनि त्यही बाटो फर्कियौं । त्यस दिन हिमालयमा बास भो हाम्रो ।
यात्राको सातौं दिन । झिनु हट स्प्रिङ हाम्रो यात्राको अन्तिम दिनको बसाई । मोदो खोलाको किनारमै तीन वटा तातोपानीको पोखरी बनाएका छन् स्थानीयले । यस्तै टुरिजम प्रोडक्टहरु हरेक ठाउँमा थप्न सकियो भने पर्यटकको बसाइ लम्बिनेमा कुनै दुविधा छैन । एक हप्ते पदयात्राको थकान हट स्प्रिङमा डुब्दा हटेको आभाष भयो । ज्यान छ्याङ्ङ भयो असारे हिलो फाले जस्तै । मन चंगा भयो । अनि आठौं दिन बिहानै नयाँपुल ओर्लियौं र बसमा पोखरा फि¥यौं ।
नेपालका पर्यटकीय गन्तव्यहरु बाह्रैमासे घुम्न उपयुक्त छन् । फरक सिजन, फरक टेस्ट । हरेक सिजन फरक फरक सुन्दरताको अनुभूति गर्न सकिन्छ । घुम्नेहरु मनसुन उपयुक्त समय मान्दैनन् तर कञ्चन बगिरहने झरनाहरु, फूलैफूलले ढकमक्क डाँडाहरु, बादलभित्र लुकामारी गर्ने लोभलाग्दा हिमालहरु नियाल्दै र पानीमा रुझ्दै हिड्नुको मज्जा पनि बेग्लै हुन्छ । न पर्यटकहरुको भीडभाड हुन्छ न खच्चडहरुकै लाम । निस्फिक्री प्रकृतिको सुन्दरतामा धित मरुन्जेल हराउन सकिन्छ । त्यसैले त फरक स्वाद चाख्न मनसुनमा बेस क्याम्प पुग्न छुटाउनै हँुदैन । कोरोना साम्य भएपछि फेरि पुग्नु छ बेस क्याम्प । फेरि हराउनु छ सुन्दरतामा आफैंलाई बिर्सिने गरी ।





