शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भ्रममा नपरौं : तातोपानीले मात्रै कोरोना जितिन्न

भ्रममा नपरौं : तातोपानीले मात्रै कोरोना जितिन्न

जीवाणु वैज्ञानिक (भाईरोलोजिष्ट) डा. सुदिप खड्का को सुझाव


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७७, सोमबार

बागलुङ, १५ भदौ– नेपालकै छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका वडा नं. ३ की ६५ वर्षिया मनकुमारी पौडेलले कोरोना मुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिईन्– ‘मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।’
धौलागिरी अस्पतालको आईसोलेसनमा उपचार गराएकी उनलाई दुई हप्ताको बिचमा एक दिन उच्च रक्तचापबाहेक कुनैपनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई संक्रमितको एकै स्वर थियो– ‘स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मबल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौं ।
आइतबार दिउँसोसम्म बागलुङमा संक्रमितको संख्या २ सय ८६ पुगेको छ । जसमध्ये २ सय ६१ जना आईसोलेसनमा बसेर निको भएपछि घर फर्किए । कोरोना कारण एक जनाको ज्यान गयो । निसीखोलाका पुरुषमा मृत्युपछि कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।
जिल्लाका आईसोलेसन र प्रि–आईसोलेसनको तथ्यांक अनुसार निको भएका अधिकांशमा कोरोना संक्रमणको लक्षणनै थिएन । उनीहरु कसैले पनि नत खोपको प्रयोग गरे न औषधि । सबैले भन्ने एउटै हो– ‘ढुक्कले बसेँ, समाचार पढेँ, तातोपानी खाएँ, कोरोना जिते ।’
तर आईसोलेसनमा बसेर तातोपानी खाँदैमा वा आत्माबल बढाउँदैमा कोरोना नजितिने विषेशज्ञहरुको धारणा छ । ‘निको हुन्छ, ९८ प्रतिशतमा ग्यारेण्टीका साथ निको हुन्छ त्यसमा दुईमत रहेन’ अमेरिकामा रहेका जीवाणु वैज्ञानिक (भाईरोलोजिष्ट) सुदिप खड्का भन्छन्– ‘कोरोनाको नत कुनै औषधि प्रमाणित छ न भ्याक्सिन, तातोपानी र आत्मबलले निको हुने रोग हैन खेलवाड नगरौं ।’
लक्षण नदेखिएका अधिकांश बिरामी निको हुने भएकाले तातोपानी, आत्मबल र जडिबुटीको भ्रम परेको उनको दाबी छ । ‘कोरोना लागे पनि तातोपानीले जितिन्छ भनेर भ्रममा नपरौं, यो गलत हो’ खड्का भन्छन्– ‘लक्षण भएका र जोखिममा रहेका बिरामीलाई कठिन हुन सक्छ ।’ अरु भाईरसभन्दा कोरोनाकोे फैलावट धेरै भएकाले यो रोगसँग खेलबाड गर्न नहुने उनको तर्क छ । नेपालमा पछिल्लोपटक समुदायमा फैलिएको संक्रमणले थप खतराको संकेत गरेको भन्दै इबोलाभन्दा कम मृत्ुयुदर भएको कोरोनाले धेरैको मृत्यु निम्त्याउने उनको दाबी छ ।
‘एक तिहाई मान्छेलाई यसको लक्षण नै देखिँदैन, जुन खतरनाक हो’ खड्का भन्छन् ‘अहिले हामीले सबै निको भनेर हेलचक्राईं गर्दा दुई प्रतिशतमा पर्ने उमेर पुगेको समुहलाई निकै कठिन हुन्छ ।’ उनले कोरोनाको औषधि वा भ्याक्सिन तयार भएर तत्काल आउने सम्भावना नरहेको समेत बताए ।
ढोरपाटनसँगको टेलिफोन संवादमा खड्काले भने ‘इबोलाको भ्याक्सिन सबैभन्दा छोटो समयमा बनेको हो, जसको लागि दुई वर्ष लाग्यो ।’ कोरोनाका तयार भएका भ्याक्सिन तेस्रो परीक्षणमा रहेको भएपनि त्यसको उपलव्धता अझै कठिन रहेको उनको भनाई छ । ‘भ्याक्सिन बने पनि त्यसको उत्पादन सबैलाई पुग्नेगरी बनाउन कति समय लाग्ला’ प्रतिप्रश्न गर्दै उनले भने ‘त्यसैले हामीले सतर्कता अपनाउनुको विकल्प नसोचौं ।’
विदेशमा जस्तो नेपालमा संक्रमण फैलिँदैन भनेर चलेका हल्लाहरुसमेत भ्रम भएको भन्दै उनले आगामी दिन थप खतरनाक भएको संकेत गरे । अस्पताल, भेण्टिलेटर र आईसियु लक्षण भएका बिरामी र कोरोनाका कारण कठिन अवस्थामा रहेका बिरामीको लागि तयार राख्नुपर्ने खड्काको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->