बागलुङ, १५ भदौ– कोरोना संक्राण पुष्टि भएर धौलागिरी अस्पतालको आईसोलेसनमा रहेका ६ वर्षिय बालकसहित ६ जनाले कोरोना जितेका छन् ।
आईतबार संकलन गरिएको संक्रमितहरुको स्वाबको नतिजा नेगेटिभ आएको गण्डकी प्रादेशिक प्रयोगशालाले जनाएको छ ।
अस्पतालको आईसोलेसनमा रहेका बागलुङ नगरपालिका वडा नं. ३ का ६ वर्षिय बालक, बडिगाड गाउँपालिका वडा नं. ६ र ७ का वडा अध्यक्ष, जैमिनी नगरपालिकाका एक पुरुष, बागलुङ नगरपालिका वडा नं. ३ कै एक किशोरी र कामको खोजीमा भारतबाट बागलुङ आएका एक मजदुरले कोरोना जितेका हुन् ।
ती मजदुर कामको शिलशिलामा जिल्लाको गलकोटमा पुगेको बेला गरिएको जाँचमा संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै घर सोमबार फर्किएका छन्भने ६ वर्षिय बालकको विषयमा घर पठाउने वा नपठाउने भन्ने विषयमा छलफल हुँदैछ ।
‘नेगेटिभ आएको बच्चालाई घर लैजान परिवारलाई अनुरोध गरेका छौं’ अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले भने ‘आमा नमान्ने वा बच्चा नमान्ने समस्या त हुन्छ तर परिवारले बच्चा लैजान सक्छन् ।’ उनकी आमाको भने दोस्रो पटकको परीक्षणमा समेत रिपोर्ट पोजेटिभ आएको छ ।
विदेशबाट आउनेको व्यवस्थापनमा खटिँदा आफै संक्रमित भएका बडिगाड गाउँपालिका वडा नं. ६ का अध्यक्ष मौसमकाजी क्षेत्री र वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ आफ्नो सम्पर्कमा आएकाहरुको नतिजानै नआउँदै घर फर्किएका छन् ।
उनीहरुको सम्पर्कमा आएका ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कोरोना संक्रमति भएपछि वडा नम्बर ६ का अध्यक्ष क्षेत्री १७ दिन र वडा नम्बर ७ का अध्यक्ष गुरुङ १२ दिन आईसोलदेसन बसेर घर फर्किएका हुन् ।





