बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रणय शिखरमा देखिनै छोडे प्रेमिल जोडी

प्रणय शिखरमा देखिनै छोडे प्रेमिल जोडी


  • धु्रबसागर शर्मा
  • भाद्र १८ २०७७, बिहिबार

म्याग्दी, १८ भदौ– दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको चहलपहल हुने लभ्लीहिल (प्रणय शिखर) मा प्रेमिल जोडिहरु देखिन छोडेका छन् ।विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका डरले आन्तरिक तथा बाह्य पर्यटकहरु आउन छोडेपछि प्रणशिखर सुनसान देखिएको हो ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको लभ्लीहिलमा बिहान मर्निङ वाक गर्नेदेखि बेलुका इभिनिङ वाक र दिउँसोको समयमा घुम्ने आन्तरिक पर्यटकहरु कोरोना संक्रमणका डरले यहाँ आउनै छोडेका छन् । लकडाउन हुनुपूर्वको समयमा दैनिक सयौं जनाको संख्यामा भीडभाड हुने ठाउँ अहिले सुनसान देखिन्छ ।पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि लकडाउनले ओझेलमा परेको छ ।
खबरामा रहेको लभ्लीहिल आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रुपमा चिनिन्छ । खासगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रुपमा परिचित लभ्लीहिल विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको थियो । तर कोरोना संक्रमणको त्रासले गर्दा लभ्लीहिल भ्रमण गर्न आन्तरिक पर्यटकहरु पुग्न सकेका छैनन् । बेनीबजारसँगै जोडिएको खबरा नजिकै रहेको खाराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको छ । खबराका स्थानीय चन्द्रबहादुर कार्कीले पहिले दैनिक सयौंको संख्यामा मानिसहरु घुम्न आउने गरेको भए पनि अहिले लभ्लीहिलमा मानिसहरु नै आउन छाडेको बताए । उनले लकडाउनले गर्दा पर्यटकीय क्षेत्रको भ्रमण तथा कृषिजन्य उत्पादन समेत बजारीकरणमा समस्या आएको बताए ।
बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरि म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।
बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ वस्तीको समेत सम्भावना रहेको छ ।
केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरु बताउँछन् । लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धाहरु रमाउने स्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसाय समेत फस्टाउने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->