पोखरा, २० भदौ – जिल्ला प्रशासन कार्यालय कास्कीले ‘खुकुरो निषेधाज्ञा’ भदौ २७ गतेसम्म कायम राख्दा पोखरा महानगरका ३ वटा वडाका विभिन्न ठाउँहरु भने सिल भएका छन् । कास्की प्रशासनले शुक्रबार अर्को सूचना जारी गर्दै भदौ २० गते सकिने निषेधाज्ञालाई भदौ २७ गतेसम्म लम्ब्याएको हो । खुकुलो निषेधाज्ञामा यसअघि भइरहेका सबै गतिविधि कायमै रहनेछन् भने बन्देज लागेका गतिविधि खुल्ने छैनन् । यता, कोरोना संक्रमणको हटस्पट बनेपछि पोखरा महानगरपालिकाका १०, १२ र १३ अन्तर्गतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल ढिकालेथर हुँदै कुँडहर चोक मियाँपाटनसम्मका सबै क्षेत्र यसैगरि लालीगुराँस मिनीमार्ग प्रगतिटोल, विपी मार्ग ‘क’ र ‘ख’ हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र माछापोखरीदेखि संगमटोल मियाँपाटन, अन्नपूर्ण टोलहुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल गरिएको छ ।
शुक्रबार तीनवटै वडाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि नै लागू हुने गरि एक हप्तासम्मको लागि वडाका विभिन्न टोलहरु सिल गर्ने घोषणा गरेका हुन् ।
पोखरा औद्योगिक क्षेत्रभित्र कार्यरत २७ जनालाई बिहीबार कोरोना पुष्टि भएको थियो । औद्योगिक क्षेत्रको एक बिस्कुट कम्पनीमा कार्यरत मजदुरलाई एकै दिन कोरोना पुष्टि भएको यो पहिलो रेकर्ड पनि हो । कोरोना पुष्टि भएका २७ जना मजदुर १०, १२ र १३ मा बसोबास गर्दै आएका थिए । तीवटै वडाको सीमाना जोडिएको र एकै दिनमा ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि वडाका टोलहरु सिल गरिएको वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए ।
‘हिजो औद्योगीक क्षेत्रमा कार्यरत २७ जना मजदुरमा कोरोना पुष्टि भयो’, उनले भने, ‘संक्रमित मजदुरहरु बस्ने टोल पनि जोडिएको हुनाले वडा सिल गर्ने निर्णय लिएका हौं ।’ वडाले महानगर कोरोना रोकथाम तथा नियन्त्रण समितिमा सिल गर्न सिफारिस गरेपछि महानगरको सिफारिसलाई जिल्ला संकट व्यवस्थापन केन्द्रले सदर गरेको थियो ।
वडाध्यक्ष लामाले समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि टोल सिल गर्न बाध्य भएको बताए । ‘वडा सिल गरेर कन्ट्याक्ट ट्रेसिङको कामलाई अघि बढाउँछौं’, उनले भने । अहिले संक्रमित मजुदरलाई कार्यरत कम्पनीले नै आइसोलेसनमा राखेको छ । यिो अवधिमा स्वास्थ्यजन्य सबै सेवा खुल्ला रहनेछन् । खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइनेछ ।
यसअघि ४ महिना लामो लकडाउनपछि जिल्ला प्रशासन कास्कीले भदौ २ गतदेखि १२ गतेसम्म २ हप्ता लामो निषेधाज्ञा जारी गरेको थियो । २ हप्ता लामो निषेधाज्ञापछि जिल्ला संकट व्यवस्थापन केन्द्रले २० गतेसम्मको लागि निषेधाज्ञा खुकुलो पार्ने र अवस्था हेरि पुन ः निषेधाज्ञाको म्याद थप्ने बताएको थियो । संकट व्यवस्थापन केन्द्रको अघिल्लो निर्णयको म्याद सकिन १ दिन बाँकी हुँदा वडाहरुमा पुरानै अवस्थाको निषेधाज्ञा थप एक हप्ता कायम राख्ने निर्णय लिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी श्रीनाथ पौडेलले महानगरको सिफारिसमा वडा नम्बर १०, १२ र १३ का टोलहरु सिल गर्ने प्रस्ताव सदर गरिएको बताए । कास्कीमा शुक्रबार मात्रै १७ संक्रमित थपिएका छन् । कास्कीमा १७८ वटा सक्रिय केस छन् । संक्रमितको दर दिनहूँ बढ्दो छ । २६ गते राति १२ बजेसम्म तीन वडाका टोलहरु सिल रहनेछन् ।




