सम्माननिय प्रधानमन्त्री केपी शर्मा ज्यु,
हजुर गणतन्त्र नेपालको छैटौ प्रधानमन्त्री हुनुहुन्छ र ३ करोड नेपालीको भरोसा गरेको प्रधानमन्त्री र आशाका ढुकढुकी पनि । हुनत ः हजुर हाम्रो देशको अतिनै जिम्मेवार व्यक्ति हुनुहुन्छ । अझ भन्नेनै हो भने त सिंगो देशको नै प्रधानमन्त्री हुनुहुन्छ र नेकपाको अध्याक्ष पनि । हुनतः हजुरलाई कुर्सीको लडाइँ चलिरहेका बेला मेरा यस्ता कुरा सुन्ने फुर्सद नै कहाँ होला र ! तर पनि मेरो यो कुरा सुनिदिनु हुन्छ भन्ने आशावादी छु ।
नेपालको रोजगारीको उद्गम बिन्दु काठमाडौं हो । यहाँ हरेक जिल्लाका मानिसहरु जिविकोपार्जनको लागि रोजगारीको शिलशिलामा आउने गर्दछन् । भोगोलिक दृष्टिले सानो भएपनि ज्यालामजदुरी गर्नेहरुका लागि र व्यापार व्यवसायका हिसाबले अतिनै उत्तम मानिन्छ । हाम्रो देश गरिब राष्ट्र भएको हुनाले धेरै मानिसहरु ज्यालामजदुरीमा निर्भर छन् ।
यति बेला विश्व महामारी कोरोना भाईरस तथा कोभिड–१९ ले विश्वनै त्रसित अवस्थामा रहेको छ । कोरोना भाईरसले नेपालमा पनि धेरै नै संक्रमित भएका छन् भने कतिले त ज्यान गुमाईसकेका छन् ।
कोरोनाको त्रासले सबैलाई गाँजेको छ । नेपालमा कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा संक्रमणको दर उच्च हुुँदै गएको छ । संक्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि संक्रमण दर नियन्त्रण हुन सकेको छैन ।
कोरोना आफैमा यति धेरै शक्तिशाली छैनकी घरभित्र सुरक्षित बस्ने, भौतिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने र सरसफाई गर्ने व्यक्तिलाई कोरोनाले छुन सक्दैन र संक्रमण भैहालेमा पनि आईसोलेसनमा बसेर स्वस्थ खानपान र जीवनशैली अपनाएमा कोरोनाको संक्रमण जित्न सकिन्छ । तर, पहिल्यै विभिन्न समस्या भएका बिरामी, वृद्ध तथा बालबालिकालाई भने यसको संक्रमणले मृत्युको मुखमा समेत पुराउन सक्छ । तर सरकारले गरेको निशेधाज्ञा कोरोना संक्रमण नियन्त्रण गर्नको लागि राम्रो रणनीति हो तर निशेधाज्ञाका कारण सर्वहारा वर्गले हातमुख जोर्ने समस्यामा राज्यको सम्बोधन नहुनुमा लज्जास्पद देखिएको छ । भरियाहरु काम नपाएपछि साँझ–बिहानको हातमुख जोर्ने समस्याले उनीहरुलाई सताईरहेको छ ।
कोरोना नियन्त्रण गर्न सरकारले देशव्यापी लकडाउनको घोषणा गरेसंगै ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारहरुको लागि मरणतुल्य अवस्थामा पुर्याएको छ । कतिले त अकालमा गलत बाटो रोज्न पनि विवश भएका छन् । दिनभरि काम गरेर पेट पल्नेहरुका लागि पहिलो चरणको ३ महिना लामो समयसम्म लकडाउन हुँदा न सरकारी तबरबाट न निजी संघसंस्थाबाट केही सहयोग भएन । लकडाउनमा जेनतेन गुजारा चलाएर बाँच्न सफल भएर पलाएका ती आशाका त्यान्द्रो टुट्न थालेका छन् । राज्यले फेरि पनि एक्कासी दोस्रो चरणको बन्द गर्नुभन्दा पहिला ज्यालामजदुरी गरेर खानेहरुका लागि राहतको व्यवस्था गरेर मात्रै बन्द गर्नुपर्ने बेलामा राज्यले बल र लौरोको भरमा दमन गरिराखेको छ । यो कुराको पनि याद रहोस् कि सरकार एउटा लौरो र बलको भरले गरेको दमन धेरै दिन टिक्दैन । वाह ! प्रधानमन्त्री ज्यु, यहि हो तपाईहरुले भनेको गणतन्त्र, लोकतन्त्र । यो दमन देख्दा त तपाईहरुलाई प्रश्न गर्न मन लाग्छ कि कतै राणा शासन त होइन ? हामीलाई यो वर्ष विकासको नाममा अरु केही पनि चाहिदैन तर सडकमा रहेका बालबालिका, ज्याला मजदुरी गरेर खानेहरुलाई विशेष राहतको व्यावस्था गर र सम्पूर्ण आम नागरिकलाई निशुल्क कोरोना चेकजाँच गर सरकार ।
कोरोना राहत कोषमा करौडौ रुपैयाँ आएको छ भन्ने हामीले रेडियो, टेलिभिजन र पत्रपत्रिकामा सुन्ने देख्ने गरेका छौ, तर त्यो रकम खै कहाँ छ सरकार ? यो बन्द गर्नुभन्दा पहिला हजुरले एक पटक पनि सोच्नु भएन मेरा जनताहरु कुन अवस्थामा छन् भनेर ? हुनत ः तपाईंहरु जस्तो कुर्सीको लोभ भएकालाई हामी मजदुरी गरेर खानेहरुका लागि सोच्ने फुर्सद नै कहाँ छ होला र हैन प्रधानमन्त्री ज्यु ? तपाईहरु जनताको नेता होईन रहेछ, कुर्सीको नेता हुनुहुँदो रहेछ । यदि जनताको नेता हुनुहुन्थ्यो भने पक्कै पनि हाम्रो समस्या बुझ्नु हुन्थ्यो होला ।
हाम्रो देशमा पनि लोकतन्त्र, गणतन्त्र आयो भन्दा हामी हर्षले गदगद भएका थियौं । तर त्यो हाम्रो भ्रम मात्र रहेछ । लोकतन्त्र र गणतन्त्र नेताका छोराछोरीलाई आयो तर हाम्रो लागि कहिल्यै पनि आएन । हाम्रो लागि पनि आउँछभन्दा भन्दै आशाका सपनाहरु आँखामा नै हराएर गए । हाम्रा नेताहरूले हिजोका दिनमा जनतासामु खाएका वाचा कसम योजनाका कुराहरु यति छिट्टै भुल्छन् होला भन्ने त कल्पनासम्म पनि गरेको थिइन मैले । हिजो ती गरेका कुराहरु आज सब माटोमा बिलाएर गए ।
यहाँ हुनेखाने मानवता हराएकाहरु धर्म कमाउनको लागि रहरले खाना नखाई व्रत बस्छन् । तिनीहरु भने बाध्याताले खाली पेट पटुका कसेर बस्नुपरेको छ । कसैलाई रहर त कसैलाई बाध्याता । यदि एक छाक चामलको भात नखाएर धर्म कमाउने भएको भए तिनीहरुले सात पुस्तालाई पुग्ने धर्म कमाईसकेका छन् । एक हप्ता बन्द भनेर ३ महिनासम्म बन्द गरिरहँदा हामीलाई पनि १ दिन खाएर ३ महिनासम्म भोक नलाग्ने चामल बनाउ सरकार । यहाँ रोगले होइन भोकले मर्ने डर भएको छ ।
अन्तमा, हेर सरकार ‘सुनको थालीमा चाँदीको चम्चाले खाने तिम्रो अघाएको पेटले मेरो भोक बुझ्न सक्दैन । भोक के हो मेरो पेटलाई सोध, बाध्यता के हो मलाई सोध । म अघाउन हैन बाँच्नलाई खान चाहन्छु । स्वादका लागि हैन गाँसका लागि तड्पिरहेको छु । रोगको हैन सरकार भोक नलाग्ने औषधि देउ मलाई ।’
(अजिरकोट गाउँपालिका–५ गोरखाका देवकोटा हाल काठमाडौंको ढुंगेधारा वनस्थलीमा बस्छन् ।)





