
तनहुँ, २२ भदौ– तनहुँको ऋषिङमा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार दुर्घटना हुदाँ व्यास नगरपालिका–५ का ५५ बर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो । गम्भिर घाईते श्रेष्ठको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए ।
व्यासको चापाघाटबाट ऋषिङको खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप कच्ची सडकबाट करीब ७० फिट तल खोलामा खसेको थियो । जिपमा सवार यात्रु मृत्यु संस्कारमा भेटी लिएर गएका हुन् ।
दुर्घटनामा सात जना घाइते भएका छन् । जीप चालक म्याग्दे गाउँपालिका–७ का होमबहादुर श्रेष्ठ गम्भीर घाइते भएको उनले बताए । जीपले च्यापिएको अवस्थामा उद्धार गरेर उपचारका लागी दमौली अस्पताल ल्याईएको छ ।
दुर्घटनामा घाइतेमध्ये मधुसुदन श्रेष्ठ र सन्तकुमार श्रेष्ठलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ । अन्यको दमौलीमै उपचार भईरहेको छ ।





