सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गुरुकुलमा दलीतले पनि संस्कृत पढ्न पाउने बिषयमा सहमति

गुरुकुलमा दलीतले पनि संस्कृत पढ्न पाउने बिषयमा सहमति

साइवर र सार्वजनिक मुद्दामा पौडेल पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७७, बुधबार

बागलुङ, २४ भदौ– कुँडुलेस्थित मुक्तीनाथ वेद विद्याश्रमबाट बल्झेको विवाद समाधानका लागि प्रशासनले सहमति गराएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले विद्याश्रम, दलीत अगुवा र विद्यालय व्यवस्थापन समिति तथा स्थानीय बासिन्दासमेत राखेर एक आपसमा गालीगलौज नगर्ने सहमति गराएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले संविधानले दिएको अधिकार अनुसार जो सुकैले विद्यालयमा भर्ना गर्न र पढ्न पाउनुपर्ने, जातीय लान्छाना लगाउने गरी कुनै कुरा लेख्न, बोल्न र अभिव्यक्त गर्न नपाउने गरेको भेटिएमा कानून बमोजिम कारवाही गरिने निर्णय गरेको हो ।
बागलुङ नगरपालिका वडा नं. ४ का चन्द्रकान्त पौडेलले आँफूमाथी अभद्र व्यवहार भएको भन्दै अघिल्लो साता उजुरी दिएका थिए ।
त्यस्तै दलीत युवा संजालले जातीय बिभेद हुनेगरी अभिव्यक्ति दिएको र संस्कृत बिद्यालयमा दलीतका बालबालिकाले भर्ना हुन नपाएको उजुरी परेको थियो । विद्यालयले भर्ना खोलेको समयमा सबै जातजातीका बालबालिका भर्ना गर्न पाउने र अवरोध भए कानून अनुसार कारवाही गरिने पनि सहमति गरिएको न्यौपानेले बताए ।
विद्यालयमा शान्ति सुरक्षा कायम गर्ने, दलीत संघर्ष समितिमार्फत आम नागरिकलाई सहमती र सहकार्यको बारेमा सार्वजनिक सूचनामार्फत जानकारी दिने, सबै पक्षले आत्मआलोचना गरेर बिभेद र अभद्र व्यवहार नगर्ने, भातृत्व, सहकार्य र सहमतिका आधारमा अगाडि बढ्ने समेत निर्णय भएको हो ।
साथै, नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तीतर्फ पनि छलफल गरेर सामाजिक संजालमा कसैको पनि मानहानी हुने, दुव्र्यवहार देखिने वा अनुमतिबिनाका सामग्री प्रकाशन, प्रशारण गर्न नपाउने, त्यस्ता सामग्री शेयर गर्ने वा लाइक गर्नेलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउने निर्णय भएको प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले बताए ।
यसैबीच, बुधबारै बानपा–४ का युवा चन्द्रकान्त पौडेलविरुद्ध दुई मुद्दा परेका छन् । अधिवक्ता राम शर्मा र अभियानकर्मी साबित्री खड्काको भिडियो खिचेर रकम लेनदेन गरेको भन्ने अफवाह फैलाएको र सामाजिक संजालमा पोष्ट गरेको भन्दै खड्काले विद्युतीय अपराध सम्बन्धी मुद्दा दिएकी हुन् ।

पक्राउ परेका चन्द्रकान्त पौडेल । तस्विरः पौडेलको सामाजिक सञ्जालबाट

त्यस्तै, शर्मासहित पत्रकार राजेशचन्द्र राजभण्डारी, सुवास आचार्य र रामप्रसाद घिमिरेले सार्वजनिक अपराधको मुद्दासमेत दिएका हुन् । उनीहरुविरुद्व पनि केही दिनदेखि पौडेलले सामाजिक संजालमा गालीगलौज गरेर लेख तथा तस्बिर पोष्ट गरेका थिए । पौडेलले जिल्लाका पत्रकार, राजनीतिक दलका नेता र सामाजिक व्यक्तिको समेत अपमान हुने गरी सामाजिक संजालमा लेखिरहेका थिए ।
पौडेलले प्रधानमन्त्रीदेखि विभिन्न राजनेता, बागलुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख समेतलाई सामाजिक संजालमा अफवाह फैलने गरी भ्रामक सामग्री पोष्ट गरेको आरोप लागेको छ । धेरै क्षेत्रबाट विवाद आइसकेपछि प्रहरीले बुधबार पौडेललाई पक्राउ गरेको छ । पक्राउपछि प्रहरीले पौडेलको स्वास्थ्य परीक्षण गर्ने, उपचार गर्ने काम पनि थालेको हो ।
प्रजिअ न्यौपानेले सामाजिक संजालमार्फत जो सुकैलाई गालीगलौज, बेइज्जतीलगायतका क्रियाकलाप गरेकोले पक्राउ गरेर अनुसन्धान थाल्नुपरेको बताए । ‘उहाँ बिरामी पनि हुन सक्नुहुन्छ भनेर स्वास्थ्य परीक्षण पनि थालिएको छ’ न्यौपानेले भने, ‘कसैको पनि चरित्र हत्या हुने काम गर्नबाट रोक्न पनि खोजेका छौं ।’
सामाजिक संजाल दुरुपयोग गरेको मुद्दा महानगरिय प्रहरी प्रभाग काठमाण्डौले हेर्छ । अनुसन्धानको क्रममा रहेकोले आरोप पुष्टी भएमा उनी साइवर क्रइमको अपराधमा कारवाहीमा पनि पर्न सक्छन् । सार्वजनिक अपराधको मुद्दामा भने जिल्ला प्रशासन कार्यालयबाटै मुद्दाको छिनोफानो हुन्छ ।

 

वेद पढ्ने बाटो नरोक

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->