सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वेद पढ्ने बाटो नरोक

वेद पढ्ने बाटो नरोक


  • Dhorpatan News
  • भाद्र २१ २०७७, आइतबार

पूर्वका काले राईले वेदान्त अध्ययन नगरेको भए ? उनले वेदसहित सनातन धर्ममा विषयमा गहिरो सोध नगरिदिएको भए ? नेपालमा प्रचलित वैदिक संस्कृतिको एउटा पाटो अधुरै रहन्थ्यो । काले राई अर्थात् स्वामी प्रपन्नाचार्यले वेदको अध्ययन गरे । वैदिक संस्कारयुक्त जीवनपद्दति अंगाले र हिन्दुधर्मको रक्षामा विशेष योगदान दिए । संसारकै पुरातन शास्त्र वेदले कर्मको आधारमा मान्छेको वर्ण विभाजन गर्छ । मध्यकालीन ब्राह्मणवादी सोचलाई स्वीकार्दैन अनि वैज्ञानिकतालाई अंगिकार गर्छ । त्यसलै वेद सबैभन्दा उँचो स्थानमा छ । वैदिक कालकै दृष्टान्त हेर्ने हो भने, वेदका रचयिता व्यास स्वयं व्राह्मण परिवारका थिएनन् । उनी कर्मले व्राह्मण बनेका थिए । नारदलाई वेश्याका पुत्र मानिन्छ । अहिलेको समय हुन्थ्यो भने, नारद के सबैका पूज्य बन्न सम्भव थियो ? कल्पना गर्दा पनि आङ जिरिङ्ग हुन्छ । यी यावत् प्रसंगबाट पुष्टि हुन्छ, ‘वेदले कसैलाई उचनिच देख्दैन । कर्मको आधारमा उसको स्थान निर्धारण हुन्छ ।’ वेदलाई आधार मान्ने हिन्दु समाजमा यही व्यवस्था कायम रहनुपर्ने हो । तर, दुर्भाग्य व्राह्मणवादी सोचका कारण त्यो सम्भव भएन ।
कामको आधारमा भन्दा पनि जन्मको आधारमा जात निर्धारण गर्न थालियो । अमूक पुस्ताको अमूक व्यक्ति आफ्नो कर्मको कारण तल परेपछि उसका सन्तान, दरसन्तान सबै त्यही वर्गमा बस्नुपर्ने नियम बनाइयो । कतिसम्म भने, वेदलगायतका सबैका साझा ग्रन्थहरु अध्ययन गर्न, आफ्नो वृत्ति विकास गर्नबाटै वञ्चित गर्न थालियो । यसले समाजमा वर्ण विभेद खडा ग¥यो । मानिस–मानिसबीच भेदभाव गर्ने प्रवृत्तिको विकास भयो । आधुनिक समाजको कलंकको रुपमा रहेको छुवाछुतलाई प्रश्रय दिँदै हिन्दु धर्मकै बदनाम गराइयो । यो उपक्रम अहिले पनि केही धर्मका अगुवाबाट हुँदै आएको छ । यसको पछिल्लो कडी बागलुङको कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रममा संस्कृत र वेद पढ्न चाहने दलितहरुलाई निषेध गर्न खोजिएको घटनासँग जोडिएको छ ।
निश्चय पनि, वेद विद्याश्रममा संस्कृतको पढाई हुन्छ । संस्कृतप्रति आममानिसमा रुचि घट्दै गएको अवस्थामा त्यो विषयतर्फ जोकोही आकर्षित हुनु आफैमा स्वागतयोग्य विषय हो । जोकोहीले सानो मेहनतले संस्कृतको पढाई पार लगाउन पनि सक्दैन । तर, पढ्ने इच्छा भएका व्यक्तिहरुलाई जातकै आधारमा विभेद गर्न न संविधानले दिन्छ, न त वेद नै उनीहरुको बाटो छेक्छ । मध्ययुगीन जातीय संरचनाको धङ्धङ्गी वोकेकाहरुबाट दलित बालबालिकाको वेद पढ्ने चाहनामा अंकुश लगाइएको घटना निन्दनीय हो । वेद र संस्कृत कसैको पेवा हैन । वेद र संस्कृतलाई एउटा वर्गले पेवा ठानेकै कारण यसको समुचित विकास हुन नसकेको तथ्य ती मठाधीशहरुले पनि बुझ्नुपर्छ । संस्कृत सबैको लागि खुल्ला गरिनुपर्छ ।
अर्कोतर्फ, शिक्षा नैसर्गिक अधिकार हो । संविधानप्रदत्त अधिकार उपभोग गर्न सबै नागरिक स्वतन्त्र छन् । आफूले चाहेको, रोजेको र सामथ्र्यले भ्याउने विषय छनौट पनि व्यक्तिको अधिकार क्षेत्रभित्र पर्छ । माध्यमिक शिक्षासम्मको दायित्व संविधानतः राज्यकै हो अपितु सामुदायिक विद्यालयहरुले प्रवाह गर्ने शिक्षाको गुणस्तरका कारण आमनागरिक निजी स्कूलमा महंगो शुल्क तिर्न अभिषप्त छन् । सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षा दिन असमर्थ हुँदा राज्यकै अगुवाईमा दुईखाले नागरिक उत्पादन हुँदै आएको अवस्था छ । यो दुर्भाग्यपूर्ण अवस्थाको अन्त्य हुनुपर्छ र सबैलाई समान र गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्वबाट राज्य विमुख बन्न मिल्दैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->