सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

किन छाडे एमाले नेताहरूले छाडे ओली हटाउने अडान ?

किन छाडे एमाले नेताहरूले छाडे ओली हटाउने अडान ?

‘बहुमत पदाधिकारी ओलीले अत्याचार गरे, हटाउन पाए हुने भन्ने चाहन्छन्। तर, उनी आफैँ हटेनन् भने त अर्को उपायमा जानुपर्छ’


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८३, सोमबार
फाइल तस्वीर

काठमाडौं / फागुन २१ को चुनावी हारपछि नेतृत्व पुनर्गठनको माग राख्दै आएका नेकपा एमाले नेताहरूले आफ्नो अडान फेरेका छन्। उनीहरूले अहिले नै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने पक्षमा नरहेको बताएका छन्।

शनिबार विराटनगरमा एमाले महासचिव शंकर पोखरेलले अहिले पार्टी नेतृत्व परिवर्तनको पक्षमा आफू नरहेको बताए। जबकि उनै पोखरेलले साउनमा तयार पारेको पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमा भने ओलीले नेतृत्व छोड्नैपर्ने कुरा लेखेका थिए।  जसकारण अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट छन्।

तर भदौ ६ गते पोखरेलले नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिप्पणी वा बाहिरी छलफलबाट नहुने र त्यसका लागि पार्टीको संस्थागत प्रक्रिया पालना गर्नुपर्ने बताए। ओलीले नेतृत्व छोड्पर्ने किटान गरिएको प्रतिवेदन समेत पुनर्लेखन गरेर मात्र कार्यदलको बैठकमा पेस गरिने सचिव भानुभक्त ढकालले दाबी गरे।

यो बदलावको कारण के हो त ? 

नेताहरूका अनुसार यो भदौ ४ गते बेलुका ६ बजेदेखि आधारातसम्म ओलीनिवास गुन्डुमा भएको छलफलको परिणाम हो। जहाँ कार्यदलका पाँच जना र अन्य दुई नेता थिए।

वरिष्ठ उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव एवं कार्यदलका सदस्यसचिव शंकर पोखरेल, सचिव एवं कार्यदल सदस्यय भानुभक्त ढकाल, नेता प्रदीप ज्ञवाली र विष्णु रिमाल छलफलमा थिए। ओलीले पोखरेलले लेखेको प्रतिवेदन संशोधन गर्न भने।

‘प्रतिवेदन नै सही छैन, मलाई हटाउने रे। कहाँबाट हटाउने? विधानमा कहाँ लेखेको छ?’ गुन्डु छलफलमा सहभागी एक पदाधिकारीले भने, ‘त्यसकारण यो प्रतिवेदन पूरै पुनर्लेखन गर्नुपर्छ।’

तर, महासचिव पोखरेल तयार भएनन्। उनले तल्लो तहबाट आएका सुझावलाई जस्ताको त्यस्तै राखेको बताए।

‘प्रतिवेदनमा अध्यक्षको प्रशंसा छैन, तल्लो तहबाट जे आयो त्यसैलाई समेटेका छौँ। त्यो प्रतिवेदन नस्वीकार्ने हो भने पार्टी बन्दैन फेरि,’ उनले ओलीलाई जवाफ फर्काए।

एमालेमा नेतृत्व फेर्ने विधि नभएको होइन। केन्द्रीय कमिटीले निर्णय गरेर विशेष महाधिवेशनले हटाउन सक्ने प्रावधान रहेको नेताहरू बताउँछन्। यसबारे महासचिव जानकार नहुने कुरै भएन।

सचिव भानुभक्त ढकालका अनुसार अध्यक्ष ओलीले सबै पदाधिकारीलाई पार्टीभन्दा देशको अवस्था जटिल रहेको बताए। त्यो कुराले नेताहरू एकताबद्ध हुने माहोल बन्दै गएको उनले दाबी गरे।

‘चुनौतीहरूको सामना गरेर जानुपर्छ। अप्ठेरो बेला पार्टीभित्र कतिपय सानातिना कुराहरू छन् भने पनि ती भन्दा राष्ट्रले अहिले बेहोरिरहेको विषम स्थितिको समाधान गर्नेगरी हामी जानुपर्छ भनेर अध्यक्षले भन्नुभयो,’ सचिव ढकालले भने, ‘यसमा गुण्डु पुगेका सबै नेताको एकैमत हुनुभयो।’

चुनावी परिणामपछि ओलीले राजीनामा दिनुपर्ने पक्षमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसहित बहुमत बढी सदस्य उभिएका थिए। सचिवालयमै अल्पमतमा परेपछि ओली चुनावी समीक्षा र पार्टी पुनर्गठनका विषयमा प्रतिवेदन तयार पार्न वरिष्ठ उपाध्यक्ष थापाको संयोजकत्वमा जेठ १० गते १५ सदस्यीय कार्यदल बनाउन बाध्य भएका थिए।

कार्यदल प्रदेश–प्रदेश पुग्यो। पार्टीका प्रदेश कमिटी, विभिन्न विभाग, जनसंगठन र तल्ला तहका नेताहरूसँग सुझाव लियो। चुनावमा एमाले किन पराजित भयो भन्ने प्रश्नबाट सुरु गरिएको छलफल कसरी चलाउने भन्ने उत्तर खोज्नसम्म पुग्यो।

कतिपयले पार्टीको राजनीतिक, वैचारिक र सांगठनिक पुनर्गठन गर्नुपर्ने बताए। कतिपयले नेतृत्व हस्तान्तरणको सुझाव दिए। विशेष महाधिवेशनको कुरा पनि उठ्यो।

कार्यदलले १२ ठाउँमा छलफल गरेपछि चुनावी हारमा सबै पदाधिकारी जिम्मेवार रहेको निष्कर्ष निकालेको थियो। केही नेताले ओलीलाई मुख्य जिम्मेवार मानेर नेतृत्व हस्तान्तरणको माग गरे।

कार्यदलले सुझाव संकलन सकेपछि प्रतिवेदन लेख्ने जिम्मा संयोजक बादल र महासचिव पोखरेललाई दियो। पोखरेलले प्रतिवेदन तयार पारे। जसमा जेनजी आन्दोलन र चुनावमा पराजित भएको जिम्मा लिँदै पद त्याग गर्न सुझाव दिइएको छ।

ओलीले प्रतिवेदनमा असन्तुष्टि जनाए। त्यसलाई व्यापक रूपमा संशोधन गर्न भने। संयोजक थापा मार्फत पनि संशोधन गर्न लगाए।

तर, महासचिव पोखरेल यसमा तयार भएका छैनन्। जसकारण प्रतिवेदन रोकिएको छ। कार्यदलको बैठक बस्न सकेको छैन। बरु ओलीले आफ्नो राजीनामा माग्नेलाई ‘आवारा’ भने।

‘अध्यक्षले महासचिवलाई प्रतिवेदन संशोधन गर्नु भनेर भन्नुभयो, तर उहाँले मान्नु भएन,’ गुरुङले भने।

अब प्रतिवेदन के हुन्छ त? यसबारे कार्यदलमा छलफल हुने उनको भनाइ छ। तर, सचिव एवं कार्यदल सदस्य ढकाल भने अहिलेको प्रतिवेदन पुनर्लेखन नै हुने ठोकुवा गर्छन्।

‘प्रतिवेदन आउँछ। त्यो प्रक्रियामा छ। अहिलेसम्म प्रतिवेदन तयारी भएर आएको छैन। अब पाइलैपिच्छे परिमार्जन हुन्छ, समृद्ध भएर आउँछ,’ उनले थपे।

पोखरेलले तयार पारेको प्रस्ताव तलबाट आएका सुझाव मात्र भएको ढकाल बताउँछन्।

‘अब त्यसलाई परिमार्जन गरेपछि मात्र कार्यदलमा आउँछ, कार्यदलका साथीहरूले केही सुझाव दिन्छन्। त्यसपछि सचिवालयमा जान्छ। सचिवालयले राय परामर्श दिन्छन्। त्यहाँ थप समृद्ध हुन्छ। अनि त्यो केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदनका रुपमा जान्छ,’ उनी भन्छन्।

उनका अनुसार गुन्डुमा प्रतिवेदन र पार्टी जीवनको बारेमा छलफल भएको हो। जुन प्रभावकारी भयो।

त्यही छलफलपछि नेताहरू अध्यक्ष हटाउने कुराबाट पछि हटेको ढकालले दाबी गरे।

‘त्यही आधारमा महासचिवले हिजो विराटनगरमा बोल्नुभयो। प्रदीप ज्ञवाली कमरेडले पनि त्यही अनुसार बोल्नुभयो। पृथ्वीसुब्बा कमरेडले पनि त्यही स्पिरिट अनुसार बोल्नुभयो। यी सम्हालिएका कुरा बाहिर आइरहेका हुन्,’ उनले भने।

ओलीले नेतृत्व छोड्नुपर्ने पक्षमा उभिएका अर्का एक नेताले पनि अहिले नीतिगत सुधारमा जोड दिनुपर्ने अवस्था बनेको बताए।

‘बहुमत पदाधिकारी ओलीले अत्याचार गरे, हटाउन पाए हुने भन्ने चाहन्छन्। तर, उनी आफैँ हटेनन् भने त अर्को उपायमा जानुपर्छ,’ ती नेताले भने, ‘अवैज्ञानिक ढंगले जिम्मेवारीबाट फालेपछि त पार्टीमा विद्रोह आउँछ। पार्टी फुट्यो भने त सकिइगयो।’

‘त्यही भएर तत्कालका लागि संगठन अगाडि बढाउने, पद्धति बनाउने गरियो भने मिल्छ। यो भन्दा अरु उपाय छैन अहिले,’ ती नेताले थपे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->