बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

निर्विरोध हुन पाएनन् गगन, आज मतदान हुँदै

निर्विरोध हुन पाएनन् गगन, आज मतदान हुँदै

उम्मेदवारको अन्तिम नामवलीसहित


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८३, बिहिबार

काठमाडौं / नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १० बजेदेखि मतदान सुरु हुन लागेको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले दिएको जानकारीअनुसार आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने गरी सम्पूर्ण तयारी मिलाइएको छ ।

सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावली अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दाबी-विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरी असोज २१ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको हो। महाधिवेशन कार्यतालिका अनुसार निर्वाचन असोज १६ देखि २२ गतेसम्म सम्पन्न हुँदैछ।

उपसभापति र महामन्त्रीमा रोचक भिडन्त

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएसँगै बाँकी पदाधिकारी पदमा भने कडा प्रतिस्पर्धा हुने देखिएको छ।

खुलातर्फको २ उपसभापति पदका लागि ७ जना चुनावी मैदानमा छन्। जसमा गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा.डा. चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, ई. मधु आचार्य र सुरेन्द्रराज पाण्डे रहेका छन्।

यस्तै, समावेशी उपसभापति (१ पद) का लागि जीवन परियार, फरमुल्लाह मन्सुर, विनोदकुमार चौधरी, रञ्जीत कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन्।

महामन्त्री खुला (२ पद) का लागि अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर तिवारी, डा. सन्तोष उपाध्याय र डा. सुनिलकुमार शर्मासहित ८ जना मैदानमा उत्रिएका छन्।

महिला महामन्त्री (१ पद) का लागि डा. डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालबीच त्रिपक्षीय भिडन्त हुनेछ। केन्द्रीय सदस्यतर्फ काठमाडौं उपत्यका महिला (१ पद) मा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्।

यस्तै, खुला केन्द्रीय सदस्य (४५ पद) का लागि ८९ जना, महिला खुला (१५ पद) का लागि ३६ जना, खसआर्य खुला (१० पद) का लागि ३८ जना तथा अन्य समावेशी, भूगोल र प्रादेशिक क्लस्टरका सदस्य पदहरूमा सयौँ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यस्तो छ उम्मेदवारको अन्तिम नामवली :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->