पर्वतको बिहादी गाउँपालिकाले हल गोरु तथा लैनो गाईका निम्ति भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । रैथाने गाई–गोरु मासिँदै गएपछि संरक्षणका निम्ति पालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार र रैथाने लैनो गाईका निम्ति २ हजार ५ सय नगद दिने निर्णय गरेको हो । । हलगोरु पालेको प्रमाणिकरण वडाले गर्नेछ भने गाई संरक्षण कार्यक्रमअन्तर्गत कृषकको निवेदन,वडा कार्यालयको सिफारिस, लैनो गाईको बाच्छा÷बाच्छीसहितको फोटो तथा नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि पेस गर्नुपर्ने प्रावधान राखिएको छ । प्रावधान जे रहे पनि प्रोत्साहनबाट रैथाने जातका गाई संरक्षण हुने, बाँझो खेतबारी जोत्नका निम्ति गोरुको प्रयोग बढ्ने र समग्रमा यसले उत्पादकत्व बढाउने अपेक्षा राखिएको छ ।
नेपालमा पछिल्लो समय रैथाने गाईगोरु र भैंसी घटेर गएका छन् । खेतबारी बाँझो राख्ने तथा दूधका निम्ति उन्नत जातका भैंसी र गाईहरू पाल्ने प्रचलन बढेपछि यो अवस्था आएको हो । दूध उत्पादन बढे पनि उन्नत जातका आयातित गाईभैंसीका कारण नेपालका परम्परागत पशुपालन अनि खेती प्रणाली बिथोलिन पुगेको छ । रैथाने जात हराउँदै जाँदा औषधीय गुण भएको दूध पनि मान्छेको मुखमा पर्न छाडेको छ ।
अछामतिर पाइने सानो काठीको नौमुठे,हिमाली भेगमा पाइने लुलु,पूर्वी पहाडमा हुने सिरी,सुदूरपश्चिम क्षेत्रको खैला,गण्डकीसहित पहाडी भेगमा पाइने पहाडे गाई, तराई गाई र याक÷चौंरी नेपालमा पाइने गाईका प्रजातिहरू हुन् ।भैंसीको हकमा चाहिँ नेपालमा लिमे,पार्कोटे,गड्डी र तराई जात रहेका छन् । रैथाने जातका गाई–भैंसीमा तत् स्थानको वातावरण पचाउने,प्रतिकूल अवस्थामा पनि बाँच्न सक्ने,कठिन भूगोलमा चर्न सक्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । रैथाने जातका बहरलाई साँघुरा खेतका गह्रामा पनि सजिलै जोत्न सकिन्छ भने यी जातका गोरुको जुरोले जूवा अड्काउने काम गरिदिन्छ । आयातीत गोरुको हकमा त्यस्तो सुविधा हुँदैन । उन्नत जातका भनिएका र आयातीत गाईबाट जन्मने बहरहरु न जोत्न काम लाग्छन्, न त्यसको मासु खान मिल्छ ।
बहर जन्मनासाथ कि बढी दूध खुवाएर मृत्युको मुखमा पु¥याउने र होइन भने ठूलो भएपछि बाटोमा छाड्ने प्रवृत्ति बढ्नुको कारण पनि त्यही हो । परम्परागत कृषि प्रणाली नेपाली अर्थतन्त्रको आधार हो । नेपालको भूगोलमा पूर्ण यान्त्रिकीकरण सम्भव छैन । साँघुरो खेतबारीका गह्रामा मेसिन चलाउनुभन्दा गोरुले जोत्नु राम्रो हुन्छ । यसले जैविकता संरक्षण एवं परम्परागत खेती अनि पशुपालनलाई पनि जोगाउँछ; स्थानीय जातका गाईको संख्या बढ्दा पशु सम्पदाको संरक्षण, कृषकको आम्दानी वृद्धि र कृषि प्रणालीको दिगोपनमा पनि सहयोग पुग्छ । अतः बिहादीको सत्प्रयास सराहनीय छ ।




