हिमाल, पहाड र नदीका कारण म्याग्दीको रघुगंगा गाउँपालिकामा विकासका दृष्टिले चुनौतीपूर्ण भूगोल छ । विकट बस्ती, कठिन भौगोलिक अवस्था र सीमित स्रोत, साधनका बीच पनि गाउँपालिकाले पछिल्ला ९ वर्षमा विकासका गतिविधिलाई तीव्रता दिएको छ । अध्यक्ष भवबहादुर भण्डारी नेतृत्वको दोस्रो कार्यकाल अन्तिम वर्षमा पुग्दा गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, पर्यटन, कृषि, विद्युत्, लघुउद्यम र विपद् व्यवस्थापनका क्षेत्रमा गरेका कामको सकारात्मक प्रभावको अनुभव गाउँ गाउँमा देखिन थालेको छ ।
भण्डारीको पहिलो कार्यकालको ५ वर्ष र दोस्रो कार्यकालका चार वर्षमा रघुगंगा गाउँपालिकाले सडक, झोलुंगे पुल, विद्यालय, स्वास्थ्य संस्था, खेलमैदान, खानेपानी, पर्यटन, विद्युत्, सामुदायिक भवन, कृषि, लघुउद्यम र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा व्यापक लगानी गरेको विवरणले देखाउँछ । विकट भूगोलका कारण विकासको गति चुनौतीपूर्ण भए पनि गाउँ–गाउँमा पुगेका पूर्वाधार, आधारभूत सेवा विस्तार र आयआर्जनमुखी कार्यक्रमले रघुगंगाको विकास यात्रामा नयाँ आधार निर्माण गरेको छ । अब कार्यकालको अन्तिम वर्षमा प्रवेश गरेको गाउँपालिकाले सुरु गरिएका योजना समयमै सम्पन्न गरी दीर्घकालीन उपलब्धिमा रूपान्तरण गर्नुपर्ने अपेक्षा स्थानीयले गरेका छन् ।
वडा नं. १ : सडक बने, अस्पताललाई जग्गा
वडा नम्बर १ बेगमा ९ वर्षको अवधिमा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको छ । तिप्ल्याङ–बतासे बस्ती मोटरबाटो निर्माण, तिप्ल्याङ–बाँदुक मोटरबाटो स्तरोन्नति, बेगखोलादेखि बेग जाने सडक, राखु भगवती–सिरुबारी सडक, पञ्चासे–सिम फाँट सडक, सेउलेचोक–तुसारे–बाउन स्वारा बस्ती सडक, बेग–धूपीरुख–घातपा गाउँबाहिर सडक तथा ओखले–बदेनी सडक निर्माणले आवागमन सहज बनाएको छ । राखु–बेग मोटरबाटो पनि स्तरोन्नति भएको छ ।
सामुदायिक क्षेत्रमा तिप्ल्याङ भिसी युवा क्लबको खेल मैदान र स्टेज, देउराली युवा क्लबको स्टेज र खेल मैदान, पार्वती युवा क्लबको स्टेज तथा खेल मैदान निर्माण गरिएको छ । वडा कार्यालयका लागि जग्गा व्यवस्थापन गरी भवन तथा सभाहल बनेका छन् भने महिला सहकारी भवन निर्माणमा सहयोग, तीन टोलमा सभाहल निर्माण भएका छन् । कालिका आधारभूत स्कुलमा कक्षा १० सम्म सञ्चालन गर्न आवश्यक कक्षाकोठा बनेका छन् । जंगलमै बसोबास गर्दै आएका दुई दाजुभाइलाई घर निर्माण गरेर स्थानान्तरण गरिएको छ । बाँदुकबाट आउजाउ असहज भएकाले स्वास्थ्य इकाइ स्थापना गरी कर्मचारी व्यवस्थापन गरिएको छ ।
पूर्वाधार विकासमा दास–दोसल्ले झोलुंगे पुल, ओखले झोलुंगे पुल, फाँट–लिस्ने झोलुंगे पुल मिलन म्याग्दीसँगको सहकार्यमा निर्माण गरिएका छन् । बेग–बाँदुक झोलुंगे पुलका दुवै किनारमा पक्की पदमार्ग निर्माण गरिएको छ । बेगमा १० बेडको अस्पताल निर्माणका लागि ७ रोपनी ८ आना जग्गा निःशुल्क व्यवस्थापन भएको छ । बेगमा अन्तिम संस्कारलाई सहज बनाउनका लागि घाट निर्माण गरिएको छ ।
वडा नं. २ : सडक, शिक्षा र पर्यटन पूर्वाधार विस्तार
वडा नम्बर २ भगवतीमा २३ शाखा सडक निर्माण तथा स्तरोन्नति गरिएको छ । मुख्य सडक २ किलोमिटर ढलान, शाखा सडकको १ किलोमिटर ढलान तथा वडा कार्यालय जाने सडक ढलान गरिएको छ । पुलाथर खोलासम्म ढल निकास, धूपीचौर–बाख्रेनी डिलसम्म ढल निकास तथा विभिन्न स्थानमा खानेपानी टंकी निर्माण गरी ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत तीन सयभन्दा बढी धारा निर्माण गरिएको छ ।
वडा भवन, सभाहल, कोल्ड स्टोर, स्वास्थ्य चौकीमा बैठक कक्ष र आवास निर्माण, मुक्तिधाम माविमा १२ कोठे भवन, कृषि धारको छात्रावास, सिद्धार्थ ज्ञान मन्दिर माविको भवन, अन्नपूर्ण आवि, देउराली आवि र धवलागिरी आविका भवन निर्माण भएका छन् । राम मन्दिरको दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाइका लागि जग्गा व्यवस्थापन, भवन निर्माण र सेवा सञ्चालनमा छ ।

लेखक
मासखर्क, भीरमुनि, ओखरोट, खहरेखोला, भगवती युवा क्लब, धूपीचौर, साझा पानी युवा क्लब र देपूर्ण खेलमैदान निर्माण तथा स्तरोन्नति गरिएको छ । जैसीखोर आमा समूह, साझापानी सिर्जनशील आमा समूह, ढुंगेधारा आमा समूह तथा शीतडाँडा आमा समूहका भवन निर्माण भएका छन् भने ढिकी–जाँतो संरक्षणका लागि बजेट विनियोजन गरिएको छ ।
धार्मिक तथा पर्यटन पूर्वाधारतर्फ भगवती दुर्गा मन्दिर निर्माण, ताराखसे भ्युटावर, प्रतीक्षालय, वनभोज स्थल, शौचालय र प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । भगवती दुर्गादेवी मन्दिर परिसरमा रेलिङ, हिमालय गौरीशंकर मन्दिरमा ढुंगा बिछ्याउने र रेलिङ निर्माण गरिएको छ । रुइसेदेखि हातजोड्नेसम्म पर्यटन पदमार्ग बनेको छ ।
खङ्कमारे, रिवाङ, धारापानी र भेडीओडारमा पोखरी निर्माण गरिएका छन् । खानपानी, नाग्ने, घट्ट तथा मासखर्क क्षेत्रमा पहिरो नियन्त्रण गरिएको छ । गनाखे क्षेत्रमा औद्योगिक ग्राम बनाउन ३२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ भने थापा टोल हुँदै गनाखे, धारापानी, कालीमाटी, बाख्रेनी डिल, खाल्टे, रुइसे र रिमासम्म विद्युत् विस्तार भएको छ ।
वडा नं. ३ : प्रशासनिक केन्द्रदेखि होमस्टेसम्म
वडा नम्बर ३ पिप्लेमा सडक विस्तारमा उल्लेखनीय काम भएको छ । झाँक्रे गाउँपालिका सडक, मालिका अल्छेढुंगा सडक, गाउँपालिका–अल्छेढुंगा–भगवती सडक, अक्षेता–कलेजाबाङ सडक स्तरोन्नति, अक्षेता–महतारे–मालुवा ओडार सडक, चौरेल टोल–प्रहरी चौकी सडक, गलेश्वर–दशमुरे–मिलनचोक सडक, सेतीपोखरा–गलेश्वर सडक, रानीपौवा–तुसारेपानी–बैसरी सडक, रानीपौवा–वखन–गौडा–भीरपाटा सडक, कलेजाबाङ–रुइसे सडक, ठूलोपाखा–गैरीगाउँ–एकघर सडक लगायतका सडक निर्माण तथा स्तरोन्नति गरिएका छन् ।
खेलकुदतर्फ रानीपौवा, मिलनचोक–दशमुरे, मौवाफाँट, चौरेलटोल, फूलबारी, कलेजाबाङ, अक्षेता, मालिका युवा क्लब तथा दुलेपानी युवा क्लबका खेलमैदान निर्माण तथा विस्तार गरिएका छन् । क्लबका लागि आवश्यक बास्केटबल बोर्ड व्यवस्थापन गरिएको छ भने दुलेपानीमा समाजघर र शौचालय बनेका छन् ।
मालिकादेवी विद्यालयमा कक्षाकोठा र शौचालय निर्माण, पिप्ले स्वास्थ्य ल्याब स्थापना, रघुगंगा माविमा खेलमैदान, गेट तथा संरक्षण, बालबालिकाका लागि चिल्ड्रेन पार्क, पातिकान्ला स्वास्थ्यचौकी निर्माण र सञ्चालन, हिमालय आधारभूत विद्यालय भवन निर्माण, ज्ञानोदय माविमा दृष्टिविहीन कक्षाकोठा, कम्प्युटर व्यवस्थापन, थप चार कोठा र पुरानो भवन मर्मत, अमरसिंह आवि भवन निर्माण तथा बार निर्माण गरिएको छ ।
गाउँपालिकाको १४ रोपनी जग्गा व्यवस्थापन गरी बहुउद्देश्यीय सभाहल तथा प्रशासनिक भवन निर्माण गरिएको छ । प्रहरी चौकीका लागि तीन रोपनी जग्गा व्यवस्थापन गरिएको छ । मौवाफाँट मगर समाज भवन, कोसेलीघर, फलामेडाँडा आमा समूह भवन, रानीपौवा दुर्गादेवी मन्दिर, विष्णुपञ्चांग मन्दिर परिसर व्यवस्थापन, गायत्री मन्दिर संरक्षण तथा क्वाटर निर्माण, गलेश्वर पहिरो संरक्षण, तिल्किनी बस्ती र घाट संरक्षण, घुमाउने ताल क्षेत्रमा कालीगण्डकी नदी नियन्त्रण गरी बस्ती संरक्षण जस्ता काम भएका छन् ।
मुख्य सडकदेखि गाउँपालिका जाने सडक ढलान गरिएको छ । पिप्लेमा ट्रेनिङ सेन्टरमा वडा कार्यालय सञ्चालन गर्ने तयारी छ ।
वडा नं. ४ : तातोपानी कुण्ड संरक्षण
वडा नम्बर ४ दग्नाममा ९ वर्षको अवधिमा सडक विस्तारलाई प्राथमिकतामा राखिएको छ । दोभान भीर–दर्मिजा सडक, पानाकोट–कान्छिगाउँ सडक, कुम्भखोलादेखि नाइदेवी आमा समूह भवन हुँदै जनता माविसम्म पुग्ने सडक, अधेरीखोलादेखि बुक्ल सडक तथा दग्नाम–दर्मिजा मुख्य सडक निर्माण गरिएको छ । निकै अप्ठेरो अजिंगर भीरमा संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक विस्तार भएको छ । यससँगै गाउँदेखि खरबारीसम्म रेलिङसहितको गोरेटो निर्माण भएको छ ।
खेलकुदतर्फ एकता युवा क्लबको खेलमैदानमा लागत साझेदारी गरिएको छ भने कान्छिगाउँ क्लबको खेलमैदान र स्टेज निर्माण गरिएको छ । दर्मिजा युवा क्लबको खेलमैदान, स्टेज तथा घेराबार पनि साझेदारीमा गरिएको छ । गाजर खानेपानी योजना निर्माण, दग्नामका सबै टोल जोड्ने गोरेटो बाटो, दग्नाम–नागी सिद्ध पदमार्ग, दर्मिजादेखि तातोपानी कुण्ड जाने गोरेटो स्तरोन्नति तथा दर्मिजाबाट नागी सिद्ध जाने अर्को पदमार्ग बनेको छ ।
तातोपानी कुण्ड संरक्षण गरी धार्मिक तथा पर्यटकीय सम्भावनालाई थप व्यवस्थित बनाउने प्रयास गरिएको छ । जनता माविमा शौचालय निर्माण, शिव आविको भवन निर्माण, स्वास्थ्य चौकीका लागि जग्गा व्यवस्थापन, भवन निर्माण तथा सञ्चालन गरिएको छ । अर्को स्वास्थ्य इकाइका लागि पनि जग्गा व्यवस्थापन गरी भवन निर्माणपछि सेवा सञ्चालनमा आएको छ ।
नागीदेवी आमा समूह, कान्छीगाउँ आमा समूह तथा दर्मिजा सभाहल बनेका छन् । कुम्भखोला खानेपानी मर्मत, दर्मिजा गाउँमा ढल निकास, गोरेटो ढलान, लघुजलविद्युत् मर्मत तथा दर्मिजामा वाइफाइ व्यवस्थापन गरिएको छ ।
वडा नं. ५ : पर्यटनसँगै कृषि र खेल पूर्वाधार
वडा नम्बर ५ झिँमा स्वास्थ्य चौकीका लागि जग्गा व्यवस्थापन, भवन निर्माण तथा सेवा सञ्चालन गरिएको छ । युवा क्लबको खेलमैदान, स्टेज र हेलिप्याड निर्माण गरिएको छ भने झिँ गाउँदेखि टोड्केसम्म रेलिङसहितको गोरेटो बाटो र सडक निर्माण गरिएको छ । वाखेत सिमानादेखि पाखापानीसम्म सडक, घ्यांग्री खोलादेखि गौरव आवि–फूलडाँडा बस्ती मोटरबाटो तथा ढाँडखर्क–माइथान सडक निर्माण गरिएको छ ।
ढाँडखर्क–पाखापानी सडक निर्माणसँगै महेन्द्र माविको भवन तथा शौचालय निर्माण गरिएको छ । वडा कार्यालयका लागि जग्गा व्यवस्थापन गरी सभाहलसहितको भवन बनेको छ भने झिँ समाजघर निर्माणमा सहयोग गरिएको छ । टोड्केमा चिल्ड्रेन पार्क, खानेपानी व्यवस्था र शौचालय निर्माण गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हाइ अल्टिच्युड खेल मैदान निर्माण सुरु गरिएको छ । बेनी नगरपालिका–१०, पात्लेखेत र रघुगंगा गाउँपालिका–५ को सिमानामा स्वागतद्वार निर्माण गरिएको छ । टोड्केमा कुकिज उत्पादन गर्ने मेसिन वितरण गरिएको छ । झिँ क्षेत्रका मन्दिरहरू मर्मत गरिएको छ । कृषि उत्पादनको बजारीकरण सहज बनाउन कोल्डस्टोर निर्माण गरिएको छ ।
वडा नं. ६ : झोलुंगे पुल र खानेपानीमा जोड
वडा नम्बर ६ पाखापानीमा शिक्षा, स्वास्थ्य, सडक र खानेपानीका धेरै काम भएका छन् । फूलडाँडा आमा समूह भवन, अमर माध्यमिक विद्यालयको भवन, शौचालय, घेराबार तथा कम्प्युटर प्रयोगशाला निर्माण गरिएको छ । जनआदर्श आवि कोटगाउँ भवन साझेदारीमा निर्माण गरिएको छ भने रायखोर आविको भवन मर्मत तथा शौचालय निर्माण गरिएको छ । मुलपानी बाल विकास केन्द्र सञ्चालनमा ल्याइएको छ ।
सडकतर्फ फूलडाँडा–औल–हरि आविसम्म डेढ किलोमिटर सडक, पाखापानी–औल–ढाँडखर्क सडक, फूलडाँडा–पाखापानी–ठाडाखानी सडक स्तरोन्नति, कमानत–कोटगाउँ–कालोमोडा–उल्लेरी–रायखोर मोटरबाटो तथा कालोमोडा डाँडाबाट तल्लो बस्ती जाने मोटरबाटो निर्माण गरिएको छ । औल खेलमैदान, रायखोर खेलमैदान, सनराइज युवा क्लब कोटगाउँको स्टेज तथा खेलमैदान, पाखापानी गाउँ खेलमैदान निर्माण गरिएको छ । पाखापानी गाउँभित्र गोरेटो बाटो, झिकरुक–शिव आवि पदमार्ग, फूलडाँडा–झाँक्री मन्दिर, पाखापानी–बुजेक–तातोपानी कुण्ड जाने गोरेटो बाटो निर्माण गरिएको छ ।
ठाडाखानीमा खेलमैदान, स्टेज, बत्ती व्यवस्थापन, समाजघर तथा सामुदायिक स्वास्थ्य इकाइका लागि जग्गा व्यवस्थापन गरी भवन निर्माण र सेवा सञ्चालन गरिएको छ । ठाडाखानी–मालिका मन्दिर मोटरबाटो निर्माण गरिएको छ । बृहत् घोप्टेखोला खानेपानी आयोजनामा साझेदारी गरी पानी व्यवस्थापन गरिएको छ भने वडा नम्बर ६ मा एक घर, एक धारा कार्यक्रम लागू गरिएको छ ।
पूर्वाधारतर्फ चिमखोला बगर खोलाबाट रायखोर जाने गोरेटो बाटो, ठाडाखानी–लापु झोलुंगे पुल, रायखोर–चिमखोला झोलुंगे पुल, मुलपानीको तारेखोलामा झोलुंगे पुल तथा बुजेक–दर्मिजा झोलुंगे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ । मालिकादेवी आविको स्तरोन्नतिमा सहयोग गरिएको छ । पाखापानीदेखि कोटगाउँ, कालोमोडा, उल्लेरी, रायखोर, मुलपानी, ठाडाखानी, रातोमाटे, बुजेक, पुतपुत र कालाबाङसम्म विद्युतीकरण भएको छ । कोटगाउँ–कालोमोडा खानेपानी व्यवस्थापन पनि गरिएको छ ।
वडा नं. ७ : पूर्वाधारसँगै सेवा विस्तार
वडा नम्बर ७ चिमखोलामा अमर माविको भवन निर्माण, खेलमैदान ढलान, शौचालय निर्माण तथा कम्प्युटर खरिद गरी सञ्चालनमा ल्याइएको छ । सिद्ध आविको शौचालय र खेलमैदान मर्मत गरिएको छ भने पहिरोको जोखिममा रहेको चिमखोला आवि स्थानान्तरणका लागि नयाँ भवन निर्माण गरिएको छ । पात्लेखेत, मलाङ र लामेलामा जग्गा व्यवस्थापन गरी सामुदायिक स्वास्थ्य इकाइ तथा स्वास्थ्यचौकी भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको छ ।
मण्डनथान परिसरमा घेराबार र गेट निर्माण गरिएको छ । तिप्ल्याङडाँडादेखि फुस्र्याङ हुँदै रातोमाटा–जस्लबाङ मोटरबाटो निर्माण तथा धमाकुदेखि पात्लेखेत सडक स्तरोन्नति गरिएको छ । ढिकीजाँतो संरक्षण, शौचालय निर्माण, बगरखोला बस्ती संरक्षणका लागि खोला नियन्त्रण तथा गाउँ संरक्षणका लागि ग्याबिन जाली र ढल निकास निर्माण गरिएको छ ।
चिमखोला–सिस्नेरी झोलुंगे पुल, सिस्नेरी–रायखोर पुल, दुईवटा काठे पुल तथा नक्कलडाँडाबाट मुलपानी तर्ने पुल निर्माण गरिएको छ । सबै बस्तीमा केन्द्रीय विद्युत् लाइन विस्तार गरिएको छ भने चिमखोला टेलिफोन टावर सञ्चालन सहज बनाउन पुस्ताडाँडामा गार्ड र जेनेरेटर राख्ने भवन निर्माण गरिएको छ ।
मण्डली युवा क्लब र पात्लेखेत खेलमैदान निर्माण, गाउँको बीचमा हेलिप्याड, नक्कलडाँडा–नाममेला–मंगले गाउँ मोटरबाटो, छित्रुङ वन क्षेत्रमा घेराबार, मण्डली आमा समूह भवन, खानेपानी व्यवस्थापन, चिमखोला–सेवाङ–भुमेथान गोरेटो, सोवाङ धुरी पैदलमार्ग, गौडामुनी र नाममेला खेलमैदान निर्माण गरिएको छ ।
वडा नं. ८ : हेलिप्याडदेखि सडकसम्म
वडा नम्बर ८ कुइने मंगलेमा उमिधुरी–कुइने गाउँ मोटरबाटो, केसराखोला झोलुंगे पुल, सामुदायिक स्वास्थ्य इकाइ स्थापना, समाजघर तथा लघुविद्युत् निर्माण गरिएको छ । खरिबोट आमा समूह भवन, खेलमैदान र घेराबार साझेदारीमा निर्माण गरिएको छ भने याङ्ले बस्ती संरक्षण र झोलुंगे पुल निर्माण गरिएको छ ।
चिमखोला–खरिबोट–पात्लेखर्क सडक, घ्यासीखर्क–चौरखानी सडक, दुलेखर्क–मंगले गाउँ सडक तथा द्वारी–ढाँडगाउँ मोटरबाटो निर्माण गरिएको छ । स्वास्थ्य चौकी घेराबार, संरक्षण र हेलिप्याड निर्माण गरिएको छ । रितुङ माविको भवन, खेलमैदान र घेराबार निर्माण गरिएको छ । देउराली युवा क्लबको खेलमैदान निर्माण सुरु गरिएको छ ।
चौरखानी बस्ती संरक्षण, पहिरोबाट क्षति पुगेका १७ घर पुनर्निर्माण गरी हस्तान्तरण, चौरखानी समाजघर, पात्लेखर्क आमा समूह भवन मर्मत, पात्लेखर्क र मंगले गाउँ खेलमैदान, श्रीकृष्ण युवा क्लबको स्टेज, मंगले विद्यालयको शौचालय मर्मत तथा सुन्दरा आवि धारगाउँको घेराबार र मर्मत गरिएको छ ।





