कुनै समय थियो बागलुङ पश्चिमका स्थानीयलाई आफ्नै जिल्ला सदरमुकाम पुग्न ३ दिनभन्दा बढी लाग्थ्यो । आक्कल झुक्कलमात्र सवारी साधन देखिन्थे । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीमा त गएको वर्ष बल्ल मोटर बाटो पुगेको हो । सहज यात्रा गर्नेगरी बाटो बन्न अझै समय लाग्ने भए पनि स्थानीय मोटरबाटो पुगेकैमा औधी प्रशन्न छन् ।
बडिगाड–३, सिसाखानीका तिलक घर्तीमगर कुनै समय घरखर्चका सामान घोडा, खच्चडले घरसम्म ल्याउने गरेको सम्झन्छन् । उनी भन्छन, ‘एक समय थियो; जति बेला घरमा नून, तेल घोडा, खच्चडको भारीमा पुग्थे । अहिले त आफ्नै सावारीमा घरसम्मै आइपुग्छन् । भने जस्तो त छैन तर पछिल्लो ५÷७ वर्षमा धेरै परिवर्तन भएको छ ।’
संघीयतापछि गठन भएका स्थानीय तहले काम गर्न थालेपछि गाउँघरमा विकासका कामको गति बढेको धेरैको अनुभव छ । विकासको पहिलो आधार सडक पूर्वाधार आफ्नै गाउँघरसम्म पुग्दा अरु गतिविधि आफैं बढ्ने गरेका छन् । ‘विकासको पहिलो खुड्किलो सडक रहेछ; बाटो पुगेपछि विस्तारै अरु काम हुने रहेछ,’ मगरले भने ।
गाउँमा सडक पुग्यो भने खोजेको सामान चाहिएको बेला सजिलै गाउँ लैजान सकिने हुन्छ । त्यसले स्कुल भने जस्तो बन्ने भयो । सडक छ भनेपछि शिक्षक, स्वास्थ्यकर्मी र सरकारी कर्मचारीलाई गाउँमा लैजान सजिलो भयो । गाउँमै उनीहरुले सेवा दिने भएपछि सरकारी सेवा घरनजिक भएपछि त विकास भयो भन्ने यसै स्थानीयलाई लाग्छ ।
सडकसँगै शिक्षा, स्वास्थ्य कृषि र आत्मनिर्भरका कार्यक्रम पनि स्थानीय तहमार्फत् सञ्चालनमा छन् । बडिगाड गाउँपालिका पछिल्लो ३ वर्षमा मात्रै १ हजार ५६ घर, परिवारका महिलाले एकताबद्ध भई सामूहिक तथा एकल व्यावसायिक कृषि र पशुपालन गरिरहेको तथ्याङ्क छ ।

लेखक
बडिगाड–२, खर्वाङको त्रिभुवन माविमा एक दशकदेखि बाली विज्ञानको पढाइ भइरहेको छ । एक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विद्यालय खोल्ने योजना अन्तर्गत यो विद्यालय सूचीकृत छ । तर, एउटै विषयले बजार र समाजको आवश्यकता पूरा नभएको महसुस भएपछि त्रिभुवन बहुप्राविधिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको प्रध्यानाध्यापक ढालमणि भण्डारीले बताए ।
‘युवा कमाउने माध्यममा जोडिन चाहन्छन्,’ उनले भने, ‘प्राविधिक भनेको पढेर फेरि जागिरका लागि धाउने होइन, आफैं कमाउने हो ।’ शैक्षिक प्रमाणपत्रले मात्र कमाइ गर्न नसक्ने भएकाले स्वरोजगारमूलक तालिममा विद्यार्थी जोड्न लागिएको छ । त्यसका लागि अटो मोबाइल्स, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स जस्ता सीप तत्काल दिने योजना विद्यालयले बनाएको छ ।
त्रिभुवन माविकै कृषि विषय अध्ययनरत विद्यार्थीले पालिकामै कृषि प्राविधिकका रुपमा समेत काम गरेका छन । जसले गर्दा स्थानीय तहका लागि आवश्यक जनशक्ति र आफ्नै गाउँघरको विकासमा स्थानीयकै सहभागितासमेत हुने गरेको छ । सरकारी जागिरको रहर गर्ने बडिगाड–७ का जीवबहादुर खत्रीले ३ वर्ष दुबईमा बिताए । फर्केपछि देशमै केही गर्ने सोच बनाएका खत्रीले एक लाख लगानीमा किबी खेती सुरु गरेका थिए ।
उनले किबीको आम्दानी सुरु नहुन्जेल लगानी उठाउनका लागि सँगै अकबरे खुर्सानी समेत लगाएका छन् । एक रोपनीमा एक लाखमा सुरु गरेको जीवबहादुरकोे व्यवसायमा अहिले १६ लाख लगानी पुगेको छ भने ४० रोपनीमा यो फैलिएको छ । खर्च कटाएर वार्षिक १५ लाखसम्म आम्दानी गर्ने खत्री बडिगाडका उत्कृष्ट उद्यमी हुन् । उनको नौलाखर्क कृषि तथा पशुपन्छी फर्ममा प्रत्यक्ष दुई जनासहित बाह्र जनाले बेला बेलामा काम पाएका छन् ।
‘विदेशको सफलता देखेर होइन; विदेशी दुःख सम्झेर आफ्नै गाउँमा खट्न सके नाम र दाम दुबै कमाउन सकिन्छ,’ खत्री भन्छन्, ‘देशमा केही भएन होइन, देशका लागि मैले पनि केहि गर्न सक्छु भनेर सबैले आफ्नै गाउँघरमा काम गर्ने हो भने गाउँ आफूले सोचे जस्तो बन्छ ।’
स्थानीय तहअघि बडिगाड–१० का स्थानीय सामान्य स्वास्थ्य उपचारका लागि पनि बुर्तिबाङ, बागलुङ वा बुटवल जानुपर्ने अवस्था थियो । सीमित स्वास्थ्य सेवा, औषधी, स्वास्थ्यकर्मी र उपकरण अभावका कारण समयमै उपचार पाउन कठिन हुन्थ्यो । अहिले वडामै आधारभूत स्वास्थ्य सेवा, निःशुल्क औषधी, खोप तथा मातृ–शिशु स्वास्थ्य सेवा नियमित हुन थालेपछि स्थानीय खुसी छन ।
‘पहिला त न सडक भनेजस्तो, न स्वास्थ्य सेवा । समस्या थियो नि,’ स्थानीय सुरजकुमार रसाइलीले भने ‘अहिले त पोषण स्वास्थ्य सेवा, आधारभूत अस्पताल सञ्चालन र पालिकामा डायलायसिस सेवा सुरु हुने कुराले अब उपचारका लागि गाउँ नै छोड्न पर्दैन जस्तो लाग्छ ।’
मिर्गौला रोगीलाई डायलायसिस सेवा दिने गरी बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा सुरु भएको छ । १७ करोड १८ लाख ५३ हजार ८२ रुपैयाँ लागतमा १५ बेडको बडिगाड अस्पतालको भवन निर्माण भएपछि सोही अस्पतालबाट सेवा सुरु गर्ने तयारी छ । डायलसिस सेवा थाल्न गाउँपालिकाले नर्सलाई ‘डायलायसिस नर्सिङ’ तालिम लिन काठमाडौं पठाएर दक्ष बनाएको छ । अस्पतालको सेवा विस्तार गर्न दुई जना मेडिकल अधिकृतसमेत पदपूर्ति गरिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सुनाइन् ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् बडिगाड अस्पताललाई १ करोड १ लाख ४४ हजार ८ सय बराबरका ५ वटा डायलाइसिस मेसिन उपलब्ध भएका छन् । डायलायसिस सेवालाई प्रभावकारी बनाउन थप नर्स र डाक्टरलाई तालिम लिन पठाउने गाउँपालिकाको योजना रहेको अध्यक्ष अधिकारीले जनाइन् । पछिल्लो समय सरकारी सेवा घरैमा उपलब्ध गराउने सरकारको नीति छ । जसको प्रभावकारी कार्यान्वयनका लागि बडिगाड गाउँपालिकाले पालिकाका सबै प्रशासनिक काम आफ्नै भवनबाट दिन थालेको छ ।
गत वर्ष गाउँपालिकाका ३ वटा वडाका कार्यालय भवन बने । वडा नम्बर ६, ७ र २ का भवन निर्माण सकिएर त्यहीबाट सेवा सुरु भएको हो । बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वन वडा नम्बर १ दगातुम्डाँडाको पुरानो गाविस भवनबाहेक सबै वडा तथा पालिकाले आफ्नै नयाँ भवनबाट सेवा दिने गरेको बताउँछन् । ‘निमार्ण सकेर पनि आफ्नै भवनबाट सेवा सञ्चालनमा रहेका केही वडाको औपचारिक उद्घाटन गरिएको छैन । केही वडामा कार्यालय सुरक्षाको केही संरचना थप्नुपर्ने अवस्था छ । तर सेवा भने आफ्नै भवनबाट प्रवाह भइरहेको छ,’ उनले भने ।
पछिल्ला केही वर्षमा स्थानीयले महशुस गर्ने गरी भएका भौतिक पूर्वाधारको विकासले गाउँ परिवर्तन भएका छन् । घरैबाट सदरमुकाम र राजधानीको यात्रा सुरु हुने अवस्था बनेको छ । गाउँमा भएका उत्पादनले सजिलै बजार पाउन थालेका छन् । स्वास्थ्य, शिक्षा र आयआर्जका गतिविधिले स्थानीयको जीवनशैली पनि फेरिँदै गएको छ ।





