
बागलुङ/मानिस बिरामी पर्दा, ज्यान जोखिममा पर्दा अस्पताल लैजाने एम्बुलेन्सहरु चुस्त र मापदण्ड अनुसारका हुनुपर्छ । नेपाल सरकारले यो निर्णय गरेर ‘एम्बुलेन्स संचालन निर्देशिका २०७८’ जारी गरेको थियो ।
निर्देशिकाले एम्बुलेन्सलाई तीन वर्गमा विभाजन गरेको छ । सबैभन्दा उत्तम ‘क’ वर्गका एम्बुलेन्स छन् । सबैलाई यो समूहमा लैजाने सरकारी नीति छ । तर ‘ख’ वर्गलाई पनि राम्रो रुपमा लिइएको छ । त्यसका लागि अहिले भएका ‘ग’ वर्गका एम्बुलेन्सहरुलाई न्युनतम ‘ख’ वर्गमा लैजाने उल्लेख छ । कुनै हालतमा सुधार नभएमा ‘ग’ वर्गको एम्बुलेन्स राख्न नपाउने नीति छ । ‘ग’ वर्गलाई सुधार गर्न नसकेमा एम्बुलेन्स लेख्न नपाउने र अन्य चिन्ह राख्न नपाउने उल्लेख छ ।
५ वर्ष बितिसक्दा पनि बागलुङका ६ वटा एम्बुलेन्सहरु अहिले पनि ‘ग’ वर्गका छन् । तिनीहरुको स्तरोन्नती गरिएको छैन । बरु वर्षौ पुराना ती एम्बुलेन्सहरु जीर्ण भैसकेपनि जबरजस्ती चलाइएका छन् । जोखिम मोलेर ती एम्बुलेन्स अहिले पनि घुमीरहन्छन् । तोकिएको मापदण्ड पुगेका एम्बुलेन्स मात्रै चलाउन पाइनेमा अहिलेसम्म कडाइ भएको छैन । ती एम्बुलेन्स जोखिमका भैसकेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् ।
‘क’ वर्ग वा ‘ख’ वर्गको भएमात्र एम्बुलेन्स संचालन गर्न पाउने कानूनी प्रावधान छ । तर बागलुङमा संचालन हुने १४ वटा एम्बुलेन्समध्ये ६ वटा अझै मापदण्ड विपरितका छन् । धौलागिरि अस्पतालका लागि अष्ट्रेलियामा बसेका युवाले पठाएको रकममा बागलुङ नगरपालिकाले थप गरिदिएपछि किनेको मात्र ‘क’ वर्गको एम्बुलेन्स हो । त्यस बाहेक बागलुङ नगरपालिकाले वडा नं. १२ को अमलाचौर स्वास्थ्य चौकीमा संचालन गरिरहेको एम्बुलेन्स अहिले पनि ‘ग’ वर्गकै छ । अझै ‘ख’ वर्गको बन्न सकेको छैन । गलकोट नगरपालिका र निसीखोला गाउँपालिकाले पनि पुराना एम्बुलेन्सलाई मर्मत गरेर ‘ख’ वर्गको बनाउन सकेका छैनन् । अधिकांस एम्बुलेन्स संचालक समिति रेडक्रस उपशाखामार्फत बनेका छन् । कोष नभएकोले मर्मत र आवस्यक सुधार गर्न नसक्दा ‘ग’ वर्गमै रहेको उपशाखाका पदाधिकारी बताउँछन् ।
नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले संचालन गर्दै आएको एम्बुलेन्स नै अहिलेसम्म मापदण्ड विपरितको छ । ‘सुधार गर्ने त हो, बजेट भए त नयाँ नै किन्ने सोचमा छौं, तर सकिएको छैन’ सभापति जगन्नाथ आचार्यले भने, ‘कार्यालय, ल्याब र रक्तसंचारमा सुधार गरिसकेका छौं, अबको सहयोग एम्बुलेन्समा लगानी गर्छौ ।’
अन्य पालिका तथा स्वास्थ्य संस्थामै चलेका एम्बुलेन्स पनि मापदण्ड वितरित छन् । सबै एम्बुलेन्सहरु ‘ग’ वर्गको मात्रै रहेको शर्माले बताइन् । ‘मापदण्डलाई कडाई गरिएपनि अझै पालना गर्न सकिएन, अब कडाइ गरेर जाने कुरा भएको छ, त्यसका लागि दाहो¥याएर पत्राचार पनि गरेका छौं’ शर्माले भनिन्, ‘मापदण्ड पुरा नगरेका एम्बुलेन्सहरु अब चलाउन प्रतिबन्ध लाग्दैछ ।’ समय दिएपनि बेवास्ता भएकोले चालक र संचालक बोलाएर अन्तिम चेतावनी दिने तयारी भएको उनले बताइन् । प्रमुख जिल्ला अधिकारी अध्यक्ष र स्वास्थ्य कार्यालय सदस्य सचिव रहेको एम्बुलेन्सको मापदण्ड अनुगमन समिति रहेको छ ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको एम्बुलेन्स मापदण्ड अनुगमन समितिले बैठक बसेर यो जानकारी र पत्राचार भएको छ । ‘ख’ वर्गको एम्बुलेन्स बन्नका लागि निर्देशिकाको अनुसूचि १४ अनुसार प्राविधिकले एम्बुलेन्सको अवस्था अनुगमन गरेको प्रतिवेदन समेत पेश गरेको हुनुपर्नेछ । अघिल्लो वर्षको लेखा परीक्षण गरेको, जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले सिफारिस दिएको हुनुपर्ने व्यवस्था छ । त्यस्तै उक्त एम्बुलेन्स संचालन गर्न सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थाको निर्णय भएको हुनुपर्ने छ । अस्पतालसँग सम्झौता भएको हुनुपर्ने पनि व्यवस्था छ ।
अबदेखि एम्बुलेन्स संचालन गरिने गाडीले राष्ट्रिय प्रदुषण मापदण्ड अनिवार्य पालना गरेको हुनुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए । यसरी मापदण्ड पुग्ने गाडीमा एम्बुलेन्स हो भन्ने पहिचान खुल्ने आवाज वा साइरन, रातो लामो रङको संकेत बत्ति जडान भएको र फोर ब्हिल ड्राइभ भएको हुनुपर्ने छ । एक हजार सिसिभन्दा बढी क्षमता भएको, चालकको सीट पछाडि कुनैपनि सीट नभएको, जिपिएस जडान भएको, नविकरणको स्टिकर टाँसेको हुनुपर्ने उल्लेख छ ।
रेडक्रस, काठेखोला गाउँपालिका, गलकोट, ढोरपाटन नगरपालिका र अमलाचौरको एम्बुलेन्सले मापदण्ड पालना नगरेमा अबदेखि एम्बुलेन्स लेख्न नपाउने अवस्थामा पुगिसकेका हुन् । समितिका अनुसार अब मापदण्ड पुरा नगरेमा जिल्लाका ६ वटा एम्बुलेन्स लेखेको मेटिनेछ । अब बिरामी बोक्ने गाडी मात्र भनेर चिन्ने गरी एम्बुलेन्सको अधिकारबाट बञ्चित गरिने उनले बताइन् ।





