नागरिकमा सरकारप्रतिको असन्तुष्टि बढ्दै जाँदा त्यो सत्ता परिवर्तनसम्म पुग्छ भन्ने जेनजी विद्रोहले फेरि प्रमाणित गरिदियो । तर, यति छोटो समयमा लामो समयदेखि देशको सत्ता ढाल्छ भन्ने सादयै कसैले कल्पना गरेको थियो । यसको ६ महिनामा भएको निर्वाचनले त पुराना दललाई करिब कोमामा पु¥याइदियो ।
नेपालको राजनीति यहाँका मतदाताको हातमा मात्र छैन भन्ने पछिल्ला निर्वाचनहरूले देखाएका छन् । सूचना प्रविधिमा आएको तीव्र विकासले गर्दा सीमापारका आफन्तसँग कुराकानी हुन अब न पिसिओ धाउनु पर्छ, न चिठी नै लेख्नु पर्छ । प्रविधिमा आएको विकासले निशुल्क घन्टौं परिवारसँग गफिन पाइन्छ । विदेशमा रहेका नेपालीले नोटमात्र होइन, भोटमा पनि प्रभाव पार्न थालेका छन् ।
भलै अझैसम्म विदेशमा रहेका नागरिकलाई भोट हाल्ने सुविधा प्राप्त भइसकेको छैन । यसैले बेला बेला प्रवासी नेपालीले भन्ने गर्छन्, ‘नोट चल्ने, भोट नचल्ने ?’ विशेषतः जेनजी विद्रोह पछिको निर्वाचनमा प्रवासी नेपालीले मत परिवर्तन गराउन ठूलै भूमिका खेले ।
यसलाई आर्थिक वा विप्रेषणको प्रभावको रुपमा पनि लिन सकिन्छ । पछिल्लो निर्वाचनको समयमा विदेशमा रहेका छोराछोरीले आफ्ना अभिभावकलाई ‘फलानो पार्टीलाई मत नदिए हामी पैसा पठाउँदैनाँै, देश आउने वातावरण बन्दैन’ भन्ने अभियान नै चलेको थियो । करिब ७० लाख नेपाली विदेशमा रहेको अनुमान गरिन्छ । उनीहरुको आर्थिक प्रभाव पनि परिवारमा छ ।
विगतमा घर वा समाजको ज्येष्ठ सदस्यको निर्णयका आधारमा राजनीतिक रुझान कायम हुने गरे पनि अब त्यो समय सकिएको छ । शिक्षा, आर्थिक हैसियत र देश विदेश देखेका सन्तानले राजनीतिक प्रभाव पनि देखाउन थाले । रेमिट्यान्स एउटा विषय भएता पनि प्रवासमा रहेका नागरिकले त्यहाँ विकास, अवसर र सिस्टमलाई नजिकबाट देखेका छन्, देश छोडिसके पछि देशको माया झनै धेरै बढेर जान्छ ।
देशमा समृद्धि होस् भन्ने चाहना जति देशमा रहेका नागरिकलाई छ, त्यस्तै चाहना विदेशमा रहेका नेपालीमा पनि छ । उनीहरु आफ्नो देशमा पनि चिल्ला फराकिला सडक खोज्छन्; रोजगारीका अवसर, स्वास्थ्य शिक्षामा सहज पहुँच र क्षमताका आधारमा काम भइदियोस् भन्ने चाहन्छन् । विदेशमा कुनै नेता वा प्रभावशाली व्यक्ति नचिनेरै आफ्नो दैनिकी सहज ढंगले चलिरहेको व्यक्तिले आफ्नो देशमा पनि यस्तै भैदियोस् भन्ने चाहना राख्नु स्वभाविक हुन्छ ।
यस पटकको नेपालको निर्वाचनमा पनि प्रवासी नेपालीको चाहना यस्तै नै हो । रास्वपा र यसका नेताहरूले सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धिको ‘वाचा’ गरेकै कारण प्रवासीको झुकाव उनीहरुप्रति रहन गयो । परम्परागत राजनीतिक शक्तिले कुनै डेलिभरी दिन नसकिरहेको समयमा नयाँ दलले दिएको नारालाई नागरिकले विश्वास गरेर नै दुई तिहाइ जनमत दिएका हुन् । यो लोकप्रिय मतको पहिलो सर्त नै डेलिभरी हो ।
सरकारले डेलिभरि दिन नसक्दा स्वभावतः यो मत पनि परिवर्तन हुन्छ । किनभने यो कुनै संगठित मत थिएन । वर्षौदेखि पुराना दलले नागरिकको नबुझेको चाहनाको शान्त विद्रोह थियो । विदेशमा बस्ने नेपाली आफ्नो चाहना देखाउने माध्यम निर्वाचन भएता पनि विदेशका अनेक बाध्यताका कारण ब्यालेट बक्समा पुग्न सक्दैनन् । विदेशबाट मत दिन सक्ने सुविधा छैन । हो, यसैलाई उनीहरुले आफ्नो परिवारमार्फत प्रकट गरेका हुन् ।
यसमा कतिपय अवस्था विप्रेषण जोडिन जान्छ त कतिखेर भावनात्मक मनोविज्ञान । ‘विदेशमा बस्ने नेपालीलाई आफ्नो देश पनि यस्तै भैदियोस् । छिटोभन्दा छिटो विकास होस् । युरोप, अमेरिका जस्तो बनोस् भन्ने चरम महत्वकांक्षा छ, लन्डन निवासी मेरा मित्र चिरन शर्माले सुनाएका थिए । हो, चाहनाको अशाको किरणको रूपमा नायकका दल र सोचलाई लिएको उनको बुझाइ छ । पत्रकारिता गर्दै र गैरआवासीय नेपालीका विषयलाई नजिकबाट हेरेका उनको विचारमा यो, सैद्धान्तिक भन्दा पनि पुराना दललाई सजाय र नयाँप्रतिको आशाको संकेत हो ।
डायस्पोराले निर्वाचनमा प्रभावित बनाउने नेपालमा मात्र होइन । आप्रवासनले विश्वव्यापी आकार ग्रहण गरेसँगै यसलाई राजनीतिको नायकका सन्दर्भको रूपमा लिन जरूरी छ । राजनीतिक दलहरूले यसैलाई बुझेर नै होला आफ्नो समुदायको पकड भएका देशहरूमा पार्टीका संगठन विस्तार गरिरहेका हुन्छन् । युरोप, अमेरिका, मध्यपूर्व लगायत नेपाली रहेका देशमा नेपाली राजनीतिक दलका संगठन क्रियाशील छन् । यसको आफ्नै आन्तरिक राजनीति छ ।
सन् २०२२ मा केन्यामा सम्पन्न राष्ट्रपतीय निर्वाचनलाई केन्द्रमा राखेर गरिएको अनुसन्धान नेपालको सन्दर्भमा पनि उपयोगी हुन सक्छन् । जसमा डायस्पोराको आवाज र रेमिट्यान्सले निर्वाचनमा पारेका प्रभावहरूबारे अध्ययन गरिएको थियो । उक्त अध्ययनले केन्याका प्रत्येक सात योग्य मतदातामध्ये लगभग एकलाई विदेशमा रहेका साथीहरू र परिवारले २०२२ को चुनावमा मतदान गर्न प्रोत्साहित गरेका थिए । नेपालको निर्वाचनमा डायस्पोराको भूमिकाबारे वृहत्तर अध्ययनहरू नभेटिए पनि केन्याको यो निष्कर्षलाई मिल्दोजुल्दो रूपमा लिन सकिन्छ ।
नेपालमा पनि डायस्पोरा प्रत्यक्ष निर्वाचनमा सहभागी नभए पनि आफ्नो पारिवारिक, सामाजिक सम्बन्ध प्रयोग गर्दै मत प्रभावित गरेको भर्खरैको निर्वाचनमा देखिएको हो । डायस्पोराको चाहना कुनै अमुक पार्टी सत्तामा पुगोस् भन्ने होइन । उनीहरूको चाहना विकास र समृद्धि हो । त्यसको विश्वास दिलाएको पार्टी र नेतालाई उनीहरूले समर्थन गरेका हुन् । यो समर्थनको भविष्य डेलिभरीका आधारमा तय हुनेछ । सरकारले नागरिकलाई चुनावी अभियानमा भने जसरी डेलिभरी दिन नसके डायस्पोराको मत अर्को निर्वाचनमा स्वतः परिवर्तन हुने निश्चित छ ।





