सोमबार, भाद्र १ २०८३

सोमबार, भाद्र १ २०८३
  • १ भाद्र २०८३ , सोमबार
  • August 17 2026

बलेवा कालभैरव र हरेलो मेला

बलेवा कालभैरव र हरेलो मेला

वास्तवमा हरेलो किसानहरुको लागि खेतीबालीको काम सकिएर खुशीयालीसंगै हरियालीमा रमाउने विशेष अवसर हो ।


  • राजु खड्का
  • भाद्र १ २०८३, सोमबार

भगवान शिवको सबैभन्दा प्रचण्ड शक्तिसम्पन्न स्वरुप नै भैरव मानिन्छ । भैरव शिवको उग्र, डरलाग्दो र सीमा रक्षक देवताको रुप हो । शिवपुराणको विद्येश्वर संहितामा भैरवको उत्पत्ति सम्बन्धमा चर्चा गरिएको पाइन्छ ।

भगवान भैरवलाई कालको पनि काल, महाकाल वा काल भैरव भन्ने गरिन्छ । नाथ शब्दले उच्च क्षमताको परिचय दिन्छ । हुनतः नाथ शब्दका अनेक अर्थ होलान् । यसै सन्दर्भमा भन्नुपर्दा ना को अर्थ अनादिरुप र थ को अर्थ स्थापित भन्ने पनि बुझिन्छ ।

गण्डकी प्रदेशको बागलुङ जिल्लास्थित बागलुङ नगरपालिका वडा नं. १२ मा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले निकै महत्वपूर्ण मानिने कालभैरवको मन्दिर रहेको छ । बागलुङ जिल्लासहित आसपासका जिल्लाहरुमा यो मन्दिरप्रतिको आस्था र श्रद्धा बढी नै रहेको छ । यसैको प्रभावले बागलुङका छिमेकी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट दर्शनार्थीहरु यहाँ पूजा गर्न र यस क्षेत्रका आसपासमा रहेका मनोरम क्षेत्रहरुमा घुम्नका लागि आउने गर्दछन् ।

सयौं वर्षदेखि पुर्खाहरुले संचालन गरिरहेको विधि र परम्परा अनुसार यहाँ दैनिक पूजा, भाकल, बली हुने गर्दछ । बलेवा कालभैरव स्थानियहरुको गहिरो आस्था, महिमा र उच्च महत्व बोकेको परिचित देवभूमि हो । वडादशैंको नवरात्रमा मन्दिर नजिकै रहेको कोतघर र मौलोमा ४ जना गुठीयारहरु उपासु बसी घटस्थापना गरी दुर्गा, दियो, कलस, हतियार पुज्ने चलन छ । यसैगरी भूमे थानमा जेष्ठी पूर्णिमाका दिन पानी परोस् भनेर र बडादशैंको कोजाग्रत पूर्णिमाका दिन पानी नपरोस् भनेर विशेष पुजा गरिन्छ । भूमिमा क्षति नहोस् भनेर भूमे थानमा गरिने बिशेष पुजा गर्दा मुख्य रुपमा भैरवनाथलाई नै सम्झीने स्थानीयको भनाई छ ।

कुनै समय भैरवनाथ मन्दिरमा बलेवाका जेठो मुखिया परिवारले जेठो राँगो, माइलो मुखियाको परिवारले माइलो राँगो र कान्छो मुखियाको परिवारले कान्छो राँगो गरी ३ वटा राँगोको पुजा गरिन्थ्यो । मुख्य पुजाको सन्दर्भमा बलेवाका विभिन्न क्षेत्रबाट सामाग्रीहरु संकलन गरी विशेष पुजा गर्ने चलन थियो । उप्रेत, बोहोरा, अखेली, रुचाल आदी समुदाय उपासु बसेर बिशेष पुजामा सहभागि हुने परम्परा रहेको स्थानीयहरु बताउँछन् ।

बलेवा कालभैरवको महत्व, महिमा र गरिमालाई बढाउँदै मन्दिर क्षेत्रको बृहत्तर विकास, संरक्षण र प्रवर्धन गर्नको लागि गुठी संस्थानले समिति गठन गर्ने गरेको छ । समितिमा बागलुङ र जैमिनि नगरपालिकाका स्थानियहरुको संलग्नतामा गुठी समिति बन्ने गरेको छ । यसै समितिले भैरवनाथ मन्दिरको संरक्षण, प्रवर्धन र विकासका कामहरु गर्ने गर्दछ ।

नेपाल सरकारले देशका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक आदी क्षेत्रहरुको महत्वलाई सम्मान र उच्च महत्व दिएर पर्यटकीय गन्तव्यका १०० सूचीहरुको विवरण तयार गरी सार्वजनिक गरिसकेको छ । यो १०० सुचिहरुमध्ये बलेवा भैरवथान, मूलाबारी र गाजा दहको भौगोलिक अवस्थिति, प्रकृति, जलवायु, ऐतिहासिक परम्परा, संस्कार र संस्कृतिप्रतिको आकर्षण अत्यन्तै सवल रहेको छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, तथा सांस्कृतिक सम्पदाको रमणिय पर्यटकिय गन्तव्य हो । यसको शास्त्रीय एवं ऐतिहासिक अभिलेख र श्रृतिस्मृति ज्यादै महत्वपूर्ण लाग्ने खालका छन । बलेवाको स्थानीय सांस्कृतिक निधी स्वरुपका थुङ्गाहरुलाई सुन्दर मालामा जोडेर भैरवका उपासुहरु अन्य दिन र बारको तुलनामा भाद्र महिनाको पहिलो मंगलबार हरेलोको दिन भैरवनाथ मन्दिरमा भेला हुने, पूजा आरधना गर्ने, बली दिने, भाकल गर्ने आपसमा रमाइलो गर्ने ऐतिहासिक क्षण हो । त्यो क्षणले अहिले बिस्तारै मेलाको रुप लिदै विस्तारित हुदै गएको पाइन्छ ।

स्थानीय तहको निर्वाचन ०७९ पछि बागलुङ नगरपालिकाको अग्रसरता, गुठीको संयोजन र स्थानीयहरुको सक्रियतामा भाद्र महिनाको पहिलो मंगलबारको हरेलो मेलालाई संस्थागत बनाउँदै भव्य रुपमा कार्यक्रमहरु संचालन गर्न थालिएको छ । यस वर्ष पनि भाद्र महिनाको पहिलो मंगलबार २ गते प्रसिद्ध भैरवनाथ मन्दिर बलेवामा हरेलो मेला संचालनको तयारी गरिएको छ ।

प्रकृतिले सजिसजाउ जस्तै हरियाली वातावरण र सफा तथा हराभरा मौसम अनि बाली नाली फस्टाउँदै गएको अर्थमा हरेलोको नाम लिने गरिन्छ । हरेलो विशुद्ध कृषि संस्कृतिसंग प्रत्यक्ष जोडिएको पर्व हो । रोपिएका अन्न बालीमा रोगब्याधि, किरा फट्याङ्गा, मुसा, बाढी पहिरोको जोखिम नहोस् भन्ने कामनाका साथ पुजा गरिने संस्कृति हो ।

खेतीबालीको काम सकिएपछि गोरु बाच्छालाई पनि पुजिने संस्कार रहेको छ । वास्तवमा हरेलो किसानहरुको लागि खेतीबालीको काम सकिएर खुशीयालीसंगै हरियालीमा रमाउने विशेष अवसर हो । स्थानीय संस्कृति र खुशीयाली घरपरिवारसंगै भैरवनाथ मन्दिरमा पुजा गरेर मनाउने प्रचलनले अहिले आएर मेलाको रुप लियो ।

वर्षायाम अनि खेतीबारी पछि आफन्तहरुसंगको भेटघाट, मिठो मसिनो खानपान र पूजा प्रसादी बितरण आदीले यो दिनमा बलेवा क्षेत्र नै रमाईरहेको भान हुन्छ । यो ऐतिहासिक क्षणमा सामूहिक रुपमा बलेवामा हरेलो गरिन्छ । हरेलो सामूहिक रुपमा गरिने संस्कृति हो । आ–आफ्नो परम्परा अनुसार ठाउँ, भूगोल वा क्षेत्रमा खेतीबारीको काम सम्पन्न भएपछि खेतबारीमै रहेर विशेष पूजा गरिन्छ । बालीनाली विशेष गरी धानको न्वारानको रुपमा पनि यस दिनलाई सम्झने गरिन्छ ।

बलेवामा भाद्र महिनाको पहिलो मंगलबार परिवारका ज्येष्ठ सदस्य वा पुजा गर्ने व्यक्तिले स्नान गरी चोख निष्ठापूर्वक खेतमा पुग्ने गर्दछन् । खेतबारीको डिल कान्लामा हरियो हाँगा विशेष गरी पाती, खिर्राको डालो गाडिन्छ । भूमि, नाग, प्रकृति आदी देवतालाई सम्झेर धार्मिक अनुष्ठान गरिन्छ । धुप, दिप, धजा चढाइन्छ । काठका टाटापाटा झुन्डान्छ । काठको धूलो, मास, चामल, तोरी आदीका गेडागुडी पातमा बाँधेर चढाइन्छ । धुपमा सर्जमिन पड्काइन्छ र खेतबारीमा उडाउने गरिन्छ । चामल आदीका चरा, मुसा, किरासहित सेलरोटी चढाउने र प्रसादको रुपमा वितरण गर्ने चलन छ ।

हरेलो मेला ९ भाद्र महिनाको पहिलो मंगलबार बलेवा भैरवनाथ मन्दिरमा बागलुङ बजार, कुश्मा बजार, कुश्मिशेरासहित विभिन्न स्थानबाट यातयातका साधनसहित नरनारी पुग्ने गर्दछन् । आसपासका क्षेत्रबाट लाइनबद्ध रुपमा हिंडेर जानेको संख्या पनि उत्तिकै हुन्छ । यो ऐतिहासिक दिन श्रद्धालु दर्शनार्थीहरु दर्शन र भाकल पुजा गर्न जानेको भिड नै लाग्ने गर्दछ । यो समयमा लामो समयसम्म पङ्तिबद्ध भएर पुजाका दर्शनार्थीहरु उभिनु पर्ने हुन्छ ।

तरबार नाच हरेलो मेलाको महत्वपूर्ण प्रस्तुति हो । यो बाइसे–चौविसे शासनकालमा शक्ति प्रदर्शनको महत्वपुर्ण कौशल थियो । यो आम नागरिक माझ तरबार समातेर नाच्ने परम्परा बन्यो । पन्चेबाजाको तालमा तरबार समातेर नाचिने परम्परागत नाचको स्थानीयले संरक्षणको प्रयास गर्दै हरेलो मेलाको ऐतिहासिक सन्दर्भमा प्रदर्शन गर्ने गरेका छन् । यो दिन लोकभाका र भदौरे नाचका प्रस्तुतीहरुसंगै छेलो हान्ने खेल पनि संचालन गरिन्छ ।

बलेवा भैरवनाथको बढ्दो महिमा र श्रद्धा, हरेलो मेलाको लोकप्रियताका कारण पछिल्लो समय हजारौं मानिसहरुको उपस्थित रहने भएकाले नगरपालिकाले सो क्षेत्रमा स्थानीय बिदा दिने गरेको छ । मेलाको निरन्तरताका लागि सहयोग गर्ने गरेको छ । अब यो मेलालाई १ दिनबाट बढाएर ५ दिनसम्म बनाउनु पर्ने, विभिन्न परिस्थितिले हराउँदै गएका कतिपय महत्वपूर्ण संस्कार र परम्परालाई संरक्षण गर्नु पर्ने, स्थानीय लोक संस्कृति, भलिबल तथा भजनकिर्तनलाई जोड्नु पर्ने, स्थानीय उत्पादन र सीपलाई पनि महत्व दिएर मेलामा समावेश गर्न सुझावहरु आउन थालेका छन् ।

(लेखक खड्का बागलुङ नगरपालिकाका नगर उप–प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->