बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३
  • २८ साउन २०८३ , बिहिबार
  • August 13 2026

भिन्न परिवेश, समान आकांक्षा

भिन्न परिवेश, समान आकांक्षा

युवा दिवस प्रत्येक वर्ष मनाउने गरिन्छ । वर्षमा एक दिन युवाका समस्या सुन्ने र बाँकी ३६४ दिन चूपचाप बस्ने परिपाटी अन्त हुन आवश्यक छ ।


  • डा नरनाथ पाण्डे
  • साउन २७ २०८३, बुधबार

विश्व युवा दिवस सदाझैं यसवर्ष पनि अगस्त १२ तारिख अर्थात् साउन २७ गते विभिन्न कार्यक्रमका साथ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा निर्णय गरेपछि २००० देखि यो दिवस मनाउन थालिएको छ । सन् २०२६ को विश्व युवा दिवसको नारा भिन्न परिवेश, समान आकांक्षा तय गरी विश्वभर आफ्नो परिवेश अनुसार मनाईँदैछ । यसवर्षको नाराले संसारभरिका युवा आ—आफ्नो परिवेश अनुसार जीवन बिताइरहेका छन्; तापनि ती युवाको लक्ष्य र उद्देश्यचाहिँ समान खालको पाइन्छ भन्ने कुरालाई सशक्त रुपमा अघि ल्याएको छ ।

युवाको मुख्य आकांक्षा बदलिँदो समय र परिवेश अनुसार मर्यादित जीवन बिताउन पाउनुपर्ने, गुणस्तरीय शिक्षा लिन पाउनुपर्ने, रोजगार हुनुपर्ने, स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले समेतसुरक्षित हुनुपर्ने देखिन्छ । यसका लागि बदलिँदो सूचना, प्रविधिको युगमा सबैले अत्याधुनिक सेवा, सुविधा लिन पाउनुपर्ने समेत उनीहरुको आकांक्षा रहेकाले यसवर्षको थिममा युवाको अन्तरमनको कुरा व्यक्त गरिएको छ ।

लेखक

विश्वभर युवा दिवस मनाउनुका पछाडि संसारको ध्यान युवाप्रति आकर्षण गर्नु हो । अहिले हाम्रा युवासाँच्चै सन्तुष्ट छन् त ? के उनीहरूकाआकांक्षालाई हामीले सम्बोधन गर्न सकेका छौं, के युवा देशका प्रमुख जनशक्ति हुन् त भन्ने कुरालाई आत्मसात गरी हरेक क्षेत्रमा अवसर दिएका छौं ? के युवामा राजनीतिक चेतना छ ? के युवा राष्ट्रप्रति इमान्दार र बफादार छन् ?के युवा अहिलेको समय परिवेश अनुसारका सेवा, सुविधा उपभोग गरी सन्तुष्ट भएका छन् ? के हामीले युवालाई पर्याप्त अधिकार र अवसर दिएका छौं ?

यस्ता तमाम प्रश्नको उत्तर खोज्ने दिन हो अगस्त १२ । विश्व युवा दिवसका दिनमा कम्तीमा यस्ता विषयमा चिन्तन हुन जरुरी छ । यो दिवस मनाउनुका पछाडि युवाको अधिकार र अवसरको पैरवी गर्ने, युवावर्गमा रहेको बेरोजगारी तथा अन्य समस्याप्रति ध्यानाकर्षण गर्ने र युवालाई नेतृत्व हस्तान्तरणका साथै नवप्रवर्तनमा लाग्न उत्साहित गराउने मुख्य उद्देश्य छन् ।

युवा जनशक्तिको अवस्था
विश्वमा युवाको परिभाषा पनि फरक फरक पाइन्छ । संयुक्त राष्टसंघले १५ देखि २४ वर्षकाव्यक्तिलाई युवा भनी परिभाषित गरेको छ भने नेपालको राष्ट्रिय युवा नीति २०७२ र राष्ट्रिय युवा परिषद ऐन २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवा भनेको छ । यसरी हेर्दा नेपालमा युवाको जनसंख्या बढी देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवाको संख्या १ करोड २४ लाख १२ हजार १ सय ७३ (१२.४ मिलियन) देखिन्छ । कुल जनसंख्याको ४२.५६ प्रतिशत (पुरुष ४७.१ र महिला ५२.९ प्रतिशत) भाग ओगटेको यो जनसंख्यालाई देशको मुल जनशक्तिका रुपमा मानेरमात्र हुँदैन; अवसर र अधिकारसमेत पर्याप्त दिनुपर्नेमा ध्यान जानु जरुरी छ ।

संयुक्त राष्ट्रसंघलेसन् २०२६ मा सार्वजनिक गरेको हाइलाइट र २०२४ को प्रतिवेदनका अनुसार विश्वमा युवा (१५ देखि २४ वर्ष)को कुल जनसंख्या १.२ अर्ब वा कुल जनसंख्याको १६ प्रतिशत छ । यसबाट समेत विश्वभर युवा जनशक्ति उच्च रहेको देखिन्छ ।

नेपालमा युवाको अवस्था
नेपालमा युवा जनशक्ति अन्य मुलुकको तुलनामा धेरै छ । ऊर्जावान् युवालाई देशको आर्थिक विकासको प्राण पनि मानिन्छ । हामीले अनुमान गर्दै आएको युवामा राजनीतिक इच्छाशक्ति र चेतना छैन भन्ने भ्रम हो भन्ने जेनजी आन्दोलनले प्रष्ट पारिदिएको छ । बरु पुस्तौँदेखि युवामाथि भएका अन्यायलाई खुलस्त पारिदिने र उमेर ढल्केर वा बिरामी भएर अरुको सहारामा बाँच्नुपर्ने परम्परावादी सोँच भएका प्रौढ वा वृद्धलाई चेतना भरिदिने काम भएको छ । युवा परिपक्व हुँदैनन्; उनीहरुलाई विशेष भूमिका दिनुहुँदैन भन्ने मान्यतालाई पनि भरखरै भएको संघीय संसदको निर्वाचनले खण्डन गरेको छ ।

गएको निर्वाचनबाट अधिकांश युवानै संसदमा निर्वाचित भएर गएका छन् । युवाकै सरकार तथा समग्र राज्यसत्ता युवाकै हातमा गएको दृष्टान्त नेपालमा बनेको छ । विश्व परिवेशमा समेत युवाको राजनीतिक वर्चस्व कायम रहेको देखिन्छ । श्रीलंका, बंगलादेश र भारतमा समेत युवाबाट आयोजित संघर्षले परम्परागत शक्तिहरूलाई परास्त गरेको देखिन्छ । यो टे«न्ड विश्वव्यापी छ । यस्ता उदाहरणबाट समेत युवालाई कम आकलन गर्न मिल्दैन ।

यो राजनीतिक अवस्थाबाहेक नेपालमा युवाको अवस्थालाई समेत विश्लेषण गर्नुपर्ने हुन्छ । सबैभन्दा दुखद् कुरा विदेसिने युवाको अवस्था छ । राजनीतिक उथलपुथल भई युवाको सरकार बनिसकेको र युवामा आशा पलाउन थालेको अहिलेको अवस्थामा समेत नेपालबाटश्रम गर्न विदेश जाने युवाको संख्या बढ्दै गएको छ ।नेपाल श्रम प्रवासन प्रतिवेदन २०२४ र वैदेशिक रोजगार विभागको २०८१÷०८२ को प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेहरु करिब ३५ लाख छन् । यो संख्यालाई अझै केलाएर हेर्ने हो भने वार्षिक करिब ७ देखि साढे ७लाख युवाले श्रम स्वीकृति लिने गरेका छन् भने दैनिक २ देखि ३ हजार युवा श्रम स्वीकृति लिएर विदेशिने गरेका छन् ।

खासगरी खाडी मुलुकहरू मलेसिया, साउदी अरब, कतार, युएई, कुवेत लगायत पछिल्लो समय रोमानिया, क्रोयसिया, पोल्यान्ड, जापान र दक्षिण कोरिया मुख्य गन्तव्य बनेका छन् । आधिकारिक तथ्याङ्कबाहेक अवैधानिक तरिकाले समेत वैदेशिक रोजगारीमा जाने श्रमिकको गणना भएको छैन । गणना गर्न नसकिने अवस्था छ । युवाले यसरी वैदेशिक रोजगारीबाट आर्जन गरी पठाएको रेमिट्यान्सले नेपालको कुल जिडीपीको २५ प्रतिशतभन्दा बढी हिस्सा धानेको छ ।

नेपालका युवा वैदेशिक रोजगारीमा जाँदा योग्यता र इच्छा अनुसार रोजगारदातासँग सिधा सम्पर्क गरी, म्यानपावर कम्पनीको सहजीकरणबाट र सरकारको सहजीकरण अनुसार जाने गरेको पाइन्छ । यसरी बल्लतल्ल विदेश गएका श्रमिकहरू पनि त्यहाँको सम्झौता अनुसार नभई मालिकको इच्छा अनुसार श्रमशोषणमा पर्ने गरेका उदाहरण छन् । त्यस्तै, कतिपय नेपाली श्रमिकले उचित पारिश्रमिक नपाएको, योग्यता अनुसार र सम्झौता अनुसारको काम नपाएको, डकैतीमा पर्ने गरेको, समयमा पाउनुपर्ने पारिश्रमिक नपाएको, घरेलु कामदारको रुपमा रहेका कामदारमाथि शारीरिक, यौनिक र मानसिक यातना दिने गरिएको जस्ता गुनासा सुनिन्छ ।

वैदेशिक रोजगारीमा जाने युवाको दक्षता विश्लेषण गर्दा ६० देखि ७० प्रतिशत युवा कुनै सीप नसिकी जाने गरेका छन् । उनीहरु उचित रोजगारी र तोकिएको काम समेत नपाई अलपत्र पर्ने अवस्था पनि छ । कतिपय श्रमिकले त कामकै क्रममा शारीरिक क्षति भोग्ने र मृत्युसम्म हुने गरेका उदाहरण प्रशस्तै छन् । यसरी विश्लेषण गरी हेर्ने हो भने २१ औं शताब्दीका युवा श्रमिकले पनि उचित मूल्य नपाउनु र अपहेलित हुनु परिरहेको दृष्टान्त छ । यस्तो अवस्थामा नेपालका युवा श्रमिकको पीडा सम्बोधन नगरी अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको सार्थकता के भयो र ?

नेपालबाट विदेश जाने कामदार आर्थिक रुपमा सक्रिय हुन् । यस्तो जनशक्तिले देश विकासकाकाममा नलागेर विदेशीको सेवा गरिरहनुपर्ने बिडम्बना देखिएको छ । यस्ता युवावर्गको श्रमसदुपयोग देशले गर्न नसक्नु, विदेश धकेल्नुपर्ने अवस्था आउनु र अधिकांश युवा उतै पलायन हुनु, मृत्युवरण गर्नुअहिलेको बाध्यता बनेको छ । पछिल्लो १० वर्षमा विदेश गएका नेपालीमध्ये १० हजारभन्दा बढीको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाउँछ ।

युवाका चुनौती र आगामी बाटो
नेपालको जनसंख्यामा ४२.५६ प्रतिशत हिस्सा ओगटेका युवा देशको विकासका वाहक हुन् तर उनीहरुले चाहेजस्तो देशको अवस्था देख्न पाएका छैनन् । युवाले संविधानमा हक, अधिकार र अवसरका लागि कानुनी मान्यता पाए तापनि खास पाउनुपर्ने अवसर हालसम्म पनि पाएका छैनन् । विज्ञान र प्रविधिको चरम युगमा पनि अधिकांश युवामा प्रविधिसम्मको पहुँच नहुनु, उद्योग, धन्दा, कलकारखाना स्वदेशमा नहुनु वा पूर्वाधार नहुनु, भएको सामथ्र्यका आधारमा समेत रोजगार नपाउनु, स्वदेशमा रोजगार नपाएर विदेसिन बाध्य हुनु वा प्रतिभा पलायन हुनु, विदेशमा समेत चाहेजस्तो रोजगार नपाउनु, देश भ्रष्टाचारमा चुर्लुम्म डुब्नु, राजनीतिक स्थिरता नभई निराशा उत्पन्न हुनु, चाहेजस्तो विषय अध्ययन गर्न नपाउनु, शिक्षामा चर्को शुल्क लाग्नु, पाठ्यक्रम परम्परागत हुनु र अहिलेको माग अनुसार दक्ष जनशक्ति उत्पादन हुन बाधा पुग्नु आदि जस्ता समस्या छन् ।

नेपालको अदूरदर्शी शैक्षिक प्रणाली र राजनीतिक खिचातानी यसका प्रमुख कारण हुन् । यस्तो अवस्थाबाट अब अघि बढ्नु आवश्यक छ । आगामी दिनमा बनिसकेका नीति, नियम परिमार्जन गर्दै युवामैत्री बनाउँदै जाने, रोजगारी र उद्यमशीलताका कार्यक्रमलाई प्रवर्धन गर्ने, वर्तमान परिवेश अनुसारका सूचना प्रविधियुक्त विश्व बजारमा बिक्री हुने जनशक्ति उत्पादन गर्ने वा जीवनोपयोगी सीपलाई बढावा दिने पाठ्यक्रम बनाउने, युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने, राजनीतिक अधिकार सहितको व्यवस्था लागु गरी नीति निर्माण तहमा समेत उनीहरुलाई समावेश गराउने वातावरण मिलाउने, प्रतिभा पलायन रोक्न र विश्वको परिवेश अनुसार नवप्रवर्तन, एआई तथा आइटी क्षेत्रमा युवाका लागि अवसरहरु देशभित्रै सिर्जना गर्ने वातावरण मिलाएमा मात्र युवालाई न्याय मिल्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय युवा दिवस प्रत्येक वर्ष मनाउने गरिन्छ । वर्षमा एक दिन युवाका समस्या सुन्ने र बाँकी ३६४ दिन चूपचाप बस्ने परिपाटी अन्त हुनआवश्यक छ । युवालाई भविष्यका कर्णधार हुन् भन्ने बाहेक हालसम्म गहिरिएर सोच्ने काम गरिएन । अब उनीहरूलाई वर्तमानका साझेदार र देशको वृहत जनशक्तिका रुपमा सोचिएन वा त्यो अनुसार अधिकारबाट वञ्चित गर्न थालियो भने देश जहाँको तहीँ रहने निश्चित छ ।
(पाण्डे मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->