म्याग्दी/रघुगंगा गाउँपालिकाले करदाता सेवा सञ्चालनमा ल्याएको छ । नागरिकले सेवा लिन टाढाका कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले करदाता सेवा सुरु गरेको हो ।
करदाता सेवा सुरु गर्दा एक जनालाई व्यवसायीक पान र एक जनालाई व्यक्तिगत पान जारी गरिएको थियो । रघुगंगा–३ का माधव बहादुर भण्डारीलाई व्यक्तिगत पान प्रदान गरिएको थियो ।
करदाता सेवा सञ्चालनमा आएसँगै गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सक्नेछन् । त्यस्तै, गाउँपालिकाभित्र दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) जारी गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार स्थायी लेखा नम्बर दर्तासम्बन्धी संशोधन, दर्ता खारेज भएका व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्नेलगायतका सेवा पनि स्थानीय तहबाटै उपलब्ध हुनेछन् । स्थानीय तहबाट सेवा दिन नसकिने आवश्यक कामका लागि आन्तरिक राजस्व कार्यालय बागलुङमा सिफारिस गर्ने व्यवस्था मिलाइएको छ ।
करदाता सेवा शुभारम्भसँगै करदाता शिक्षा कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा व्यक्तिगत तथा व्यावसायिक करदाता, जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल शिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत अर्जुन गौतमले स्वागत गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले सेवा सञ्चालनको आवश्यकता र महत्वबारे धारणा राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले संघीयताको मूल मर्मअनुसार सरकारका सेवा नागरिकको पहुँचमा पुग्नुपर्ने भएकाले आन्तरिक राजस्वसम्बन्धी सेवा गाउँपालिकामै ल्याइएको बताए ।





