बागलुङ, २४ भदौ– जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा भदौ १७ गते आएको बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या २० पुगेको छ । बाढीपहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये बुधबार थप एक जनाको शव फेला परेको हो ।
अन्दाजी २३ वर्षिय पुरुषको शव वडिगाड खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । शवको सनाखत भएको छैन । यसअघि मंगलबार गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुरस्थित वडिगाड खोलाको किनारमा ३२ वर्षिया चनी विकको शव फेला परेको थियोे । वडिगाड गाउँपालिका वडा नं. ६ खाला बजार छेउको खोला किनारमा २८ वर्षिया कुमारी विकको शव मंगलबारनै फेला परेको थियो ।
उनीहरुको शव बुधबार परिवारको जिम्मा लगाईएको छभने बुधबार भेटिएका पुरुषको शव सनाखतका लागि बेपत्ता भएकाहरुको परिवारलाई बोलाईएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले बताए ।
बाढीपहिरोमा १८ जना अझै बेपत्ता छन् । मृत्यु भएकामध्ये १७ जनाको यसअघिनै दाहसंस्कार भैसकेको छ । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।





