नोवल कोरोना भाईरस (कोभिड–१९) संक्रामक रोगबाट संसार आक्रान्त बनेको छ । गत डिसेम्बरको अन्त्यतिर चीनको बुआनबाट शुरु भएको कोरोना भाईरसबाट आजसम्म संक्रमित हुनेको संख्या २ करोड ७५ लाख ८३ हजार ७ सय ९६ रहेको छ । निको हुनेको संख्या १ करोड ८३ लाख ३९ हजार ५ सय ११ रहेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ८ लाख ९७ हजार ६ सय १४ रहेको छ । नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय १३ रहेको छ । निको हुनेको संख्या ३२ हजार ९ सय ६४ रहेको छ । मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । नेपालभर कोरोनाबाट संक्रिय संक्रमितको संख्या १५ हजार १ सय ४९ मात्रै रहेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर बढिरहेको देखिन्छ । लगभग एसियाका देशहरुको हाराहारीमा ६४.२ प्रतिशतले संक्रमण निको हुँदै गएको तथ्याङ्कले देखाएको छ । त्यस कारण पनि अहिलेसम्म कोरोना भाईरस सरकारको नियन्त्रणभन्दा बाहिर गएको छैन । अनलाईन, युट्युव सधै प्रतिशोध मात्रै साध्ने केहि मिडियाहरु र सामाजिक संजालमा हाहाकार मच्चाउनुको कुनै औचित्य छैन । कोरोना संक्रमण व्यापक रुपमा फैलन नदिन सरकारले अर्थतन्त्रको समेत पर्वाह नगरी मानव स्वास्थ्यमा जोड दिएको छ । कोरोना नियन्त्रण गर्न सरकारले लामो समय बन्दाबन्दी र आवश्यकता अनुसार निषेधाज्ञासमेत जारी गरेको छ । सरकारले लकडाउन र निषेधाज्ञा जारी गर्नु रहर नभएर बाध्यता हो । बन्दाबन्दी गरेपछि सरकारलाई स्वास्थ्य सामग्री र औषधी जुटाउन, डाक्टरको मनोवल बढाउन सजिलो भयोे । त्यसैगरी सरकारले क्वारेण्टाइन स्थल, आइसोलेसन सेन्टर, हस्पिटल परिक्षणको दायरा प्रयोगशालाको विस्तारलगायत विगतमा नभएका स्वास्थ्यको क्षेत्रमा सुधार गरेको छ । संक्रमित पहिचान गर्न, संक्रमित र मृत्यु हुनेको संख्या थोरै बनाउने रणनीति पनि हो यो बन्दाबन्दी । यहि रणनीतिको कारण अहिलेसम्म सरकार कोरोना नियन्त्रणमा सफल नै देखिएको छ । बन्दाबन्दीको कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको छ । विशेष गरी दैनिक श्रममा आश्रितहरु वर्गहरु कसरी हातमुख जोड्ने भन्ने समस्याले पिरोलिएका छन् । कोभिड १९ महामारी शुरु भएको ९ महिना बितिसक्दा पनि कोरोनाविरुद्धको खोप केही देशहरुले पहिलो र दोस्रो चरणको परिक्षण सफल भएको दाबी गरेका छन् ।
संसार नै अहिले कोरोना नियन्त्रणमा केन्द्रित भएको देखिन्छ । धेरै देशहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने भएकोले नियन्त्रण र रोकथामको विकल्पको रुपमा लकडाउन, माक्सको प्रयोग, साबुनपानीले हात धुने र स्यानिटाईजरको प्रयोग गर्नु भन्ने डब्लूएचओले निर्देशन जारी गरेको छ । नयाँ खालको रोग भएकोले कुन–कुन कुराबाट सर्न सक्छ भन्ने समेत जानकारी नभएको अवस्था छ । कोरोनाविरुद्धको भ्याक्सिन आम रुपमा प्रयोगमा नआएसम्म संक्रमित र मुत्यु दर अझै बढ्न सक्ने अनुमान गरिएको छ । कोरोनाका कारण संसारभरको अर्थतन्त्र साँघुरिदै गएको छ । विकशित मुलुकहरु कनिकुथी चले पनि विकासोन्मुख देशको अवस्था भने दयनिय बन्दै गएको छ । मानिसको आर्थिक गतिबिधी ठप्प भएपछि आर्थिक अवस्था खस्कदै गएको छ । आर्थिक गतिबिधी खुम्चिदै गएपछि जनताको जिवनस्तर पनि बिग्रदै गएको छ । कोरोना महामारीका कारण संसारभर २ करोड ५० लाख मानिसले रोजगारी गुमाएका छन् । नेपालको कुरा गर्दा एकातिर नागरिकको रोजगारी गुमेको छ भने मानसिक तनाव पनि त्यत्तिकै झेल्नुपरेको छ । साना ठूला प्राइभेट कम्पनी व्यापार, व्यवसायमा गम्भिर असर परेको छ । अर्कोतर्फ सरकारले देश संचालन गर्न समेत अफ्ठेरो अवस्थामा देखिएको छ । वैदेशिक रोजगारीमा गएकाहरु कोरोना संक्रमित र बेरोगार भएर धमाधम स्वदेश फर्किइसकेका छन् । एकातिर नेपालका ठुला ठूला शहरमा संक्रमितको संख्या बढेको बढयै छ भने अर्कोतर्फ श्रमजिवी वर्गलाई आर्थिक चलायमान नभएका कारण पेट पाल्न सकस भएको छ ।
सरकारबाट लामो समय बन्दाबन्दी गरियो सकसपूर्ण परिस्थीतिको फाईदा उठाउनेहरुले नागरिकहरु नभड्काउलान भन्न सकिदैन । सरकार यस कुरामा सजक देखिनु पर्छ । अहिले लकडाउन गर्ने नगर्ने सवालमा पनि दुईखालको स्वार्थ देखिन्छ । जो प्रविधीबाट आफ्नो काम सम्पन्न गर्दछन् उनीहरुले लकडाउन गर्नुपर्छ भन्ने आवाज उठाउँछन् । श्रमजिवी र निम्नमध्यम वर्गिय आवाजको प्रतिनिधित्व गर्नुपर्छ सरकारले । कार्यालय नगए पनि तलब खान पाउने वर्ग, नीति नियम कार्यान्वयन गर्ने ठाउँमा पुगेको हुँदा आम श्रमजिवीको मर्का नबुझेको देखिन्छ । चैतको पहिलो हप्तादेखि लगातार गरिएको लकडाउन असारको शुरुवातमा खुकुलो गरियो । आर्थिक गतिविधी ओरालो लाग्यो भन्ने चौतर्फी विरोध आएपछि सरकारले लकडाउन खोलेको थियो । लकडाउन खुल्यो कोरोना पनि सकियो भन्ने मानसिकताले आवागमन बढ्यो । जस्ले गर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो । दिनमै हजार जनाको हाराहारीमा सक्रमित हुन पुगेका छन् । बन्दाबन्दीले व्यक्तिलाई मात्र नभएर राज्यलाई नै असर परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी, डाक्टर र मनोपरार्मशविदहरुसंग रोग नियन्त्रणका उपायबारे छुट्टाछुट्टै छलफल गर्नुभएको छ । कोभिडका कारण व्यवसायमा परेको असर र आर्थिक चलायमान गराउँदै रोग नियन्त्रणको उपाय खोजी भईरहेको छ ।
नेपालमा मात्रै होईन जर्मनी, बेलायतजस्ता बिकसित मुलुकहरुमा जहाँ सरकारले सबैलाई पुग्नेगरी राहत बाँड्न सक्छ, त्यस्ता देशहरुमा समेत ठूलो संख्यामा नागरिकहरु सडकमा उत्रेर सरकारविरुद्ध नाराबाजी गरेका थिए । हाम्रोमा सामाजिक संजाल र मिडियाबाट भड्काउन खोज्दा ‘हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनेहरु’ ले सुरक्षा संवेदनशिलताको फाईदा नउठाउलान भन्ने अवस्था नदेखिने हैन । वास्तवमा ठूला देशहरुले समेत गर्न नसकेको कुरा नेपालले केहि महिना भए पनि गरेर देखाएको छ । कोरोना नियन्त्रणका लागि नागरिक आफै सचेत हुनुपर्छ । लापरवार्ही गर्नेहरुलाई कानुनी कारवाहीका रुपमा जरिवाना गराउन सकिन्छ । युवाहरुमा यो संक्रमणलाई बेवास्ता गर्ने संस्कार बढेको छ । हामी युवालाई केहि हुँदैन पचाईन्छ भनेर स्वास्थ्य सुरक्षाका उपाय नपनाउने र जथाभावी हिड्ने गरेको देखिन्छ । युवा अवस्थाका भनेर मात्रै पनि हुँदैन । उनीहरुको खानपान, आहार–बिहार कस्तो छ कतिको स्वास्थ्यकर खानेकुरा खान्छन् । रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता कति छ भन्ने कुरामा पनि भर पर्दछ । उनीहरुमध्येका कतिपयलाई भित्रभित्रै रोग लागेको पनि हुन सक्छ । त्यसकारण हरेक व्यक्ति कोभिड–१९ बारे सचेत भएर सावधानी अपनाउनु पर्छ । केहि मिडियाहरुमा कोरोना भाईरस भ्रम हो, संसारभरका मेडिकल माफियाहरुले चलाएको हल्ला मात्रै हो भनेर सरकारविरुद्ध षडयन्त्रपूर्ण मिथ्या हल्ला चलाईएको छ । जेष्ठ नागरिक, विभिन्न रोगको उपचार गराईरहेकाहरुलाई कोरोना भाईरस संक्रमण भयोभने मृत्यु हुन्छ भनेर त्रसित बनाउने गरेको पाईन्छ । तर रोगसंग लड्ने क्षमता कस्को बढी छ भनेर कसरी मापन गर्ने कसरी ? आत्मविश्वास आत्मबल छ कि छैन रोग लागिसकेपछि मात्रै थाहा हुने कुरा हो । त्यसकारण नेपाल सरकार स्वास्थ्य मन्त्रालय र डब्लूएचओको निदेर्शन सबैले मानेर भौतिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने कामबाहेक जथाभावी नहिड्ने गर्नुपर्छ । सरकारले पनि सम्भावित जोखिममा पर्न सक्ने अवस्थाका व्यक्तिबारे स्वास्थ्य सुरक्षाको विशेष व्यवस्था र आपतकालिन सेवाहरु दिनुपर्ने हुन्छ । बन्दाबन्दी व्यवहारिक हिसाबले त्यति उपयुक्त नभएपछि शर्तसहित खुल्ला गरिदिने, स्वास्थ्य सुरक्षा अपनाउने दायित्व नागरिकको पनि हो ।
नेपालीहरुको चाडपर्व मुखैमा आएको छ । व्यापार व्यवसाय बढ्ने सिजन पनि हो । कोरोनाको कारण देशका ठूला शहरहरुमा स्थानीय र प्रदेश सरकारहरुले केहि सर्तसहित पेशा व्यवसाय खोल्न पर्ने अवस्था छ । यो बेलामा व्यापार व्यवसाय बढेर आर्थिक संकट टर्ने अवस्था निश्चित थियो । सरकारले व्यवसायभन्दा पनि नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । संक्रमितको संख्या अझै कति बढ्ने भन्न सकिने अवस्था छैन । संक्रमितहरु उच्च बिन्दुमा पुगेर ओरालो लागेपछि मात्रै केहि हदसम्म ढुक्क हुने अवस्था रहन सक्ला । कोभिड १९ विरुद्धको खोप तयार भएर नेपाले प्रयोग गर्न पायो भने मानविय क्षति कम हुने देखिन्छ ।
कोभिडको महामारीले गर्दा विश्वव्यापी रुपमा वस्तु तथा उत्पादनको उपयोग गर्ने र पर्यटकिय सेवा लिने काम प्रायः ठप्प छ । विकसित देशलाई परेको आर्थिक संकट कोभिडपछि विकासशिल राष्ट्रमा देखापर्नेछ । सबै वस्तु उत्पादन सेवाका क्षेत्रहरु ठप्प भएपछि अर्थतन्त्र संकुचनमा जाने संभावना देखिन्छ । अमेरिकी तथ्याङ्कशास्त्रीका अनुसार संकटपश्चात विश्वमा गरिबी झन बढ्ने देखिन्छ । नेपालको हकमा झन् डरलाग्दो हुने स्थिति देखिएको छ । नेपालको सन्दर्भमा भन्नु पर्दा कोभिड १९ ले नेपाली अर्थतन्त्रका पाँच वटा क्षेत्रमा गम्भिर असर पार्न सक्ने देखिन्छ । पहिलो रेमिट्यान्सको आप्रवाह, दोस्रो पर्यटन क्षेत्र, तेस्रो वैदेशिक रोजगारीमा असर, चौथो देशभित्र आर्थिक गतिविधिमा सुस्तता र पाँचौ सरकारको राजस्वमा संकुचन । आन्तरिक उत्पादनको हिस्सा कमजोर भएको देखिन्छ । गत आर्थिक वर्ष नेपालमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । यो वर्ष २५ प्रतिशतले घट्न सक्ने देखिन्छ । रेमिट्यान्सको आप्रवाह कम भएपछि वस्तु तथा सेवाको खरिदमा समेत कमी आई अर्थतन्त्र शिथिल बन्न सक्छ । नेपालले यो कोभिडको सामना गर्न सक्यो भने कृषि, जलबिद्युत, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरेर आयआर्जन गरी आफ्नो अर्थतन्त्रलाई स्थिर बनाउन सक्ने छ । अहिले यो कोभिडको महामारीका बेला सरकार तथा नागरिकहरुले धर्यधारण गर्ने र कमभन्दा कम मानविय क्षति हुने उपायको खोजी गर्नुपर्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालय र सरकारले जारी गरेका निर्देशनहरु पालना गर्नुपर्छ ।





