म्याग्दी, २६ भदौ– सडक,विकासको न्यूनत पूर्वाधार हो । सुविधा र सुगमताको सेतु पनि हो, सडक । तर, जनताको सुविधा र गाउँठाउँको विकासका लागि अति आवश्यक सडक खन्दा वातावरणीय सन्तुलन मिलाउन सकिएन भने जनताको सुविधाका लागि खनिएको सडक नै विपत्तिको प्रमुख कारण बन्दोरहेछ भन्ने उदाहरण नेपालका विभिन्न ठाउँहरुमा देखिएको छ ।
हिमाली जिल्ला म्याग्दीमा पनि गत असारदेखि यता अहिलेसम्म बाढी पहिरोले ठूलो क्षति पु¥याएको छ । गत असार २५ गते पश्चिम म्याग्दीको मराङ,बिम,धारापानीलगायतका ठाउँहरुमा ठूलो मानवीय क्षति हुनुका साथै व्यक्तिगत तथा सरकारी गरि अर्वौ रुपैयाँको भौतिक क्षतिसमेत भएको छ ।
भदौको तेस्रो साता बितिसक्दा पनि वर्षाहुने क्रम रोकिएको छैन । गत ३ दिनदेखि दैनिक वर्षा भैरहेको छ । वर्षाका कारण ३ दिनको अवधिमा म्याग्दीका विभिन्न ठाउँहरुमा बाढी र पहिरोका कारण क्षति हुने क्रम बढेर गएको स्थानीयले बताएका छन् ।
वातावरणीय अध्ययनविना नै डोजर चालकको भरमा खनिएका मोटरबाटोका कारण भूस्खलन हुुने,बाढी पहिरो जाने र जनधनको क्षति हुने गरेको पाइएको वन तथा वातावरणको क्षेत्रका जानकारहरुको भनाइरहेको छ ।
मंगलवार रातीकोे वर्षा पछि ठाडोखोलामा आएको बाढीले बेनी नगरपालिका वडा नं ७ मा पर्ने अग्नीखेतमा लगाएको धानबाली पुरेको छ । बेनी बजारका पूर्णबहादुर कार्कीको धान रोपेको खेतबाट खोलो बगेको छ । कार्कीको मात्र होइन अग्नी खेतका ५ जना कृषकको खेत खोलामा परिणत भएको छ ।
त्यसैगरी सोमवार राति बेनी बजार माथि आपाँरुख क्षेत्रबाट आएको बाढीले बेनीको क्याम्पस चोक, अस्पताल चोक,कालीपुल वसपार्क र मंगलाघाट क्षेत्रमा क्षति पु¥याएको थियो ।
खेत र सडकमा खोलो बग्न थालेपछि स्थानीय त्रसित बनेका छन् । पहिरोका कारण मंगला र मालिका गाउँपालिकाका विभिन्न वडाहरुमा पनि पछिल्लो समयमा क्षति पुगेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँले डम्मरावासीहरु राती पानी पर्यो भने एउटा हातमा टर्च (लाइट) र अर्कोहातमा कुटो कोदालो बोकेर बाढी पन्छाउन घर बाहिर निस्कने गरेका बताए । बेनी दरवाङ सडकखण्ड बिस्तार गर्ने क्रममा डम्मरादेखि बेनी नगरपालिका ४ सिंगा तातोपानीसम्मको दर्जनौं ठाउँमा पहरो र खेत डोजरले खनेपछि त्यस क्षेत्रको जमिन कमजोर बनेको स्थानीयको गुनासो छ ।
उत्तरी म्याग्दीको अवस्था पनि पश्चिमी म्याग्दीको भन्दा कम छैन । गाउँ माथिबाट आएको पहिरोले रघुगंगा गाउँपालिका–४,दग्नामको राम्कुलीबोटमा १० घरधुरी उच्च जोखिममा परेका छन् । भिरालो जमिन, कमजोर भूबनोट र बलैटे माटोका कारण बस्ती आसपासबाट खसेको पहिरोले खेतीयोग्य जमिन पुरेको छ ।
पहिरोले स्थानीय कृष्ण गुर्बजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्बर गर्बुजा, खड्क गर्बुजा, खविर तिलिजा, चन्द्र शेरपुञ्जा, केआईसिङ गर्बुजा र रन बहादुर गर्बुजाको घर उच्च जोखिममा परेको जनता माविका प्रधानाध्यापक गुन पुनले बताए । ‘घर चर्किएको छ,बस्ती नजिकैको जमिन चिरा परेको छ’ पुनले भने ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका–३,दानाको फगाम गाउँ पहिरोकै कारण विस्थापित हुने अवस्थामा पुगेको छ । फगामका कर्णबहादुर नेपालीको १० रोपनी खेतीयोग्य जमिन सहित घर पहिरोले बगाएपछि सुकुम्बासी जस्तजीवन विताइरहनुभएको छ । भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट विस्तार गरिएको बेनी–जोमसामे सडकखण्ड भासिएर फगाम गाउँका ७४ मध्ये १४ घरधुरी पूर्णरुपमा विस्थापित भएका छन् ।
बस्ती नजिकैबाट विस्तार गरिएको सडकका कारण जमिन भासिएको र चिराचिरा परेको छ । जमिन भासिने र फाट्ने भएपछि उक्त खेतबारीमा बाली लगाउन छाडेको नेपालीको भनाई छ। पहिरोले स्थानीयलाई सुकुम्बासी बनेका छन् । आफ्नो खेतबारीमा अन्नबाली समेत लगाउन छोडेर सुरक्षित स्थानमा पुगेको स्थानीयको भनाई छ । वर्षा हुने र बाढी पहिरो आउने क्रम अझै नरोकिएकोले स्थानीय वासिन्दाहरु त्रसित बनेका छन् ।





