म्याग्दी, २७ भदौ– हिमाली जिल्ला म्याग्दीमा डेंगुको प्रकोप फैलिएको छ । गत वैशाखयता ५० जना डेंगुका विरामी भेटिएका बेनी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यसवर्ष धवलागिरी गाउँपालिका बाहेकका पाँचवटै स्थानीय तहमा डेंगु भाइरसको बिरामी भेटिएका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमणमा म्याग्दी नेपालमा दोस्रो जिल्ला भएको बताइएको छ । भदौ ११ गतेपछि मात्रै ११ जनामा डेंगु पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।
बेनी अस्पतालको तथ्याङ्कअनुसार हालसम्म मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका, मंगला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा डेंगुको संक्रमण देखिएको छ ।
जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परिक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगु नै पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारयाण लम्सालले बताए ।सरसफाइमा ध्यान दिने, लामुखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेंगुबाट जोगिने उपाय हो’, बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले भने ।
डेंगुको संक्रमण हुँदा एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांसपेशी तथा हाडजोर्नी दुख्ने, झाडापखाला लाग्ने र वान्ता आउने जस्ता लक्षणहरु देखिन्छन् ।बढ्दो गर्मी तथा पानी परेपछि म्याग्दीमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका हुन्। डेंगुको संक्रमित बढेपछि जिल्ला उच्च जोखिममा रहेको छ । एडिज एजिप्टाई नामको पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगुरोग सार्ने गर्दछ । यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने, सुत्ने बेलाको समयमा झुलको प्रयोग गर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बेनी अस्पतालका मेडिकल अधिकृत डा.घिमिरेले बताए ।





