पोखरा, २७ भदौ– पोखरामा दाहसंस्कारपछि मात्रै एक महिलाको पीसीआर रिपोर्ट पोजेटिभ अर्थात् उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यहाँको फिस्टेल अस्पतालमा शुक्रबार मृत्यु भएकी ४५ वर्षीया महिलाको शनिबार मात्रै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ५ की वडाध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपालीका अनुसार, थाइराइड उपचारको लागि बिहीबार अस्पताल भर्ना भएकी महिलाको त्यही दिन अर्थात् भदौ २६ गते राती नै निधन भएको थियो । उनको निधनपछि अस्पताले शव दाहसंस्कारको लागि लैजान भनेको र शुक्रबार बिहानै उनको दाहसंस्कार गरिएको थियो ।
‘उहाँ मेरो छिमेकी नै हो, करिब बिहान ९ बजेतिर दाहसंस्कार सकिएको हो, अब दाहसंस्कारमा को–को जानुभएको छ भन्नेबारे हामीले तथ्यांक संकलन थालेका छौं, उहाँहरुलाई आइसोलेसनमा बस्न भनेका छौं’, वडाध्यक्ष नेपालीले भने, ‘आइतबार उहाँहरुको पीसीआर गर्नुपर्ने भयो ।’ पीसीआर रिपोर्ट नकुर्दै किन दाहसंस्कार गरियो भन्नेबारे आफू पनि अनविज्ञ रहेको उनले बताए । कोरोनाबाट पोखराको निजी अस्पतालमा मृत्यु हुने यो पहिलो घटना हो ।
यसअघि शनिबार बिहान मात्रै कोरोना संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको आइसीयूमा भर्ना भएका स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासी ८५ वर्षीय वृद्धको मृत्यु भएको थियो । उनी भदौ २४ गते अस्पताल भर्ना भएका थिए । उनीसँगै पोखराको गण्डकी अस्पतालमा १० जना संक्रमितको मृत्यु भइसकेको छ भने गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
पछिल्लो विवरण अनुसार, गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको छ । पोखरामा १०, नवलपरासीमा ३४, गोरखामा १ जनामा संक्रमण देखिएको र उनीहरुसबै संक्रमितको सम्पर्कबाट संक्रमित बनेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाए ।




