म्याग्दी, २८ भदौ– म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सञ्चालित हरियाली गु्रप प्रालिले संचालन गरेको कालिज फार्ममा पसेको चिनवालाई जिवितै नियन्त्रणमा लिइएको छ । सौराहाका पशु चिकित्सक डा. अमिर सडौलाको नेतृत्वमा आएको पाँच जना विशेषज्ञको टोलीले शनिवार चितुवालाई नियन्त्रणमा लिएको हो ।
उक्त पोथी चितुवालाई सुरक्षित रूपमा चितवनबाटै आएको टोलीले जिल्ला बाहिर स्थानान्तरण गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए । खनालका अनुसार, नियन्त्रणमा आएको चितुवालाई कुनै जंगलमा सुरक्षित छोड्ने वा चितवन नै लैजाने भन्ने बारेमा विशेषज्ञ टोलीले नै निर्णय गर्नेछ । टोलीले डाट्रिङ बन्दुकको सहायताले चितुवालाई नियन्त्रणमा लिएको थियो ।
करिब ३ बर्ष र ३५ किलो तौल रहेको चितुवाले फार्मभित्र ६८ कालिज खाएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । चितुवा पसेको जानकारीलगत्तै प्रहरीको टोलीले शुक्रबार बिहानैदेखि आसपासमा क्षेत्रमा सुरक्षा दिएको थियो । आहाराको खोजीमा चितुवा जाली नाघेर कालिजको फार्मभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ ।





