म्याग्दी, २९ भदौ– म्याग्दीका एक प्रधानाध्यापकले न्यून तलब सुविधामा पठनपाठन गरिरहेका एक शिक्षकलाई आर्थिक सहयोग गरी जन्मदिन मनाएका छन् । बेनी सामुदायिक विद्यालयका प्रअ दिपक श्रेष्ठले बेनी नगरपालिका–५, पुरूण्डीमा रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएका गणेश परियारलाई नगद १० हजार सहयोग गरेका हुन् ।
मासिक २ हजार तलबमा अध्यापन गराउँदै आएका परियारलाई विद्यालयमै उपस्थित भई नगद हस्तान्तरण गरेका श्रेष्ठले सामुदायिक विद्यालयमा न्यून तलबमा कार्यरत शिक्षकको समस्यालाई राज्यले ध्यान दिनुपर्ने बताए ।
‘मासिक तलब दुई हजार भन्ने समाचार सुनेर भाबुक भएको थिए, ‘उहाँको अवस्थाबारे बुझ्दा आँसु नै खस्यो’ श्रेष्ठले भने । सतप्रतिशत दलित विद्यार्थीले पढ्ने विद्यालयमा न्यून तलबसुविधामा कार्यरत परियारलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग पाएपछि शिक्षक परियारले आफ्नो समस्यालाई देखेर सहयोग गर्ने नेपाल शिक्षक महासंघ बेनी नगरका अध्यक्षसमेत रहेका श्रेष्ठलाई धन्यवाद दिएका थिए । २०६४ सालमा स्थापना भएको विद्यालयमा २६ जना विद्यार्थी अध्ययरत छन् । विद्यालयमा शिक्षक परियारबाहेक स्थायी १, राहत १, बालविकास सहजकर्ता १ कार्यरत छन् ।





