आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्वाब दियो, ढुक्कै डुल्यो !

स्वाब दियो, ढुक्कै डुल्यो !

जिल्लामा पछिल्लो समय होम क्वारेन्टिनमा बसेका र स्वाब दिएकाले लापरवाही गर्दा समुदायमा संक्रमण फैलदै गएको छ ।


  • विनोद ढुंगाना
  • भाद्र ३१ २०७७, बुधबार

तनहुँ, ३१ भदौ– सोमबार शुक्लागण्डकी–११ का २३ वर्षीय युवकलाई कोरोना संक्रमणको पुष्टी भयो । भारतीय सेनामा कार्यरत उनी विदामा आएर होमक्वारेन्टिनमा बसेका थिए । शुक्रबार स्वाब संकलन गरेर पिसीआर परिक्षणका लागि पोखरा पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि गाउँले आतंकित बनेको छन् ।
कारण, होमक्वारेन्टिनमा बसेका उनी कोरोनाको रिपोर्ट नेगेटिभ आएको भन्दै स्वाब दिनु पहिले र स्वाब दिएपछि पनि ढुक्कै डुलिरहे । उनले साथीभाई भेला गराएर पाटी समेत दिएको एक स्थानीयले बताए । ‘यहाँ त रिपोर्ट नेगेटिभ आयो भन्दै साथीभाईलाई भोज दिए । गाउँघर डुल्ने, खोलामा पौडिन जाने समेत देख्याँै । रिपोर्ट आउँदा संक्रमण भएको रै’छ । गाउँमा खैलाबैला मच्चिएको छ’, ती स्थानीयले भने । एक जनाले लापरवाही गर्दा गाउँ असुरक्षित भएको उनले सुनाए ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उनको सम्पर्कमा ४० जना रहेको पाइएको छ । जोखिम बढेको भन्दै वडा कार्यालयले मंगलबारदेखि लागु हुनेगरी वडा एक हप्ताका लागि सिल गरेको छ ।
सोमबार नै संक्रमित भएका गण्डकी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण तनहुँका २४ वर्षीय पुरुषले पनि शुक्रबार स्वाब दिएका थिए । स्वाब दिएपछि आइसोलेट भएर बस्नुपर्ने हो । उनी त शनिबार गण परिसरमा भएको वृक्षारोपण कार्यक्रममा पनि सहभागी भए । ती प्रहरीलाई संक्रमण देखिएपछि स्वाब संकलनका लागि गणले १२ जना नाम उपलब्ध गराएको छ ।
जिल्लामा पछिल्लो समय होम क्वारेन्टिनमा बसेका र स्वाब दिएकाले लापरवाही गर्दा समुदायमा संक्रमण फैलदै गएको छ । आइसोलेट भएर बस्नुपर्ने रिपोट नआउँदै परिवार र छरछिमेकसंग घुलमिल भएपछि सम्पर्कमा आएकालाई संक्रमण देखिएको त छ नै , धेरै जना कन्ट्याक ट्रेसिङ पर्ने र उनीहरुको पिसीआर परिक्षण गर्नुपर्ने हुँदा राज्यको खर्च अनावश्यक रुपमा बढेको छ । कोरोनाको संक्रमण फैलिन नदिनलाई सरकारले २५ जना भन्दा बढी व्यक्ति एकैठाउँमा भेला नहुन भनेको छ । त्यो भने जान्नेबुझ्नेबाटै पालना भएको छैन ।
होम क्वारेटिनमा रहेकाले लापरवाही गरिदिँदा समुदायस्तरमा कोरोना व्यापक फैलने संकेत देखिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउँछन् । स्वाब दिएपछि पनि रिपोर्ट नआइञ्जेल आइसोलेट भएर बस्नुपर्ने उनको भनाई छ । ‘घरघरमा पुगेर स्वास्थ्यकर्मीले निगरानी गर्न सकिँदैन’, उनले अगाडी थपे, ‘स्वंयम् व्यक्ति र समुदाय सचेत बन्न जरुरी देखिएको छ ।’ एक जनाको लापरवाहीले समुदायलाई जोखिम हुनुका साथै राज्यलाई लाखौ रुपैयाँ व्ययभार थपिने श्रीवास्तवले जनाए । लापरवाही गर्नेलाई कारबाही गरिनुपर्ने उनले बताए । ‘होम क्वारेन्टिन व्यवस्थित गर्न सकिएन । अब विदेश तथा जोखिमयुक्त स्थानबाट आएका सबैलाई क्वारेन्टिनमा राख्नुपर्छ’, उनले भने ।
तनहुँमा हालसम्म ३ सय ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तीमध्ये २ सय ३० जना निको भएका छन् । १ सय ३२ जना संक्रिय संक्रमित रहेकोमा २३ जना होम आइसोलेसनमा छन् । हालसम्म ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय क्वारेन्टिनमा बस्नको संख्यामा कमी आएको छ । ७६ जना क्वारेन्टिनमा छन् । हालसम्म ७ हजार २ सय २२ जनाको स्वाब संकलन गरि पिसीआर परिक्षण गरिएकोमा ६ हजार ६ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->