पोखरा, ८ असोज – कास्कीको पोखरा कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या बढी रहेको प्रदेश सदरमुकाम बनेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशिक्षक नवराज शर्माका अनुसार कास्कीमा बुधवार साँझसम्म संक्रमितहरुको कुल सङ्ख्या ८५५ रहेको छ । तीमध्येका ४७७ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने ३६७ जनालाई निको भएको छ । ११ जनाको कोरोना पोजेटिभ देखिएको अवस्थामा मृत्यु भएको छ ।
कोरोना शून्य अवस्थामा मुस्ताङ जिल्ला रहेको छ । जहाँ नेपालमा सङ्क्रमण फैलन थालेको अवस्थामा काठमाण्डौंबाट घर फर्किएका एक वृद्धमा कोरोना पोजेटिभ देखिएकोमा उनी निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमितको संख्या ७ रहेको मनाङमा ४ जनाले कोरोनालाई जितेका छन् भने ३ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कोरोना पोजेटिभ रहेको अवस्थामा एक बालकको काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको म्याग्दी जिल्लामा अवस्था करिब कोरोना शून्य रहेको छ । कुल ५१ जनामा सङ्क्रमणको पुष्टि भएकोमा ४९ जनालाई निको भएको छ भने एउटा मात्र सक्रिय केस रहेको छ ।
पर्वतमा हालसम्म १२१ जनामा संक्रमणको पुष्टि भएको छ । कोरोना अस्पतालको आइसोलेसनमा १५ जनाको उपचार चलिरहेको छ भने १०६ जना निको भएर घर पुगेका छन् । कोरोना पोजेटिभ रहेको अवस्थामा ६ जनाको मृत्यु भएको गोरखा जिल्लामा हालसम्म संक्रमितहरुको सङ्ख्या २३९ पुगेको छ । तीमध्येका १९४ जनाले कोरोनालाई जितेका छन् भने ३९ जना आइसोलेसनमा छन्। लमजुङमा सक्रिय केसको सङ्ख्या १२८ रहेको छ । ३४७ जनामा संक्रमणको पुष्टि भएकोमा २३२ जनालाई निको भएको छ ।
चार जनाको मृत्यु भएको तनहुँ जिल्लामा संक्रमितहरुको सङ्ख्या ४१० रहेको छ । तीमध्येका २७८ जनालाई निको भएको छ भने १२८ जनाको आइसोलेसनमा राखेर उपचार चलिरहेको छ । एक जनाको मृत्यु भएको बागलुङमा आइसोलेसनमा बसिरहेकाहरूको सङ्ख्या ५७ रहेको छ । ३५८ जनामा संक्रमणको पुष्टि भएकोमा तीन सय जना डिस्चार्ज भइसकेका छन् । ३८७ जनामा संक्रमणको पुष्टि भएको स्याङ्जामा ३ जनाको मृत्यु भएको छ भने ४८ जना आइसोलेसनमा छन् । जहाँ कुल संक्रमितको सङ्ख्या ३८७ रहेको छ । कास्कीपछिको दोस्रो प्रभावित जिल्ला भने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहेको छ । त्यहाँ हालसम्म ८०३ जनामा संक्रमणको पुष्टि भएको छ । तीमध्ये ६ जनाको मृत्यु भएको छ भने ४८ जनाको आइसोलेसनमा राखेर उपचार चलिरहेको छ । नवलपरासीका ४६२ जनाले कोरोनालाई जितेका छन् ।
स्वास्थ्य प्रशिक्षक शर्माका अनुसार पछिल्लो २४ घण्टामा गरिएको स्वाब परीक्षणको तथ्याङ्कलाई हेर्दा संक्रमणको पुष्टि भएकामध्ये ७५ प्रतिशत कनट्र्याक्ट ट्रेसिङको क्रममा फेला परेकाहरू हुन भने २५ प्रतिशत भारतबाट आएका व्यक्ति रहेका छन् । गण्डकीमा पछिल्लो २४ घण्टामा म्याग्दीका ३०, पर्वतका २, लमजुङका २८, तनहुँका १०१, कास्कीका २७७, बागलुङका ९४, स्याङ्जाका १२२ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १०२ ओटा नमुनाको पिसिआर परीक्षण गरिएको छ। जसमध्ये नवलपरासीको १, स्याङ्जाका ६, बागलुङका १०, कास्कीका १४, तनहुँका १५, लमजुङका ५, पर्वतका ४ र म्याग्दीका १ जनामा संक्रमणको पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा बुधवार साँझसम्म कुल ६४ हजार ८९५ जनाको पिसिआर परीक्षण गरिएको छ । तीमध्येका ६१ हजार ३१६ जनाको रिपोर्ट नेगेटिभ र तीन हजार ५७९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै निको भएकाहरूको सङ्ख्या दुई हजार ३२९ रहेको छ भने सक्रिय केसको सङ्ख्या एक हजार २१८ रहेको छ । प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा प्रदेश बाहिर भएका मृत्युसमेत गरि ३२ पुगेको छ ।




