बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दीलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार

म्याग्दी, ८ असोज– नेपाली कांग्रेस म्याग्दीले जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै कांग्रेसले बागलुङ र सिन्धुपाल्चोक जिल्लासँगै म्याग्दीलाई समेत विपद् संकटग्रस्त क्षेत्रको सूचीमा राख्नुपर्ने माग गरेको हो । जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै कांग्रेस म्याग्दीले आपत्ति जनाएको बताए । ‘म्याग्दीको नाम नै उल्लेख गर्नुपर्छ,अनेक हिसाबले जिल्लालाई उपेक्षा गर्ने प्रयास भएको छ’, रेग्मीले भने । मनसुन सुरु भए यता म्याग्दीमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको अवस्थामा संघीय सरकारबाट समेत एक जना मन्त्री समेत निरीक्षणमा नआएकाले अहिले जिल्लाको नाम संकटग्रस्त सूचीबाट हटेको उनले बताए । ‘अन्य जिल्लामा नगद नै पीडितको हातमा दिने सरकारले म्याग्दीको बाढीपहिरोस्थलमा किन पुग्न सकेन’ रेग्मीले भने । कांग्रेसका नेताले अन्य जिल्लामा राख्नु र विपद ग्रस्त जिल्ला घोषणा गर्नुमा फरक भएको बताउँदै तत्काल म्याग्दीमा नाम समावेश गर्न माग समेत गरेका छन् । कांग्रेस म्याग्दीले मालिका ,धवलागिरि ,अन्नपुर्ण ,मंगला रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा अविरल वर्षाका कारण गएको बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको थियो । सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुनर्निर्माणको काम अगाडि बढाइने सरकारले जनाएको छ । असार महिनाको २५ गते मात्रै मालिका र धवलागिरि गाउँपालिकामा बाढीपहिरोबाट २९ जनाको मृत्यु भएको थियो भने जिल्लाभर अझै ६ जना बेपत्ता छन् । जिल्लाभर १ सय ७० परिवारले विस्थापित जीवन बिताइरहेका छन् । म्याग्दीलाई विपद जिल्ला घोषणा नगरिएको भन्दै सामाजिक सञ्जालमा समेत सरकारको चौतर्फी आलोचना भइरहेको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले प्राकृतिक विपत्तीमा सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा पार्टी सचिव मीनबहादुर कार्की, सहसचिव भरतबहादुर रकाल, प्रदेशसभा क्षेत्र नं ख का सभापति कमल छन्त्याल ,नेपाल तरुणदल, म्याग्दीका सचिव सुमन बानियाँ, नेपाल विद्यार्थी संघ, म्याग्दीका अध्यक्ष निर्मल खत्री लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->