तनहुँ, ९ असोज– शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकका मिनबहादुर भुजेल भदौ २६ गतेदेखी वेपत्ता थिए । ३० वर्षीय भुजेल गत आइतबार पोखरा महानगरपालिका–३३ चवादीस्थित धानखेतमा मृत अवस्थामा फेला परे । अरुको घरमा काम गर्दै जिवन निर्वाहा गर्ने मिनबहादुरको मृत्युपछि हिन्दु धर्म संस्कार अनुसार उनका दाजु कुलबहादुरले काज किरया गर्दैछन् । कुलबहादुरको आर्थिक अवस्था पनि दयनीय नै छ ।
आफन्त र छरछिमेकको आर्थिक सहयोगमा काजकिरीया हुँदैछ । १३ दिने मृत्यु संस्कार सक्नपनि अति विपन्न परिवारलाई धौधौ भएपछि वडा कार्यालयले राहातमा खाद्यन्नका सामाग्री दिएको छ ।
चामाल, आटा, खाने तेल, चिनी, चियापत्ति, नुन र चना कार्यालयले दिएकोे हो । वडा कार्यालयले मृत्यु संस्कारमा सघाएको यो पहिलो पटक भने होईन । वडाको बजेटमा ‘विपन्नलाई राहत कार्यक्रम’ सञ्चालन गर्न तीन लाख रुपैयाँ बजेट नै छुट्याएर सघाउदै आएको छ ।
विपन्न परिवारका सदस्यको मृत्यु भएको बखत शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङसँगै अन्य जनप्रतिनिधि राहत लिएर पुग्ने गरेका छन् । अति नै विपन्न परिवारलाई किरीयाखर्च स्वरुप पाँच हजार रुपैयाँसम्मको खाद्यन्न सामाग्री दिने गरेको गुरुङले जनाकारी दिए ।





