तनहुँ, ९ असोज– जिल्लाको भानु नगरपालिकामा चितुवा पासोमा परेको छ । भानु नगरपालिका–३ तुङलीङटारमा सन्तबहादुर तामाङको कुखुरा फार्म बाहिर थापिएको पासोमा चितुवा परेको हो । कुखुरा आक्रमण गरी किसानलाई आजित बनाएपछि डिभिजन वन कार्यालयले फलामे खोरमा केही दिनअघि कुखुरासहित पासो थापेको थियो ।
३/४ वर्ष उमेरको पोथी चितुवा नियन्त्रणमा आएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए । शारिरीक रुपमा अशक्त रहेको चितुवालाई वन कार्यालयमा ल्याईएको छ । कहाँ लगेर छाड्ने यकिन नभएको उनले बताए ।
तनहुँमा पछिल्लो समय चितुवाले आतंक मच्चाईरहेको छ । २०७४ फागुन १ गतेयता १० जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका छन् । ८ जना घाइते भएका छन् । आक्रमण बढेपछि नियन्त्रणमा लिन थालिएकोमा यसअघि भानु नगरपालिकामा पाँच, व्यास नगरपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक गरी आठ वटा चितुवा नियन्त्रणमा आइसकेको छ भने पाँच चितुवा मृत अवस्थामा फेला परेका छन् ।





