म्याग्दी, १२ असोज– पहिरोको उच्च जोखिममा परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कोप्चेपानी र वडा नं. ३ फगामका ३६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । शनिवार कोप्चेपानीका २३ घरपरिवारलाई स्थानान्तरण गरी भालेबासमा र फगामका १३ घरपरिवारलाई नजिकको सुरक्षित स्थानमा सारिएको हो ।
कोप्चेपानीको बस्ती कालीगण्डकी नदी किनारमा छ । बस्ती माथिबाट पहिरो खस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । पहिरोको उच्च जोखिममा रहेका कोप्चेपानीका २३ घरलाई नजिकैको भालेबास भन्ने ठाउँमा सारिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।
अध्यक्ष पुनले भने, ‘असारदेखि नै खस्न थालेको पहिरो पछिल्ला केही दिनयता भयानक रुपमा खस्न थालेपछि बस्तीनै पुरिने खतरा भएकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको हो ।’ स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थायी बसोबासको ब्यवस्था मिलाइएको छ । सबै परिवारलाई एक÷एक वटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ ।
गाउँपालिकाले प्रतिपरिवार एक÷एक वटा कम्बल सहयोग गर्ने र सार्वजनिक शौचालय बनाइदिने भएको छ । घरका महत्वपूर्ण कागजात, अन्नपात, लत्ताकपडासहित महत्वपूर्ण सामान टहरामा सारेका छन् ।
२०७५ साउनमा कालीगण्डकीमा आएको बाढीले कोप्चेपानीस्थित धवलागिरी आधारभूत विद्यालयको भवन, खेलमैदान र स्थानीयको खेतियोग्य जमिन बगाएको थियो । अन्नपूर्ण गाउँपालिकाले पहिरोको उच्च जोखिममा रहेको फगामका १३ घरधुरीलाई पनि अस्थायी टहरा बनाएर अन्यत्र सारेको छ ।





